धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
केही वर्षयता मनसुनी वर्षामा फेरबदल आएको छ । गएको तीन वर्षदेखि मनसुन सक्रिय भएर धेरै वर्षा भइरहेको छ । प्रशान्त महासागरको पूर्वी भेगको पानी सामान्यभन्दा पनि बढी चिसो हुँदा दक्षिण एसियामा यसको असरले पानी धेरै परेको हो । प्रशान्त महासागरको पानी तातो हुँदा एसियामा कम पानी पर्ने हुन्छ । अहिले त्यहाँ पानी चिसो भइरहेको छ । त्यही कारणले सन् २०१९ देखि नेपालमा पनि धेरै पानी परिरहेको छ । प्रशान्त महासागरमा समुद्रको पानी चिसो हुँदा त्यहाँबाट जोडले हावा आउँछ अनि हिन्द महासागरबाट बङ्गालको खाडीबाट आउने हावाले पछाडिबाट धकेलेर हाम्रोमा मनसुन सक्रिय हुन्छ, तर यो सधैँ रहिरहँदैन ।
अबको एक–दुई वर्षपछि पानी नपर्ने र सुख्खा हुन सक्छ । अथवा कम पानी पर्न सक्छ । दुईदेखि सात वर्षभित्र ‘फेनोमेना’ परिवर्तन हुन सक्छ । अहिले २०१९ देखि सक्रिय ‘फेनोमेना’ एक डेढ वर्ष रहन सक्छ र त्यसपछि बिस्तारै सुख्खापन आउँछ ।
प्रायः मनसुनको सुरुमा तराईमा बाढी आउँछ तर यो पालि मनसुन सुरु भएलगत्तै त्यसको दुई दिनमा देशभर फैलियो । त्यसपछि अनपेक्षित रूपमा पहाडी भेगमा ठूलो पानी पर्यो, बाढी आयो । तर तराईमा आएन । सुरुमा तराईमा बाढी आउनुपर्ने हो तर यसपालि उल्टो भयो । मौसमी प्रणालीले के देखायो भने यो पालिको वर्षा अचम्म किसिमको छ ।
मनसुन समयमै भित्रियो । त्यसमा पनि केही ठाउँमा एक सय मिलिमिटरसम्म पानी पर्यो । ५० मिलिमिटरसम्मको वर्षालाई औसत मान्न सकिन्छ । तर एक सय मिलिमिटर पानी पर्नु औसत नभइ धेरै हो र यस्तो बेला बाढी आउँछ ।
जुन ठाउँमा मौसम पूर्वानुमान गर्ने स्टेशन छैन, त्यहाँ बढी क्षति भएको छ । देशका कुनै ठाउँमा ठूलो पानी पर्ने अनि बाढी आएर क्षति भएको छ । कुनै ठाउँमा सामान्य मात्रै पानी परेको छ, त्यसको खासै असर छैन । यसको कारण जलवायु परिवर्तन र ‘ग्लोबल फेनोमेना’ हो ।
यसपालि प्रि–मनसुनदेखि नै पानी परिरह्यो । मनसुन सुरु हुनुअघि नै पानी परेर जमिन भिजिसकेको थियो, त्यसपछि थोरै मात्रै पानी पर्दा पनि पहिरो जाने जोखिम बढी हुन्छ । प्रि–मनसुनमा नै धेरै पानी पर्यो, मनसुन समयमै भित्रियो, ग्लोबल फेनामेना र जलवायु परिवर्तनका कारण मनसुनी फेरबदलमा मुख्य काम गरेको छ ।
मनसुन फेरबदलमा मानवीय कारण भने नगण्य हुन्छ । मानवीय कारण भनेको वातावरण प्रदूषण हो, यसबाट केही असर त गर्छ । मौसमको पूर्वानुमानअनुसार मानवीय व्यवहार परिवर्तन गर्न र सचेत हुन सकिन्छ । अर्को कुरा विद्यालयस्तरमा मनसुन सम्बन्धी पाठ्यक्रम समावेश गरिनुपर्छ ।
नेपालमा मौसमसम्बन्धी जानकारी र चेतावनी दिने गरिए पनि सम्बन्धित निकाय त्यति सचेत भएको र पूर्वतयारी गरेको देखिँदैन । सरकारले नागरिकका लागि सुरक्षित बस्ती बनाइदिन सक्नुपर्छ । यस्तै आम नागरिकमा अलिकति चासो बढ्नुपर्यो । आफू बसेको ठाउँ कत्तिको सुरक्षित छ, पानी पर्यो भने के होला भन्ने कुरा बुझ्न आवश्यक छ । नागरिक आफैँले बुझेर खोलाको किनारतिर बस्नु भएन ।
मनसुन झन्डै चार महिनाजति हुन्छ । यो समयमा लगातार पानी परिरहने भने हुँदैन । यसलाई ‘ब्रेकिङ’ मनसुन भनिन्छ । यो फेनोमेनामा हावा एकैतिर रहिरहँदैन ।
अहिले मौसमसम्बन्धी जानकारी दिने नयाँ नयाँ प्रविधि भित्रिरहेको छ । गणितीय प्रणालीबाट गरिने मौसम पूर्वानुमान बढी प्रभावकारी हुन्छ । अहिले एक–डेढ वर्षयता हामीले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्न सकेका छौँ । अहिले प्रत्येक आधा घण्टामा भूउपग्रहको तस्बिर हेरेर त्यसबाट मौसम कस्तो छ, हावा कताबाट कता गइरहेको छ भन्ने थाहा पाउन सकिन्छ । हिमाल, पहाड र तराईमा अलग–अलग ठाउँको मौसम पूर्वानुमान गर्न सकियो भने अझै प्रभावकारी हुन सक्छ । नेपालमा चट्याङ र हावाहुरीको भविष्यवाणी गर्ने प्रविधि विस्तारको काम पनि भइरहेको छ ।
यस्तै कुनै नदीमा बाढी आएको छ कि छैन भनेर कोठमै बसेर हेर्न सकिन्छ । त्यसका लागि नदीहरूमा मिटर राखिएको हुन्छ । बाढी आएको बेला ती मिटरले कति बाढी आयो भनेर सङ्केत गर्छ ।
पहिले–पहिले मौसम पूर्वानुमान गर्न निकै गाह्रो थियो, भूउपग्रहको तस्बिर समयमै हेर्न पाइँदैन थियो । त्यो बेला दिनमा एक पटक भूउपग्रहको तस्बिर आउँथ्यो अनि मौसम छिनछिनमै परिवर्तन हुन्थ्यो, त्यसपछि मौसम पूर्वानुमान गर्न सकिँदैन थियो । त्यो बेला राडारको पनि व्यवस्था थिएन । बिहारतिरको राडार मात्रै हेर्न पाएको भए नेपालको तराई भेगमा कस्तो पानी पर्न सक्छ भनेर अनुमान गर्न सक्थ्यौँ, त्यति पनि थिएन ।
तर अहिले त्यो अवस्था छैन, यो मौसम पूर्वानुमानको लागि अझै अपुग नै हो । मौसमसम्बन्धी पूर्वानुमान राम्रो हुँदै आइरहेको छ, अझै राम्रो हुँदै जानेछ । अहिले पनि आधा घण्टा र एक–एक घण्टामा मौसमको पूर्वानुमान गर्न सकिएको छ । यो नै राम्रो उपलब्धि हो । भारत, बङ्गलादेश, पाकिस्तानसहित दक्षिण अमेरिकाको पनि मौसम हेर्नुपर्ने हुन्छ, त्यहाँको मौसमले नेपाललाई पनि असर गरेको हुन्छ ।
हाम्रोमा पानी धेरै परिरहेको छ, क्यानडामा भने सुख्खा छ । त्यस कारण कुनै ठाउँमा एउटा देखिएको फेनोमेनाले अरू ठाउँमा पनि असर गर्छ, यो सबैलाई अध्ययन गर्न सकियो भने मौसमसम्बन्धी पूर्वानुमान अझै राम्रो र प्रभावकारी हुँदै जान्छ । मौसमसम्बन्धी जानकारी लिने गरेमा सुरक्षित हुन त सहयोग गर्छ नै । यसले किसानलाई पनि खेतीपातीको तयारी गर्न मद्दत पुग्छ ।
(काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक तथा वरिष्ठ मौसमविद् मणिरत्न शाक्यसँगकाे कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
शाक्य काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक तथा वरिष्ठ मौसमविद् हुनुहुन्छ ।
Puja
July 11, 2021, 6:39 p.m.सानिमा बैंकले सिइओ भुवन सरको फोटोमा मणिरत्न शाक्य किन लेखेको ??
Bidur Basnet
July 11, 2021, 6:33 p.m.Very much relevant and informative piece Thanks.