धमाधम छाइँदै गाेरखा दरबारकाे छाना

 असार ९, २०७८ बुधबार १९:२५:२१ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखा दरबार पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दरबार पुनर्निर्माणको क्रममा अन्तिम छानाछाउने काम सुरु भएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताउनुभयो । यही असार ४ गतेदेखि छाना छाउने काम सुरु भएको र अबको १५ दिनमा सक्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । छानामा झिँगटी छाउनका लागि काठमाण्डौबाट आएका दक्ष कालिगडसहित १५ जनाभन्दा बढी कामदार खटिएका छन् ।

छाना छाउने कामसँगै तेस्रो तलाको बरन्डामा आँखीझ्याल राख्ने काम पनि सँगसँगै चलिरहेको छ । यी काम सकिएपछि दरबारको बाहिरी स्वरूपको सबै काम पूरा हुने भुषालले बताउनुभयो । त्यसपछि भित्री काम गर्ने तयारी छ । 

‘दरबारको भुइँको पूर्व, उत्तर र दक्षिणको भागमा पेटी बनाउने, हरेक तलाको भुइँमा तेलिया इँटा लगाउने र गारोमा सुर्की, चुनाको लेप लगाउने काम बाँकी रहन्छ’, उहाँले भन्नुभयो, ‘वर्षाका कारण गारा चिसो भएकाले सुर्की र चुनाको काम भने असोजतिर मात्रै गर्न सकिने प्राविधिकहरूले बताउनुभएको छ ।’ 

दरबारको सबै तलाका झ्याल–ढोकामा खापा हाल्ने र कोठा विभाजन गर्ने काम पनि बाँकी छ । अहिलेसम्म दरबार पुनर्निर्माणको झन्डै ८५ प्रतिशत काम सकिएको हेरचाह अड्डाका प्रमुख भुषालले बताउनुभयो । 

२०७२ साल वैशाख १२ गतेको भूकम्पले गोरखा दरबारमा पनि क्षति पुर्‍याएकाे थियो । पुनर्निर्माणका लागि २०७४ सालको कात्तिकमा पचली भैरव/सिभाको जेभी नामको ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । पुनर्निर्माणका लागि ठेकेदार कम्पनीसँग चार करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भए पनि भेरिएशनपछिको लागत चार करोड ९५ लाख रुपैयाँ पुगेको छ । 

ठेक्का सम्झौताअनुसार गएको मङ्सिरमै पुनर्निमार्णको काम सकिनुपर्ने भए पनि काम पूरा हुने सकेन । त्यसयता ६–६ महिना गरेर दुई पटक म्यान थप भइसकेको छ । गएको मङ्सिरमा दोस्रो पटकको म्याद सकिएको हो । ठेकेदार कम्पनीले माग गरेअनुसार फेरि ६ महिनाको म्याद थपेर गएको जेठमा काम सम्पन्न गर्न भनिएको थियो । सार्वजनिक खरिद ऐनअनुसार गएको पुसबाट भने ठेकेदार कम्पनीलाई दैनिक जरिबाना लगाएर काम गराइएको पुरातत्त्व विभागका प्राविधिक नारायण बोहोराले बताउनुभयो । 

तस्बिर : किरण लाेहनी/उज्यालाे 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया