‘मेलम्चीमा सबैकाे नजर परेकाे छ तर विकट बस्तीको पीडालाई कसैले देखेनन्’

 असार ४, २०७८ शुक्रबार १९:७:२९ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – मङ्गलवार रातिकाे अविरल वर्षासँगै आएको बाढीबाट मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा ठूलो क्षति पुर्‍याएकाे छ । सडक सञ्जालसँग जोडिएको मेलम्चीमा सबैको नजर परेको छ तर माथिल्लो भेगका नागरिक भने राहतको पर्खाइमा भोकै खुला आकाशमुनि बसिरहेका छन् ।

हेलम्बु गाउँपालिकाका प्रवक्ता छिरीङ ह्योल्मोका अनुसार हेलम्बु १ को हल्दे, तर्तुङमा २३ घर बाढी र पहिरोले बगाएको छ । हेलम्बु गाउँपालिका २ नम्बर वडाको गणेशे बगर, सिम खेत र चनौटे बजारका सय घरपरिवार विस्थापित भएका छन् ।

जसोतसो यी बस्तीसम्म त राहत पुगेकाे छ तर हल्दे, तर्तुङ, चिउरीखर्कमा रहेका विस्थापितले अहिलेसम्म राहत पाउन सकेका छैनन् । हेलिप्याड नहुँदा हेलिकप्टर राहत लिएर पुग्न सकेका छैनन् । हेलिकप्टरले खसालिदिएको दुई बोरा चामल तल पुग्दा फुटेपछि विस्थापितले खान पाएनन् । बाढीले कटान गरेपछि हल्दे, तर्तुङ, चिउरीखर्क पुग्नका लागि हिँड्ने गोरेटो बाटोसमेत छैन ।

हेलम्बु गाउँपालिकाका प्रवक्ता छिरीङ ह्योल्मोसहितको टोली त्यहाँको अवस्था बुझ्न जोखिम मोलेर पाखाका भित्तो समाउँदै पुगेकाे थियाे । उहाँ भन्नुहुन्छ, ‘हिँडेर जान निकै सकस भएकाले राहत लान सकिएन, त्यहाँ पुग्दा विस्थापित भएकाहरू भोकले रोइकराइ बसिरहेका छन् ।’

घर, अन्नपात, गाईवस्तु खोलामा बगेपछि भोकै जङ्गलमा बसिरहेका हल्दे, तर्तुङ, चिउरीखर्कका विस्थापितले एउटा गतिलो टेन्ट पाए पनि झरीबाट ओत लाग्न सकिने बताउँछन् । यी क्षेत्रमा विद्युत् र फोनको नेटवर्क समेत छैन । मेलम्चीको जति पिडा छ, त्योभन्दा दर्दनाक पीडा माथिका लेकाली बस्तीमा देखिन्छ ।

हेलम्बु जस्तै पाँचपोखरीको याङ्ग्री र लार्के क्षेत्रमा पनि नागरिक कष्टकर जीवन बिताइरहेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका २ का वडाध्यक्ष पासाङ तामाङ याङ्ग्री, टासिवा, सुनचौर, मैखर्कका ६८ परिवार बाढी र पहिराेले विस्थापित भएको बताउनुहुन्छ ।

बाढीले याङ्ग्री र टासिवाका चार घर बगाइसकेको छ । स्वास्थ्य क्लिनिक भवन, याङ्ग्री एकेडेमी स्कुल भवन पनि बगाएको छ । माथिल्लो भेगमा क्षति गर्दै बगेकाे इन्द्रावती खोलाले मेलम्चीको एक तिहाइ क्षेत्र पूर्ण रूपमा ध्वस्त बनाएको छ । तर विकट बस्तीको वेदनालाई कसैले नदेखेको र बाहिर नआएको वडाध्यक्ष तामाङ बताउनुहुन्छ ।

पूरै गाँउ एक–अर्काबाट सम्पर्क विच्छेद भएका छन् । सवारी साधन चल्ने बाटो त परको कुरा बोकेरै टेन्ट र त्रिपाल लान सक्ने अवस्था छैन । त्यहाँ तीन वटा झोलुङ्गे पुल बाढीले बगाएपछि एक बस्तीबाट अर्को बस्तीमा जान सक्ने अवस्था छैन ।

खोलाले कटान गर्ने क्रम जारी रहेकाले थप क्षति गर्न सक्ने अवस्था छ । गाउँपालिकासँग भएको टेन्ट र केही मात्रामा खाद्यान्न पुगेमात्र पनि स्थानीयवासी तत्कालका लागि राहत महसुस गर्ने अवस्थामा छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया