युक्रेनमा प्रहार गरेको अस्त्र आणविक हतियार बोक्न सक्षम छ : रुस
मंसिर ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोक – ६५ वर्षीया बेलकुमारी ज्योतीको आँखा मेलम्ची खोलामा आएको बाढीजस्तै भएको छ, ओभाउने नामोनिसान छैन । उहाँ बेलाबेलामा भक्कानिँदै छोरालाई सम्झनु हुन्छ । ४५ वर्षीय छोरा गणेश फर्कन्छन् भन्ने आशा अझै मरेको छैन, छोरा बाढीमा परेर बेपत्ता भएको उहाँलाई विश्वास नै लाग्दैन । कहीँ कतैबाट छोरा फर्किन्छन् कि भन्ने आशाको त्यान्द्रो अझै उहाँमा जीवितै छ ।
एक किलोमिटरमाथि रहेको घरको आँगनमा बस्दै गर्दा बेलकुमारीले पनि बाढी आएको देख्नुभयो । क्षणभरमै बगर आसपास रहेका संरचना बगर बनेको थाहा पाउनुभयो । सकीनसकी भए पनि छोरा–बुहारीलाई तलै गएर लिएर आउन पाए हुन्थ्योजस्तो उहाँलाई नलागेको पनि होइन । उहाँ तल जाने तरखरमा रहँदै गर्दा माछा फार्म र छोरा गणेशलाई बाढीले बगाएको खबर आयो ।
तर खोलाले माछा फार्म त बगायो होला मेरो छोरो त आइहाल्छ नि !, कतै पाखा लागेर बसेको होला भन्ने उहाँलाई लागि रह्यो । रात बित्यो, बिहान भयो तर छोराको अत्तोपत्तो लागेन । अझ पनि उहाँलाई छोरा आउने आशा भने मरेको छैन । असार १ गते आएको बाढीका कारण गणेशसहित अन्य १७ जना बेपत्ता भएकामा तीन जनाको शव भेटिएको छ ।
असार १ गते बेलुकी हुनेबित्तिकै मेलम्ची खोलामा धमिलो पानी आउन सुरु भयो । विशेषगरी हेलम्बु गाँउपालिकाका नदी किनारमा सञ्चालित ट्राउट माछापालन गर्दै आएकाहरुलाई माछा बचाउने ध्यान रह्यो ।
खोलामा बाढी सुरु हुनेबित्तिकै पोखरीमा ल्याएको पानी कम भयो, पानी कम हुनासाथ माछा छटपटाउन थाले, धमिलो पानी आउन नदिइ रुखका पात र झार छान्दै पानी पोखरीमा पठाउँदै हुनुहुन्थ्यो गणेश ज्योती र उहाँको श्रीमती चित्रकुमारी ज्योती, खोलाबाट फर्केर आइसक्नु भएका गणेशले श्रीमतीलाई माथि जान भन्नुभयो । फार्ममा जान बनाइएको बाटोमा उक्लेर उहाँले श्रीमतीलाई भाग्न भन्नुभयो, काँधसम्म पानीको छालले छोपिसक्दा पनि उहाँले श्रीमती र छोरीलाई भाग्न भनिरहनुभयो ।
जसोतसो श्रीमती र छोरीमाथि चौरमा पुग्नुभयो । त्यहाँ पुग्दा पोल ढल्यो, खेतमा खोला पस्यो, श्रीमान् कतै पाखा लाग्नुभयो होला भनेर चित्रकुमारीले हेर्नुभयो तर खोला झनै बढ्न थाल्यो, उहाँका श्रीमान् गणेशको अत्तोपत्तो लागेन । श्रीमान् बेपत्ता हुँदा र व्यवसाय क्षणभरमै विलय हुँदाको पीडाले परिवार शोकमा डुबेको छ ।
चित्रकुमारी दुई छोरी र एक छोरासहित अहिले श्रीमानको किरिया कर्म गर्दै हुनुहुन्छ । छोराछोरीको शिक्षा र भविष्य नै अन्योल बन्दै जाँदा उहाँ चिन्तित हुनुहुन्छ । कमाउने र भरोसा दिने श्रीमान् सँगै करोडौँ लगानीमा सुरु गरेको ट्राउट माछा फार्म मेलम्ची खोलाले क्षणभरमै विलय गराइदिएको छ ।
त्यस्तै नीलबहादुर खड्कालाई पनि आमा फर्केर आउने आशा जीवितै छ । त्यो बेलुकी बाढी आएको जानकारी दिँदै आमा टीकामाया खड्काले सबै जनालाई पाखा लाग्न भन्नुभएको थियो । खड्काले सञ्चालन गरेको ट्राउट माछा फार्ममा पनि धमिलो पानी आएको जानकारी उहाँकी आमा टीकामायाले नै दिनुभएको थियो ।
फार्ममुनि खेत र गोठ रहेको थियो । खड्कालाई आमा गोठ नजिकै पुगेको याद छ । त्यसपछि फार्ममा काम गरिरहेका केही पाखा लागे तर खड्काकी आमा, अर्की एक महिला र एक बालकलाई भने बाढीले छोपी दियो । असार १ को बेलुकी अप्रत्याशित र अपत्यारिलो रहेको नीलबहादुर खड्काको भनाइ छ ।
असार १ गते बेलुकी आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सिधै छोप्यो । झन्डै तीन सय घरटहरा बगाएको अनुमान छ । बाढी आएको छैटौँ दिन पुग्दा पनि हेलम्बु अझै तङ्ग्रिने अवस्थामा छैन । बाढीले सडक सञ्जाल टुटाएपछि हेलम्बु एक्लिएको हो ।
ह्योल्मो संस्कृति, कला र धर्मदेखि पर्यटनका लागि प्रख्यात थियो ह्योल्मोभूमि हेलम्बु । आकर्षक सिमिसिदाङजस्ता दर्जनौँ हिमशृङ्खलाको काखमा रहेको हेलम्बुमा आउने जो–कोहीले सुन्दर गाउँको उपमा दिन्थे ।
तर मङ्गलवार मेलम्ची बाढीले हेलम्बु गाउँपालिकाको चार गाउँको अस्तित्व नै मेटायो, तटीय क्षेत्रलाई एकै रातमा बगर तुल्याइदियो । बाढीको सतह बढेपछि मङ्गलवार गाँउ नै बग्ने त्रासमा स्थानीय भागे । बाढीले समृद्ध हेलम्बुको यात्रालाई बीचमै रोकी दियो ।
उर्लिएर आएको बाढीले सडक खण्डहर बनाइदियो । ठाउँ–ठाउँमा कटान भएपछि अहिले हेलम्बु सडक सञ्जालबाट बाहिर छ ।
बाढीले यतिमात्रै गरेन करोडौँ लगानीका आठ वटा ट्राउट फर्म निल्यो । बिजुलीका पोल ढल्यो अनि एकै गाउँका १४ जनालाई नदीमा विलय गरायो । त्यसैले अहिले शोकमा छ हेलम्बु ।
बाढी आएपछि भोलिबाट नै मेलम्ची बजारमा राहतको लर्काे चल्यो । सडक, बिजुली, सञ्चार विच्छेद भएको हेलम्बुमा कसैको आँखा गएन । सडक वरिपरिका घर भत्किए, पसलहरु डुबे । सामग्री खरिद गर्ने ठाउँसमेत नबच्दा स्थानीयवासीलाई निकै गाह्रो भयो । स्थानीय भन्छन्, ‘राहत परैको कुरा भो, किनेर खान पाए पनि हुने ।’
मेलम्चीको मुहानस्थल हुँदै एक्कासी उर्लिएर आएको बाढीले हेलम्बुको पुराना गाउँ चिउरीखर्क, चालिसे गाउँ, तल्लो तिम्बु बजार, गणेशे बगर गाउँको सबै संरचना बगायो । झन्डै १८ हजार जनसङ्ख्या रहेको हेलम्बुकोको तालामाराङ, चनौटे , किउल, तिम्बु जस्ता चिटिक्क देखिने बजारभरि बालुवा थिग्रियो । बाँकी रहेका घरहरुको अवस्था पनि हेर्दै दिक्कलाग्दो छ ।
उराठलाग्दो खण्डहर झैँ लाग्ने तटीय क्षेत्रमा नदीले बगाएर बाँकी रहेका घरको आधा संरचनाबाट स्थानीयवासी बचेखुचेका सामान अझै निकाल्दै छन् । बाढीले मेलम्ची बजारबाट हेलम्बु जोड्ने झन्डै आठ किलोमिटर सडकको सिमखेत, तालामाराङ, चनौटे, किउल, तिम्बु तहसनहस बनाएयता हेलम्बु अस्तव्यस्त अवस्थामा छ ।
बिजुलीका तार बाटोमै लत्रिएका छन् । सञ्चार विच्छेद भएकाले त्यहाँको अवस्था के छ भन्नेबारे अन्योल छ । स्थानीय रेडियोले दिएको सूचनाले मात्रै हेलम्बुवासीले थाहा पाएका छन् ।
बाढीले एक सय घर बगाएको अनुमान गरिएको छ भने ६ सयभन्दा बढी घरबारविहीन भएका छन् । कोही बारीको पाटामा प्लास्टिक र त्रिपाल टाँगेर बसेका छन् । कतै नेपाली सेनाले बासको प्रबन्ध गर्दैछ । पालिका सरकारबाहेक कुनै सरकारी संयन्त्र नपुगेको हेलम्बुको आकाशमा भने दैनिक १२,१५ पटक हेलिकप्टरले फन्को मार्छ । तर हेलिकप्टर किन ओहोरदोहोर गरिरहेछ भन्नेबारे गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा नै अनभिज्ञ हुनुहुन्छ ।
मेलम्ची बजारसँग जोड्ने मुख्य सडक बीचैमा भास्सिएर टुटेपछि सहयोग र व्यवस्थापनमा जनप्रतिनिधि, स्थानीयवासी आफैँ दौडाइमा छन् । वैकल्पिक सडकका लागि साखु, भोटेचौर हुँदै कुटुम्साङ जोड्ने सडकका लागि प्रयासरत रहेको गाउँपालिकाका अध्यक्ष शेर्पाले बताउनुभयो । र पनि अभावै अभावले थिचिएर हेलम्बु अझै अस्तव्यस्त छ । एक हप्ताभित्र हेलम्बुलाई सडक सञ्जालमा जोड्ने अध्यक्ष शेर्पाको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।