थाहा पाउनुहोस्, होटल क्वरेण्टीन खर्च विदेशबाट फर्किने कस्ता व्यक्तिले कसरी पाउने हुन्

 असार ८, २०७८ मंगलबार १७:४५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अघिल्लो हप्ता कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले विदेशबाट फर्किएर आफ्नै खर्चमा होटल क्वरेण्टीनमा बस्न नसक्ने श्रमिकलाई १० दिनसम्मको होटल क्वरेण्टीन खर्च उपलब्ध गराउने र श्रम गन्तव्य देश साउदी, यूएई, मलेसिया लगायतका देशमा उडान खोल्ने निर्णय गर्‍यो ।

सीसीएमसीको यो निर्णयपछि घर फर्कन ठिक्क परेका श्रमिकहरू अलमलमा परेका छन् । थप गन्तव्य देशमा उडान खोल्ने र नियमित उडान भइरहेको देशबाट उडान सङ्ख्या थप्ने सीसीएमसीले निर्णय गरेको एक हप्ता भयो । तर, उडान कहिलेबाट सुरु हुन्छ यकिन भएको छैन ।

वैदेशिक रोजगारीमा जानेहरूका लागि कोरोना विरुद्धको खोपको व्यवस्था पनि छैन । अहिले प्राथमिकताको आधारमा कोरोना विरुद्धको खोप प्रदान गरिरहेको सरकारले वैदेशिक रोजगारीमा जाने यात्रुलाई खोप उपलब्ध गराउने तयारी के छ ? होटल क्वरेण्टीन खर्च कस्ता श्रमिकले कसरी पाउने हुन् ? अनि ५ दिनको खर्च बेहोर्न नसक्नेले के गर्ने ? यी प्रश्न कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका सदस्य कृष्णहरि पुष्करसित सोधेका छौँ ।

***

होटल क्वरेण्टीन खर्च विदेशबाट फर्किने कस्ता व्यक्तिले कसरी पाउने हुन् ?

बाहिरबाट आउने यात्रुको सन्दर्भमा संसारभरी जस्तै नेपालमा पनि होटल क्वरेण्टीनको व्यवस्था गरिएको हो । अहिले भइरहेको मापदण्डहरूमा समय सापेक्ष केही कुराहरू परिवर्तन गर्नुपर्‍यो भनेर नेपाल सरकार मन्त्रीपरिषदमा प्रस्ताव लाने गरी छलफल र तयारीहरू भइरहेको छ ।

अहिलेको यो सन्दर्भमा दुई ओटा कुरालाई ध्यानमा राखिएको छ । नेपाली श्रमिक स्वदेश फर्कँदा उहाँहरूको क्वरेण्टीन कसरी वैज्ञानिक, व्यवस्थित र मर्यादित बनाउने भनेर छलफल अघि बढाइएको हो । 

हवाई मार्ग हुँदै यात्रु नेपाल आएपछि स्वास्थ्यको मापदण्ड, होटल क्वरेण्टीन, होम क्वरेण्टीन र अरू संस्थागत क्वरेण्टीनको व्यवस्थापन कसरी गर्ने भनेर पनि थप छलफल अघि बढेको छ ।

तर नेपाल सरकार मन्त्रीपरिषदबाट निर्णय नहुँदासम्म अहिले जुन व्यवस्था कार्यान्वयन भइरहेको छ त्यो नै लागू हुन्छ । नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृति भएपछि मात्रै बल्ल नयाँ व्यवस्था  कार्यान्वयनमा आउने हो ।

अहिलेको नयाँ व्यवस्था अनुसार खाडीका देश र मलेसियाबाट आउनेले पाँच दिन होटल क्वरेण्टीनमा बस्न पर्ने हो । तर अहिले सीसीएमसीले विभिन्न विज्ञ, श्रम मन्त्रालय, पर्यटन मन्त्रालयदेखि सबै सरोकारवाला निकायहरूसँग छलफल गरेर त्यसलाई अझैं वैज्ञानिक रूपमा लैजाने भनेर कुरा भएको हो । 

विदेशबाट आउने नागरिक सबैलाई क्वरेण्टीनमा त अनिवार्य राख्नै पर्ने हुन्छ । तर कतिपय नागरिकहरू जो आफ्नो खर्चमा बस्न सक्दैनन् । जो वैदेशिक रोजगार कानुन अनुसार गएका नागरिकहरू हुनुहुन्छ उहाँहरूलाई कसरी सहुलियत र व्यवस्थित रूपमा व्यवस्थापन गर्ने भन्ने हिसाबले छलफल भएको हो । 

जसमा पनि वैदेशिक रोजगार कानुन अनुसार नै उद्धार गर्नु पर्ने, जेल परेर छुटेका वा अलपत्र परेका नागरिकका लागि वैदेशिक रोजगार कल्याणकारी कोष छ । त्यो कोष अनुसार उद्धार र होटल क्वरेण्टीन खर्चको व्यवस्था हुनेछ । 

तर यी सबै कुरा अझैं पनि नेपाल सरकार मन्त्रीपरिषदबाट पास नभइकन कार्यान्वयनमा आउने भन्ने हुँदैन ।

सीसीएमसीले अझैं पनि सरोकारवाला निकायहरूसँग छलफल अघि बढाइरहेको अवस्था छ । सीसीएमसीले नेपाल सरकारलाई पेस गर्ने र मन्त्रीपरिषदबाट पास भएपछि मात्रै कार्यान्वयनमा आउँछ ।

त्यसो भए अब क्वरेण्टीन कति दिन बस्नु पर्ने, कसले कसरी होटल क्वरेण्टीन खर्च पाउने भन्ने मापदण्डसहित नयाँ निर्णय हुन्छ ?

विदेशबाट फर्किएका सबैलाई क्वरेण्टीनमा राख्नै पर्ने हुन्छ । तर क्वरेण्टीनमा राख्दाखेरि जुन खर्चको भारको कुरा छ त्यसलाई चाहिँ सही र व्यवस्थित ढङ्गले कसरी अघि लैजाने भन्ने कुरा हो । 

वैदेशिक रोजगार ऐनले उपलब्ध गराउने राहत सहुलियतको उदार गर्नुपर्ने, आपत् विपदमा परेका नागरिकका समस्या दूतावास हुँदै परराष्ट्र मन्त्रालयमार्फत आएमा तत्काल सम्बोधन गर्नुपर्ने कुराहरू छदै छ ।

अर्को कुरा नेपाल सरकार मन्त्रीपरिषदबाट निर्णय भएपछि नेपाल आउने श्रमिकलाई कति दिन क्वरेण्टीनमा राख्ने, सकेसम्म कम आर्थिक भार हुने गरी त्यो खालको  मोडालिटीमा काम भइरहेको छ । अहिले पहिले जुन व्यवस्था हो त्यही कार्यान्वयन भइरहेको छ । अब मन्त्रीपरिषद्ले पास गरेपछि मात्रै नयाँ व्यवस्था कार्यान्वयनमा आउँछ ।

श्रम गन्तव्य देशहरूमा उडान सहज गर्दै लैजाने भन्ने निर्णय पनि सीसीएमसीले गरेको छ । अब उडान कहिलेबाट सुरु हुन्छ  ?

विभिन्न गन्तव्य देशमा भएको उडानलाई बिस्तारै फेरि जोड्दै लैजाने भन्ने हो । स्वास्थ्य सुरक्षाका मापदण्डहरूलाई पालना गर्दै उडानहरू बढाउने निर्णय भइसकेको छ ।

त्यही क्रममा श्रमिकका मुख्य श्रम गन्तव्य देश र जापान कोरिया लगायतका देशहरूमा पनि उडानहरू खोल्दै जाने र बिस्तारै नियमित रूपमा पहिलेकै अवस्थामा लैजाने भन्ने हो । कन्ट्री अफ ओरिजन र कन्ट्री अफ डेस्टिनेसनमा विभिन्न प्रक्रियाहरू हुन्छ त्यो पूरा हुने क्रममा छ । मलाई लाग्छ अबको ८ १० दिनमै उडानको सङ्ख्याहरू बढ्दै जाने छ । यो सन्दर्भमा नेपाल सरकारले पनि निर्णय गरिसकेको अवस्था छ ।

साउदी, कतार मलेसिया लगायतका ठाउँमा पनि उडानहरू अब क्रमशः सुरु हुँदै जान्छ । र अर्को कुरा कतार लगायतका देश जहाँ अहिले उडान भइरहेको छ त्यहाँ पनि अब बिस्तारै उडान सङ्ख्या थपिँदै जानेछ ।

वैदेशिक रोजगारीमा जानुपर्ने कतिपय श्रमिकहरू खोपको कारण अड्किएका छन् । खोप नलगाई गन्तव्य देश र कम्पनीले आउन नदिने र यदि आएमा आफ्नै खर्चमा होटल क्वरेण्टीन बस्न पर्ने भनेका छन् । वैदेशिक रोजगारीमा जाने श्रमिकले खोप पाउलान् कि नपाउलान् ?

कोरोना विरुद्धको खोपको विषयमा नेपाल सरकार र राज्यका उच्च तहबाट एकदमै पहल भइरहेको छ । यो कुरा सबैलाई जानकारी भएकै कुरा हो ।

अब खोप आउनासाथ त्यसको न्यायिक वितरण र व्यवस्थापनमा छलफल भइरहेको छ । सबै नेपाली नागरिकलाई प्राथमिकताको आधारमा खोप दिइने छ । जसरी अहिले पनि सरकारले प्राथमिकताको आधारमा नै खोप वितरण गरिरहेको छ । 

अब वैदेशिक रोजगारीमा जानै पर्ने नागरिकलाई जाने दिने, कसरी सहजीकरण गरेर अघि बढाउने भनेर पनि छलफल भइरहेका छ । छलफल सकारात्मक तरिकाले अघि बढिरहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया