बाढीपहिरोकाे चाेट सहेर पनि घटेन रुप्सेको सुन्दरता, पर्यटकको आकर्षण उत्तिकै (फोटो फिचर)

 असार १२, २०७८ शनिबार १८:०:१२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – सडकमा उभिएर माथितिर हेर्‍यो भने झरनाको शिरदेखि पुछार देखिने । सडकबाट तलपट्टि हेर्दा निरन्तर बगिरहेको कालीगण्डकी नदी । झरनाको तलतिर अलिकति पूर्वमा संसारकै गहिरो अन्धगल्छी, कालीगण्डकीले बनाएको खोँच ।

अग्लो र भिरालो पहाडको टुप्पोबाट तलतिर बगिरहन्छ झरना । त्यही भीर तथा पहाडको साहारा लिँदै बगेको झरनाको पानी निकै चिसो र कञ्चन छ । पहाडमा लडिबुडी खेल्दै र छङ्छङ आवाज निकाल्दै बगेको झरना हेर्दा त्यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्छन् । निकै सुन्दर, आकर्षक अनि मनमोहक लाग्छ म्याग्दीको रुप्से झरना ।

बेनी–जोमसोम–कोरला सडकखण्ड नजिकै पर्ने रुप्से झरनाको बारेमा थाहा नपाएका सायद कमै होलान् । घाम परेको बेला इन्द्रेणीका रङको समेत अवलोकन गर्न पाइने यस झरनाको प्राकृतिक सौन्दर्यको बारेमा वर्णन गरिसाध्य छैन । म्याग्दी सदरमुकाम बेनीदेखि नजिकमा र हिमालपारीको जिल्ला मुस्ताङ जाने बाटैमा पर्ने भएकाले पनि झरनामा पर्यटकहरुको लर्को लाग्ने गर्दछ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा पर्ने पर्यटकीय रुप्से झरना स्वदेशी र विदेशी पर्यटकहरुका लागि आकर्षकस्थल मानिन्छ । गएकाे वर्ष साउन ५ गते राति परेको भीषण वर्षासँगै आएको बाढीपहिरोले झरनाको पुरानो स्वरुप परिवर्तन गरिदिएको भए पनि पर्यटकहरुको आकर्षण भने उत्तिकै छ । बाढीपहिरोले रुप्से झरनालाई अस्तव्यस्त बनाउनुका साथै रुप्सेखोला माथिको पक्की मोटरेबल पुल भत्काएको थियो । बाढीका कारण एकवटा यात्रुबाहक बस र एक होटल पनि पूर्ण रुपमा क्षति भएको थियो ।

बाढीपहिराेले असर गर्नुभन्दा पहिलेकाे रुप्से

रुप्से झरनामा आएको बाढीले संसारकै गहिरो अन्धगल्छी अर्थात् कालीगण्डकीको खोंचलाई समेत पुरिदिएको छ । बाढीपहिरोले झरना र अन्धगल्छीको खोंचको स्वरुप नै बिगारेको भए पनि पर्यटकहरुको आकर्षक भने बढेको पाइन्छ । पहिरोले झरना र अन्धगल्छीलाई कुरुप बनाउनुका साथै पदमार्ग र मन्दिर बगाएको थियो । पहिरोले क्षति पुर्याएको रुप्से झरना र अन्धगल्छीको संरक्षणका लागि २० लाख रुपैयाँ बजेट आएकाले वर्षापछि काम अघि बढ्ने अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।

दानामा पर्ने सुन्दर प्राकृतिक रुप्से झरना पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । म्याग्दी सदरमुकाम बेनीदेखि ३० किलोमिटर उत्तर पूर्वमा पर्ने यस झरना समुन्द्री सतहदेखि १८ सय मिटरको उचाइमा पर्दछ । नेपाल सरकारले सन् १९७५ मा हुलाक टिकटमा रुप्से झरनाको फोटो राखेर टिकट प्रकाशन गरेपछि झरनाले थप चर्चा बटुलेको थियो ।

पर्यटकीय हिसाबले आकर्षक र प्रख्यात मानिने रुप्से झरनाको केही तलपट्टि नजिकै संसारकै सबैभन्दा गहिरो मानिएको अन्धगल्छी पर्दछ । म्याग्दीको बेनीबाट ३० किलोमिटरको दुरीमा रहेको कालीगण्डकी नदीले बनाएको अन्धगल्छीको गहिराई ६ हजार ९ सय ६७ मिटर रहेको छ । धौलागिरि र अन्नपूर्ण हिमालको बीचमा अवस्थित यो गल्छी समुन्द्री सतहबाट १२ सय मिटरको उचाइमा रहेको छ । 

पर्यटनका दृष्टिकोणले महत्वपूर्ण मानिने यस झरना र गल्छीमा नेपालसहित विभिन्न देशबाट पर्यटकहरु आउने गर्दछन् । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मानिने रुप्से झरना र अन्धगल्छी म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरुमध्ये आकर्षक गन्तव्य मानिन्छन् ।

पर्यटकीय आकर्षण बोकेको झरना र अन्धगल्छीमा पर्यटकहरु विदा मनाउन, फुर्सदको समय तथा शनिबारका दिन घुम्न निस्कन्छन् । व्यस्त दैनिकी र तनावबाट मुक्त हुन वा लामो समय कोरोना र लकडाउनले घरभित्रै बस्न बाध्य मानिसहरु पर्यटकीय क्षेत्रको भ्रमणमा पुग्ने गरेका छन् । रुप्से झरनामा म्याग्दीसहित विभिन्न जिल्लाबाट पर्यटकहरु पुग्ने गर्दछन् । मुस्ताङ जाने पर्यटकहरु पनि एकैछिन भनेर झरनामा पुगेर रमाउँछन् । रुप्से झरनामा पुगेर रमाउँदै फोटो र सेल्फी लिन पाउँदा आफूलाई एकदमै खुसी लागेको आन्तरिक पर्यटक डाक्टर लक्ष्मी पन्थीले अनुभव सुनाउनुभयो । 

रुप्से झरना तथा अन्धगल्छीको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता देखिन्छ । गएकाे वर्ष वर्षातकाे बाढीपहिरोले बिगारेको झरना र अन्धगल्छीको स्वरुपलाई पुरानै अवस्थामा फर्काएर पर्यटक आगमन बढाउन सकिन्छ । पर्यटकीय हिसाबले रमणीय रहेको रुप्से झरना र अन्धगल्छीको आसपासमा खस्ने पहिरोलाई नियन्त्रण गरी पुरानै अवस्थामा फर्काउन सकिने स्थानीय अगुवा तेजबहादुर गुरुङले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया