कर्णालीमा असार मध्यसम्ममा ५० प्रतिशत रोपाइँ

 असार १५, २०७८ मंगलबार २०:६:४८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णालीमा अहिले किसानलाई रोपाइँ गर्न भ्याइनभ्याइ छ । अहिले मानो रोपेर मुरी फलाउने समय हो । किसानहरू खेतीमा व्यस्त छन् । सिँचाइ उपलब्ध भएको र खोलाको आसपासमा रहेका धेरैजसो ठाउँमा रोपाइँ सम्पन्न भएको छ । यस वर्ष मनुसन छिटो सक्रिय भएकाले किसानलाई रोपाइँ गर्न सहज भएको छ । 

प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा असार मध्यसम्म ५० प्रतिशत रोपाइँ सम्पन्न भएको हो । निर्देशनालयका सूचना अधिकारी याम रानाले पहाडी जिल्लामा धेरैजसो ठाउँमा रोपाइँ सकिएको जानकारी दिनुभयो ।  उहाँका अनुसार जुम्लामा ९० प्रतिशत, हुम्ला र डोल्पामा ८०/८० प्रतिशत, मुगुमा ७०, रुकुम पश्चिम र जाजरकोटमा ६५/६५ प्रतिशत, सल्यानमा ६० प्रतिशत, दैलेखमा ४५ प्रतिशत र सुर्खेतमा २० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

कर्णालीमा धान उत्पादन हुने ४१ हजार पाँच सय पाँच हेक्टर क्षेत्रफलमध्ये २० हजार चार सय बढी हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।  

२६ हजार मेट्रिक टन बढी अपुग

कर्णाली प्रदेशमा अझै पनि खाद्यान्न अभाव छ । निर्देशनालयका अनुसार प्रदेशमा तीन लाख १६ हजार तीन सय ९१ मेट्रिक टन धान उत्पादन हुन्छ । तर प्रदेशमा तीन लाख ४८ हजार सात सय ३२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । अझै प्रदेशमा २६ हजार १८ मेट्रिक टन खाद्यान्न अपुग छ ।  प्रदेशमा सुर्खेत, सल्यान, रुकुम पश्चिम र दैलेखमा मात्रै खाद्यान्नमा आत्मनिर्भर छन् । अन्य जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, मुगुमा खाद्यान्न अपुग छ ।

खाद्यान्न अपुग हुँदा कर्णालीका पहाडी तथा हिमाली जिल्लामा बर्सेनि खाद्य सङ्कट पर्छ । खाद्यान्न सङ्कलन पर्ने कर्णालीका जिल्लाहरूमा सरकारी अनुदानमा चामल ढुवानी हुँदै आएको छ । यी जिल्लामा स्थानीय उत्पादन पर्याप्त नहुँदा सरकारले ढुवानीमा अनुदान दिए पनि बर्सेनि खाद्य अभाव झेल्नुपर्ने बाध्यता छ । 

निर्देशनालयका अनुसार कालीकोटमा ११ हजार ६ सय ४१ मेट्रिक टन खाद्यान्न अपुग छ । हुम्लामा आठ हजार दुई सय ७३, जुम्लामा सात हजार ३०, मुगुमा पाँच हजार चार सय ४४, डोल्पामा तीन हजार एक सय ६९ र जाजरकोटमा दुई हजार आठ सय ५५ मेट्रिक टन खाद्यान्न अपुग छ । खाद्य सुरक्षा भएका जिल्लाहरू सल्यानमा आठ हजार सात सय ४३, रुकुममा एक हजार पाँच सय ७२, सुर्खेतमा एक हजार ७४ र दैलेखमा एक हजार पाँच मेट्रिक टन सञ्चित हुने निर्देशनालयले जनाएको छ । 

कर्णालीमा सिँचाइ अभावले पनि खेतीयोग्य जमिनमा खेती हुन सकेको छैन ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया