दैनिक करोडको हाराहारीमा हुने कारोबार शून्यमा

 असार ५, २०७८ शनिबार ८:६:३३ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक - गएको मङ्गलवार सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा एकैसाथ आएको बाढीले प्रमुख व्यापारिक बजार मेलम्ची बगरमा परिणत भएको छ । चार गाउँपालिकाको व्यापारिक सङ्गम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा व्यापारिक पसलबाट दैनिक करोडको हाराहारीमा हुने कारोबार बाढीको एकै झट्काले झण्डै शून्यमा झारेको छ । बाढीले मेलम्ची बजारका मात्रै करिब दुई सय घर तथा टहरामा रहेका व्यापारिक पसलमा क्षति पुगेको छ ।

बाढीले व्यापारिक केन्द्र मेलम्ची बजारको करिब आधा भाग बगाएको छ । बाँकी घर टहरालाई बाढीले कटान गर्ने क्रम अझै रोकिएको छैन । तीन दिनदेखिको बाढीले खोला किनारलाई क्रमैसँग दायाँ र बायाँ कटान गरिरहेको छ । 
मेलम्ची बजार हेलम्बु, इन्द्रावती, पाँचपोखरी थाङ्गपाल गाउँपालिका र मेलम्ची नगरपालिकाको व्यापारिक सङ्गम हो । यो बजारबाट विभिन्न गाउँहरुमा थोक बिक्रीसमेत हुने गर्दछ ।

लामो समयदेखि मेलम्ची बजारमा व्यवसाय गर्दै आएका मेलम्ची क्याफे इन एण्ड थकाली भान्सा घरका प्रोपाइटर सागर श्रेष्ठले मुख्य मेलम्ची बजारको कारोबार बाढीका कारण शून्यमा झरेको बताउनुभयो । समाजसेवीसमेत रहेका श्रेष्ठको ३५ करोड रुपैयाँ लगानी गरेको क्याफे अहिले बाढीको डुबानमा छ । दैनिक हजारौँ व्यापार गर्ने श्रेष्ठले सिन्धुपाल्चोकमै पहिलो पटक लिफ्ट प्रयोग गरेर तीन तारे होटल सञ्चालनमा ल्याउने तयारी गर्नुभएको थियो । तर, उद्घाटन पहिल्यै आएको बाढीले उहाँको सपनामा बादलले छोपिदिएको छ ।

‘बाढीले व्यापारिक चहलपहललाई तहसनहस बनाइदियो’ उहाँले भन्नुभयो, ‘अब पहिलाकै अवस्थाका कारोबार फर्काउन झण्डै ३० वर्ष लाग्ने अनुमान छ ।’ सयौँ व्यापारीहरु अहिले घर छाडेर नगरपालिकाले स्थापना गरेको अस्थायी सेल्टरमा छन् । ‘व्यापारीलाई बैंकको ऋणले पिरोलेको छ’ श्रेष्ठले भन्नुभयो ।

मेलम्ची बजारमा सामान्य चिया पसलदेखि दैनिक डेढ, दुई लाख रुपैयाँको कारोबार गर्ने पसलहरु थिए । अहिले त्यो कथाजस्तै बनेको छ । निर्माण सामग्री बिक्रेता र होटल तथा रिसोर्टहरु यहाँबाट धेरै कारोबार गर्नेमा पर्छन् । व्यापारिक दृष्टिले जिल्ला सदरमुकाम चौतारा, बाह्रबिसे, खाडीचौर, जलबीरेको तुलनामा मेलम्ची अब्बल ठाउँ हो । लत्ताकपडा, इलेक्ट्रोनिक्स सामग्रीको खपतसमेत उल्लेख्य हुने गरेको व्यवसायी बताउँछन् ।

बाढीले कटान गर्नै लागेको कुनै पनि पसल जोगाउन सक्ने अवस्था छैन । कतिबेला खोला बढ्छ भन्ने अनुमान लगाउन नसक्दा यो अवस्था आएको हो । मेलम्ची बजारमा लाखाैँ लगानी गरेर मोबाइल पसल सञ्चालन गरेका शेरबहादुर तामाङ बैंकको ऋण कसरी तिर्ने भन्ने अन्योलमा हुनुहुन्छ । 

‘बजार पुरानो अवस्थामा फर्कन सक्ने अवस्था छैन, कसरी ऋण तिर्ने भन्नेबारे सोचेकै छैन’ बजारमा भेटिएका शेरबहादुरले दुखेसो पोख्नुभयो, ‘पसल सञ्चालन हुँदा ब्याज तिर्ने समस्या थिएन, अब खान लगाउन पनि दुःख हुने भयो ।’
मेलम्ची बजारमा आसपासका मात्रै नभइ सदरमुकाम चौतारा, लामोसाँघु, छिमेकी जिल्ला काभ्रे, काठमाण्डौदेखिका बासिन्दाले व्यापार गर्ने गर्दथे । ‘व्यापारिक दृष्टिले झण्डै १५ वर्ष अघिदेखि स्थिर रहेको यो बजारमा यस्तो अवस्था आउला भन्ने कल्पना नै थिएन, कारोबार ठप्प हुने गरी विपद् हुने अवस्था छ जस्तो कसैलाई थिएन’ सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका सदस्य प्रकाश दाहालले भन्नुभयो, ‘ऋण लिएर कारोबार सञ्चालन गरिरहेका व्यापारीहरु मर्कामा छन् ।’

यहाँबाट सामग्री निर्यात हुने तीन गाउँपालिकासँग सडक सञ्जाल, विद्युत र सञ्चार सम्बन्ध टुटेकाले व्यापारले गति लिन समय लाग्ने उहाँको ठम्याइ छ । ‘मेलम्ची बजारमा व्यापार गर्ने व्यापारीले २० करोड रुपैयाँसम्म बैंकबाट ऋण लिएर व्यापार गरिरहेका थिए’ सदस्य दाहालले भन्नुभयो, ‘उहाँहरुको भोलिको अवस्था के होला भन्न सकिन्न, घरजग्गा लिलामीको अवस्थामा पुग्न सक्छ ।’

विपद्पछिको खोज उद्धार, राहत अहिले पुनःस्थापना जरुरी रहेको व्यापारीहरुको भनाइ छ । त्यसपछि अर्थतन्त्रको पाटोलाई दीर्घकालीन सोचका साथ स्थानीय सरकारले अगाडि बढाउनुपर्ने उनीहरुले माग गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • RAVI RANJIT

    June 21, 2021, 5:37 p.m.

    आगो र पानी संग खेलवाड नगर्नु भन्ने पुर्खाहरुको उपदेशलाई नमान्दाको परिणाम होला जस्तो लाग्यो ? आजभोली ब्यापारीक क्षेत्रको नाउँमा भबिस्यमा आइपर्ने भवितव्यं दुर्घटनालाई बेवास्ता गरि जथाभावी भवन निर्माण गर्ने र उचित लाभको लोभले बिलाप भएजस्तो महसुस हुन्छ, धन्यवाद ।

  •  0 Reply

तपाईको प्रतिक्रिया