मनोपरामर्श पाए आशा मारेकाहरुमा पनि हौसला पलाउँछ

 असार ४, २०७८ शुक्रबार ११:३९:५६ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

राधेश्याम (परिवर्तित नाम)/जनकपुर

सबै कुरा मिलेको अवस्थामा त मन आफै खुसी हुन्छ । मानिसले आनन्द महसुस गर्छ । तर प्रतिकूल परिस्थितिमा आफैलाई सम्झाउन गाह्रो पर्छ । त्यो अवस्था चाहे व्यक्तिगत रुपले निम्तेको होस् अथवा प्राकृतिक प्रकोप वा महामारीका कारण । मन बेचैन हुन्छ । केही नपुगेजस्तो । जताततै दुःख र भयावह जस्तो । बाँच्नुको औचित्य सकियो जस्तो ।

यस्तै भयो मलाई पनि । मलाई बाँच्नै मन थिएन । भोक निद्रा लाग्न छोड्यो । जीवनमा दुःख बाहेक अरु केही छैन भन्ने लाग्न थाल्यो । मलाई किन यस्तो भएको हो केही थाहा थिएन । जान्न पनि मन हुँदैन थियो । दिमाग भारी भइरहने । महामारीमा आफ्नै नजिकका आफन्तहरुले ज्यान गुमाउन थालेदेखि हो मेरो मनमा भिन्नै खाले डरले बास गर्न थालेको । डर र डरले निम्त्याएको उदासीनताले यतिसम्म गाँज्यो कि ‘अब बाँचेर काम छैन’ सम्म सोच्न थालेँ म ।  

मेरा नजिकका चार जना आफन्तले कोरोनाका कारण ज्यान गुमाउनुभयो ।  त्यही चिसो मेरो मनमा पनि पस्यो । जति बिर्सिन खोजे नि त्यही कुरा मनमा घुमिरहन्थ्यो । मुटु जोडले ढुकढुक गर्ने, डर लाग्ने, भीडभाडमा जान मन लाग्ने हुन थाल्यो । 

मलाई  मानसिक रुपमा ठूलो आघात पुगेछ । खाना र निद्राको अभावमा शरीर कमजोर बन्दै गयो । ओछ्यानबाट उठ्नसमेत गाह्रो हुन थालेपछि यस्तो के भयो आफूलाई भनेर गाउँकै अहेवकहाँ जचाउन गएँ । अहेवको सल्लाहमा औषधि खान सुरु गरेँ । तर मनको रोग औषधिले के ठीक गर्थ्याे र ? तर पनि फेरि राम्रो डाक्टरसँग जचाए राम्रो हुन्छ कि कतै भनेर गाउँकै एकजना डाक्टरकोमा गएँ । ती डाक्टरले मनोपरामर्श लिन सल्लाह दिनुभयो । 

त्यसपछि म मनोपरामर्शकर्ता संगीता कर्णकहाँ गएँ । कोरोना महामारीका कारण भेटेरै कुराकानी नभए नि उहाँले मलाई फोनबाटै सम्झाउनुभयो । उहाँले पहिलो पटक फोन गरेपछि नै मेरो मन केही हलुका भएको थियो । त्यसपछि उहाँले पीसीआर परीक्षण गराएर राम्रो फिजिसियनकहाँ जाँच गराउन सल्लाह दिनुभयो । जनकपुरको एउटा राम्रो फिजिसियनलाई जचाउँदा शरीरमा कुनै समस्या देखिएन । डाक्टरले पनि  निद्राको औषधि दिएर कोभिड फोबिया भएको बताउनुभयो । त्यसको लागि मनोपरामर्श लिन सल्लाह दिनुभयो । 

त्यसपछि मैले फेरि मनोपरामर्शकर्ता संगिता कर्णलाई सम्पर्क गरेँ । उहाँले मलाई गहिरो श्वासप्रस्वासको अभ्यास गर्न, गीत तथा भजन सुन्न, पूजापाठमा ध्यान दिन सल्लाह दिनुभयो । त्यसपछि मैले त्यही अनुसार नै आफ्नो दैनिकी थालेँ । मन पर्ने साथीसँग कुराकानी गर्न सुरु गरेँ । नियमित परामर्श र सकारात्मक उर्जाका कारण मेरो हराएको आशा विस्तारै जागेर आयो । 

एक हप्ताको अन्तरमै म पहिलेको भन्दा धेरै निको भइसकेको थिएँ । आफूमा सुधार आएको जस्तो अनुभव हुँदै गयो । अहिले मेरो भोक निद्रा नियमित र सामान्य बनेको छ । पहिलेको जस्तो छाती दुख्दैन । जोरजोरले मुटु ढुकढुक हुँदैन । खानपानमा ध्यान दिइरहेको छु । पहिले मडारिएको बादलजस्तो मनको निराशा अहिले खुल्दै गएको आकास झैं उज्यालाे भएकाे छ । अहिले मलाई बाँच्न मन छ । जीवनदेखि सकारात्मक छु । मनोपरामर्श पाए आशा मारेकाहरुमा पनि हौसला पलाउँदो रहेछ । 

अन्तिम अपडेट: साउन २, २०७८

तपाईको प्रतिक्रिया