अवकाशपछि व्यावसायिक बाख्रापालनमा व्यस्त ‘ब्रिटिश लाहुरे’

 असार ९, २०७८ बुधबार १३:५१:१९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – जीवनको लामो समय बेलायती सेनामा बिताउनुभएका दुधपाेखरी, सिम्लेका भक्तबहादुर गुरुङ अहिले गाउँमै बाख्रापालनमा रमाइरहनुभएको छ ।

भक्तबहादुर गुरुङ

बुवा लाहुरे भएकाले पनि होला, सानैदेखि लाहुरे हुने सपना थियो उहाँमा । युवा अवस्था, पाखुरामा तागत, मनभरि जोस–जाँगर । लाहुरे हुने सपना बोकेर १८ वर्षकै उमेरमा सेनामा नापिन जानुभयो भक्तबहादुर । पहिलोपटकमै उहाँ ब्रिटिश सेनामा भर्ती हुन सफल पनि हुनुभयो ।

त्यसपछिका उहाँका २० वर्ष बेलायती सेनामै कहिले कतै कहिले कतै गएर बिते । २० वर्षसम्म उहाँले बेलायतलाई सेवा दिनुभयो । त्यसपछि सन् २०१२ मा उहाँ जागिरबाट अवकाश लिएर बस्नुभयो । 

अवकाश लिएर पनि केही वर्ष बेलायतमै बिताउनुभयो । ‘यति लामो समय सेवा गरेकाले होला, अवकाशपछि पनि चटक्कै छोडेर आउन सकिनँ, केही वर्ष बसेरै जाउँ भन्ने लाग्यो’, उहाँले भावुक हुँदै भन्नुभयो । 

लाहुरे छँदै बनेको सपना 

समय र परिस्थितिले जहाँ पुर्याए पनि गाउँघरको मायाले सधैँ सताइ नै रहन्छ । भक्तबहादुरको हकमा पनि यो कुरा लागू हुन्छ । आफ्नै देशमा गएर, त्यहीँको माटोमा पसिना बगाउन मन भइरन्थ्यो । तर ब्रिटिस सेनाको जिम्मेवारीले रोकिरह्यो । 

जागिरबाट अवकाश लिएपछि त्यही अठोटका साथ गाउँ फर्कनुभयो, उहाँ । आफ्ना बाउबाजेले गर्दै आएको कृषिकर्मबाट मन हटाउन सक्नुभएन र अहिले अहिले गाउँघरका साथीभाइसंग मिलेर सामूहिक रुपमा कृषि व्यवसाय सुरु गर्नुभएको छ ।

‘बुवा पनि लाहुृरे हुनुहुन्थ्यो । अवकाश लिएपछि उहाँले घरगाउँमै कृषि पेशा अपनाउनुभयो’, भक्तबहादुर खुसी हुँदै भन्नुहुन्छ, ‘बाआमाको पदचापलाई पछ्याउँदै आफ्नो सोचलाई मूर्तरुप दिन अहिले आफ्नै गाउँमा कृषि उद्यममा लागिपरेको छु ।’ 

बोयर बाख्रापालनमा जोड

उहाँ अहिले व्यवसायिक बाख्रापालनमै व्यस्त हुनुहुन्छ । विशेषगरी  उहाँले बोयर जातको बाख्रापालनमा जोड दिनुभएको छ ।

जोस–जाँगरका साथ घरगाउँमै माटोमा श्रम–पसिना बगाउँदै हुनुहुन्छ, उहाँ । स्थानीयलाई नवीनतम कृषि प्रविधिका विषयमा जानकारी गराउन, केही युवालाई घरगाउँमै रोजगारी दिन र व्यवसायिक कृषिमा अन्य स्थानीयलाई आकर्षित गर्ने उद्धेश्यले नै आफ्नो अगुवाईमा सामूहिक रुपमा बाख्रापालन व्यवसाय सुरु गरिएको उहाँले बताउनुभयो ।

‘घरगाउँमै अझै पनि परम्परागत रुपमा कृषि तथा पशुपालन गर्ने परम्परा छ । यसमा दुःख धेरै हुन्छ । आम्दानी कम हुन्छ,’ उहाँले भन्नुभयो, ‘नयाँ कृषि प्रविधिको उपयोग गरी व्यवसायिक रुपमा कृषि उद्यम गर्न सकेमा उत्पादन वृद्धि हुन्छ । फाइदा हुन्छ । त्यसैले यसबारे स्थानीयलाई बुझाउनुका साथै केहीलाई घरगाउँमै रोजगारी दिने र व्यवसायिक कृषिमा स्थानीयलाई आकर्षित गर्ने हाम्रो उद्धेश्य हो ।’

उहाँको नेतृत्वमा १३ जनाको कृषि समूहले ‘गाउँबेसी एकीकृत कृषि फर्म’ नै दर्ता गरी २५ रोपनी जग्गाामा बाख्रापालन व्यवसाय सुरु गरेको छ । दूधपोखरी गाउँपालिका–५, निमोटोमा रहेको २५ रोपनी जग्गामा उहाँहरुले ३ सय बाख्रा पाल्न सक्ने क्षमताको आधुनिक बाख्राको खोर बनाउनुभएको छ । खोरमा अहिले सुरुवातको चरणमा ८० वटा बाख्रा पालिएका छन् । फर्ममा ३५ वटा बोयर बाख्रा छन् भने बाँकी खरी जातका बाख्रा पालिएका छन् । 
स्थानीय जातको बाख्रा पालनमा भन्दा बोयर जातको बाख्रापालनमा निकै फाइदा रहेको भक्तबहादुर बताउनुहुन्छ । 

‘बोयरको मासुका साथै पाठापाठीको माग ज्यादै उच्च छ । यसमा फाइदा छ,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले हामीले बोयर जातको बाख्रापालनलाई प्राथमिकता दिएका हौँ ।’

मासु उत्पादन भन्दा पनि बोयर जातको पाठापाठी उत्पादन गरी बिक्री गर्ने उहाँहको लक्ष्य रहेको छ ।

सुरुवातकै चरणमा फर्ममा १ करोड २५ लाख खर्च भइसकेको छ । यसैवर्षभित्रमा ३ सय बाख्रा पुर्याइने लक्ष्य रहेको फर्मका संचालकमध्येका एक दुर्गाबहादुर गुरुङले बताउनुभयो ।

पशुपालनका लागि घाँस खेती अनिवार्य 

२० रोपनी जग्गामा विभिन्न जातको घाँस लगाइएको छ । पशुपालनसँगै घाँसखेती अनिवार्य भएको भक्तबहादुरको बुझाइ छ । 

‘पशुपालनका लागि घाँस खेती अनिवार्य हुन्छ । घाँस खुवाएर पशु पाल्न सकेमा उत्पादन वृद्धिका साथै दाना खरिदमा लाग्ने खर्च कम हुने र किसानलाई फाइदा पुग्छ,’ उहाँ भन्नुहुन्छ । यस्तै फर्ममै साइलेज बनाउन सकेमा पशु आहारा व्यवस्थापनमा सघाउ पुग्ने भएकाले फर्ममै साइलेज बनाउने गरेको उहाँ बताउनुहुन्छ ।

अहिले भक्तबहादुर बाख्रापालनमा रमाउनुभएकाे छ । अरु लाहुरे झैं बेलायतमै गएर बस्न उहाँलाई मन छैन । भन्नुहुन्छ, 'आफ्नै देशमा काम गर्दाकाे सन्तुष्टि नै बेग्लै ।'

अन्तिम अपडेट: चैत १५, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया