चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
डल्लुका नरेन्द्रमान डङ्गोलले १६ वर्ष अघिदेखि आकाशे पानी सङ्कलन गर्दै आउनुभएको छ। यसरी सङ्कलन गरिएको पानी पिउनदेखि घरायसी अरु कामका लागिसमेत प्रयोग भइरहेको छ । सुरुमा उहाँले थोरै मात्रामा पानी सङ्कलन गर्नु हुन्थ्यो । सङ्कलित पानी तत्कालका लागि मात्र प्रयोग गर्नु हुन्थ्यो।
घरमा खानेपानीको धारा थियो तर पानी समयमा नआउँदा उहाँ हैरान हुनुभयो । त्यसपछि उहाँले व्यवस्थित रुपमा आकाशे पानी सङ्कलन गर्न थाल्नुभएको हो । अहिले उहाँले वर्षभरिलाई पुग्ने पानी मनसुनको समयमा नै जम्मा गर्नुहुन्छ । उहाँको घरमा प्रयोग हुने पानीको मुल स्रोत नै आकाशे पानी हो।
नरेन्द्रमानको घरमा १५ हजार लिटर पानी अट्ने ट्याङ्की छ । त्यो भरिएपछि बाँकी भएको पानीलाई इनारमा रिचार्ज गर्ने गर्नुभएको छ । उहाँले मनसुनको समयमा जम्मा गर्नुभएको पानीले परिवारलाई मात्र नभइ घरमै रहेको मन्टेश्वरी स्कुलमा रहेका शिक्षक विद्यार्थीलाई समेत पुग्ने गरेको छ । ‘मेरो घरमा तल्लो तलामा गाभा मन्टेश्वरी छ । मन्टेश्वरीमा रहका विद्यार्थी, शिक्षक र कर्मचारी गरी झण्डै ६० जना छन् । सबैलाई मैले सङ्कलन गरेको पानीले पुग्छ, किन्नु पर्दैन’ उहाँले भन्नुभयो ।
पानी भरेर राख्दा केही दिनमै गँड्यौला पर्ने, पहेँलो, चिप्लो हुने लगायतका समस्या हुन्छ । यसरी वर्षभरिका लागि जम्मा गरिएको पानी गुणस्तरीय हुन्छ त ? भन्ने प्रश्नमा डङ्गोल भन्नुहुन्छ । आकाशबाट परेको पानी सिधै ट्याङ्कीमा जम्मा गर्ने भने होइन । आकाशबाट परेपछि त्यसलाई छान्ने, फिल्टर गर्ने क्लोरिन गर्ने गरेपछि मात्रै राख्नुपर्छ । नत्र भने एक, डेढ हप्तामै पानी फोहोर हुने, पहेँलो देखिने र गँड्यौला समेत पर्ने सक्ने उहाँ बताउनुहुन्छ ।
बजारमा राम्रै भनिएका कतिपय कम्पनीका पानीसमेत फोहोर भएका उदाहरणहरु छन् । त्यसको तुलनामा आकाशको पानी निक्कै सफा हुने उहाँ बताउनुहुन्छ । आकाशे पानी सङ्कलनका लागि प्रविधि खासै महँगाे नभएको उहाँको भनाइ छ । ललितपुर महानगरपालिका वडा नम्बर ६ का रोशन शाक्यले पनि दुई वर्षदेखि आकाशे पानी सङ्कलन र प्रयोग गर्दै आउनुभएको छ । उहाँको घरमा धारामा पानी नआएको तीन चार वर्ष भइसकेको छ ।
आकाशे पानी सङ्कलन गर्नुभन्दा अगाडि उहाँले ट्याङ्करको पानी किनेर प्रयोग गर्नुहुन्थ्यो । उहाँको परिवारलाई एक महिनामा २ ट्याङ्कर पानी चाहिन्थ्यो । ट्याङ्करको पानी किनेबापतको महिनामा चार हजार रुपैयाँ खर्च हुन्थ्यो । अहिले उहाँको महिनामा चार हजार रुपैयाँ बचत हुन्छ । उहाँसँग १५ हजार लिटर पानी अट्ने ट्याङ्की छ । आकाशे पानी सङ्कलनको पूरै प्रणाली राख्न ४० देखि ५० हजार रुपैयाँ खर्च भएको बताउनुहुन्छ ।
उहाँका अनुसार आकाशको पानी सङ्कलनका लागि ट्याङ्की बनाउनुपर्छ । त्यसका लागि साढे २ देखि ५ मिटर गहिरो र १ दशमलव ५ देखि ३ मिटर चौडाइको खाल्डो खन्नुपर्छ । खाल्डोको फेदमा पानी छान्नका लागि ३० सेन्टिमिटर ढुङ्गाको टुक्रा र बालुवाको चोक्कर राख्नुपर्छ । खाल्डोको माथि इँटा पनि राख्नुपर्छ । यसमा अरु प्राविधिक वा जानकारको सहयोगमा आवश्यक जानकारी पनि लिन सकिन्छ ।
काठमाण्डौका सुनिल शाक्यले गएको दुई वर्षदेखि आकाशको पानी सङ्कलन गर्दै आउनुभएको छ । लाजिम्पाटमा रहेको होटलमा प्रयोग गर्नका लागि उहाँले पानी सङ्कलन सुरु गर्नुभएको हो । उहाँले गएको वर्ष ५० हजार लिटर पानी सङ्कलन गर्नुभयो । त्यो पानी उहाँले होटलमा प्रयोग गर्नुहुन्छ । पहिले उहाँले इनारबाट र कहिलेकाहीँ ट्याङ्करको पानी प्रयोग गर्दै आउनुभएको थियो ।
आकाशे पानीको प्रयोग गर्न सके आर्थिक बचत हुने आकाशे पानी विज्ञ प्रकाश अमात्य बताउनुहुन्छ । आकाशे पानी सङ्कलनले अरु पानी किन्नु नपर्ने भएकाले पैसाको बचत हुने उहाँको भनाइ छ । आकाशे पानी सङ्कलनको प्रक्रियालाई व्यापक रुपमा प्रयोग गर्न सकेमा ठूलो मात्रामा आर्थिक बचत हुने देखिन्छ ।
‘छतको पानी हामीले सडकका फालिरहेका छौँ । जसले गर्दा हरेक वर्ष सडक, चोकमा बाढी आउने गरेको छ । पालिकाहरुले आकाशे पानी सङ्कलनका लागि अनिवार्य गराइदिनुपर्छ’ उहाँ भन्नुहुन्छ, ‘यसका लागि आर्थिक तथा प्राविधिक सहयोग पालिकाहरुले गर्नुपर्छ ।’
आकाशे पानीलाई खेर जान नदिनका लागि पालिकाहरुले भवन निर्माण निर्देशिकामा नै आकाशे पानी सङ्कलन गर्ने, रिचार्ज गर्ने, नियम बनाउनुपर्ने अमात्यको मत छ । आकाशको पानीले परम्परागत पानीका स्रोत रिचार्ज गर्न सहयोग पुर्याउँछ । पछिल्लो समय पालिकाहरुले नयाँ घर बनाउँदा आकाशे पानी सङ्कलनको प्रणाली राख्नेलाई भवन निर्माण शुल्कमा केही छुट दिँदै आएका छन् ।
खानेपानी संस्थानलाई काठमाण्डौमा मात्रै १ दशमलव ४ अर्ब घनमिटर शुद्ध पानी आपूर्ति गर्नुपर्ने जिम्मेवारी छ । यो सबै पानी जमिनमुनिबाट नै निकाल्ने हो । काठमाण्डौ उपत्यकामुनिको जलभण्डारबाट मात्रै दैनिक ७ करोड पानी निकाल्ने गरिएको छ । पछिल्लो समय सामान्य रुपमा गाडिएका बोरिङबाट पानी आउन छोडेको धेरैको गुनासो छ । जमिनमुनिबाट पानी आउन छोडेपछि ट्याङ्करको पानी किन्नुपर्ने बाध्यता छ ।
सजिलै पानी आउन छोडेपछि ट्याङ्करको पानी ढुवानीकर्ता झन् थप डिप बोरिङतर्फ आकर्षित भएका छन् । यसले गर्दा भूमिगत जलभण्डारमा पानीको मात्रा घट्दै गएको छ । त्यसमाथि अव्यवस्थित सहरीकरणका कारण जथाभाबी फोहोर थुपार्ने र ढलको बिना उपचार विसर्जन गर्ने प्रवृत्तिले पानी प्रदूषित बन्दै गएको छ । मानिसमा विभिन्न किसिमका महामारीको जोखिम समेत हुने देखिएको छ । डिप बोरिङबाट निकालिएर प्रयोग गरिएको पानी घातक बन्दै जाने हुनाले विकल्पको रुपमा आकाशे पानीको प्रयोग गर्नुपर्ने देखिन्छ ।
नेपालमा केही अभियन्ता र विज्ञहरुले आकाशे पानीको प्रयोग र प्रवर्द्धन गराउनका लागि ध्यानाकर्षण गराउँदै आए पनि सरकारी तवरबाट प्राथमिकताका साथ योजना बनाएर अगाडि बढेको पाइँदैन । मेलम्चीको पानी काठमाण्डौ आउन थालेपछि खानेपानीको समस्या केही समाधान भएजस्तो देखिए पनि मागअनुसार पूर्ण रुपमा आपूर्ति हुन अझै कठिन देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।