विदेशमा 'ठक्करै ठक्कर', गाउँ फर्किएर बाख्रापालन

 असार २६, २०७८ शनिबार १७:५४:३१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – घरको आर्थिक अवस्था कमजोर । खासै पढाइ, लेखाइ भएन । त्यसैले कलिलै उमेरमा धन कमाउन भारत पस्नुभयो, लमजुङ दोर्दी गाउँपालिका ३ श्रीमन्ज्याङका धनबहादुर गुरुङ ।

उहाँले भारतमा १० वर्षसम्म श्रम गर्दै पसिना बगाउनुभयो । एक दशकसम्म भारतमा बिताए पनि उहाँको आर्थिक स्थिति भने माथि उठ्न सकेन । ‘१५ वर्षमा भारत गएँ, १० वर्ष उतै काम गरेँ तर गतिलो कमाइ भएन’, उहाँले भन्नुभयो ।

त्यसपछि उहाँ गाउँ नै फर्कनुभयो । गाउँ त फर्कनुभयो तर आम्दानीको कुनै स्रोत नभएपछि उहाँलाई गुजारा चलाउन निकै सकस भयो ।  

‘चुल्हो बाल्न’ कै लागि फेरि विदेश 

घरको ‘चुल्हो बाल्न’ कै लागि धनबहादुरले फेरि विदेश जाने सोच बुन्नुभयो । उहाँ २०७० सालमा मलेसिया जानुभयाे ।  उहाँले मलेसियामा नौ महिना बिताउनुभयो । 

उहाँले त्यहाँ झन् धेरै दुःख भोग्नुपर्यो । ‘मलेसिया त गइयो । २४ घण्टा एअरपोर्टमै अलपत्र परियो’, धनबहादुरले भन्नुभयो, ‘धेरै समयपछि कम्पनी लिन आयो । लामै समय कोठामा थुनिएर बस्नुपर्यो । बल्ल–बल्ल कम्पनीले काम लगायो ।’

उहाँले नौ महिनाको अवधिमा पाँच महिना मात्रै काम गर्नुभयो । ‘नौ महिनाको अवधिमा पाँच महिना काम गरेँ तर तीन महिनाको मात्रै तलब पाएँ’, उहाँले भन्नुभयो, ‘विदेशमा धेरै ठक्कर खाइयो । विदेशमा बस्न मन लागेन र गाउँ फर्किएँ ।’

बाख्रापालन सुरु

गाउँ आएपछि हातमा सीप नभएकाले काम पनि भएन अनि कमाइ पनि भएन । गुजारा चलाउन समस्या भयो । धनबहादुरले गुजारा चलाउन ज्याला–मजदुरी, खेती–किसानी गर्न थाल्नुभयो । खसी–बोकाको व्यापार पनि थाल्नुभयो ।

किसानबाट खसी–बोका खरिद गरी उहाँले गाउँ, बजार क्षेत्रमा बिक्री गर्न थाल्नुभयो । यसबाट राम्रै कमाइ भयो । 

त्यसपछि उहाँलाई मनमा लाग्न थाल्यो, ‘बाख्रापालनबाट राम्रो कमाइ हुने रहेछ । आफैँ बाख्रा पालन किन नगर्ने ? ’बाख्रापालनबाट राम्रो कमाउन सकिने आशाका साथ धनबहादुरले गाउँमै बाख्रा पाल्न थाल्नुभयो । उहाँले २०७१ सालदेखि बाख्रापाल्न सुरु गर्नुभएको हो ।

एउटा माउबाट बाख्रापालन सुरु गर्नुभएका उहाँले बिस्तारै बाख्राको सङ्ख्या बढाउँदै लैजानुभयो । ‘श्रीमन्ज्याङ कृषि फर्म’ दर्ता गरी अहिले उहाँ व्यवसायिक बोयर बाख्रापालनमा रम्नुभएको छ । उहाँले दुई वटा आधुनिक खोरमा बाख्रा पाल्दै आउनुभएको छ ।

बोयर बाख्रापालन : कमाइ ज्यादा, किसानलाई फाइदा

उहाँको फर्ममा अहिले ३५ वटा बोयर, जमुनापारी दुई वटा, खरी १२ वटा र बिटल जातका बाख्रा छन् । 

कम समयमै धेरै उत्पादन हुने, उत्पादन सजिलै बिक्री हुने भएकाले बोयर बाख्रापालन गरेको उहाँले बताउनुभयो । ‘कम समयमै धेरै उत्पादन हुन्छ । उत्पादनको मूल्य राम्रो छ । उत्पादन सजिलै बिक्छ’, धनबहादुरले भन्नुभयो, ‘बोयर बाख्रा पाल्दा किसानलाई निकै फाइदा हुन्छ ।’फर्मबाट वार्षिक चार/पाँच लाख हाराहारीमा कारोबार हुने गरेको उहाँ बताउनुहुन्छ ।

‘विदेशमा भन्दा स्वदेशकै उद्यममा खुसी छु । कृषि उद्यमबाट राम्रै कमाइ भइरहेको छ’, उहाँले भन्नुभयो, ‘घरपरिवारको गुजारा चलाउन सजिलो भएको छ ।’
पैसाकै लागि किन जानुपर्यो र विदेश ?

बाख्रापालन व्यवसायमा सम्बन्धित निकायबाट साथ र सहयोग पाइरहेको उहाँले बताउनुभयो । ‘सरकारी निकायबाट साथ र सहयोग मिलेको छ । यसले झनै व्यवसायमा लाग्ने हौसला प्रदान गरेको छ’, खुसी हुँदै धनबहादुरले भन्नुभयो ।

बोयर बाख्रापालनलाई थप विस्तार गर्दै लैजाने उहाँको योजना छ । आवश्यक ज्ञान, सीप लिएर घर–गाउँमै कृषि उद्यम गर्न सके यहीँ मनग्य कमाउन सकिने र जीवन चलाउन सकिने उहाँले बताउनुभयो ।

‘देशकै माटोमा दुःख गरौँ । पसिना बगाऔँ । परिश्रम गरेँ यहीँ धन आर्जन गर्न सकिन्छ’, धनबहादुरले भन्नुभयो, ‘विदेश जान लाग्ने खर्च, उता बगाउने पसिना यतै खर्च गर्न, बगाउन सके यहीँ राम्रो कमाउन सकिन्छ । जीवन चलाउन सकिन्छ । अनि पैसाकै लागि किन जानुपर्यो र विदेश ?’  

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया