सुजिता ठाकुर प्रकरण : हत्यामा संलग्न रहेकाे आराेपमा चार जना सार्वजनिक

 असार २९, २०७८ मंगलबार १९:१२:२५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरी प्रहरीले सुजिता ठाकुरको हत्यामा संलग्न रहेकाे आरोपमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेकाे छ । मङ्गलवार जिल्ला प्रहरी कार्यालय महोत्तरीले जलेश्वरमा पत्रकार सम्मेलनमा सुजिताको हत्यामा संलग्न रहेकाे भन्दै मृतकका देवर लोहारपट्टी नगरपालिका ७ का २९ वर्षीय रूपेश ठाकुरलाई सार्वजनिक गरेकाे हाे । 

त्यस्तै प्रहरीले शव लुकाउनमा संलग्न रहेको आरोपमा स्थानीयवासी ३७ वर्षीय किशोरी मण्डल, ३३ वर्षीय आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई सार्वजनिक गरेको हो । यस प्रकरणमा यसअघि पक्राउ परेका मृतक सुजिताकाे श्रीमान् मुकेश ठाकुर घटनामा संलग्न भएकाे नदेखिएकोले उनलाई छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मुकेशलाई सुजिताकी बुबा पिपरा गाउँपालिका ६ रतौलीका कामेश्वर पाण्डेलाई जिम्मा लगाइएको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टका अनुसार सुजिताको हत्यामा देवर रूपेशको मात्र संलग्नता रहेको छ । अन्य तीन जनाले शव हस्तान्तरण गर्ने कार्यमा रुपेशलाई सहयोग गरिएको प्रहरीको अनुसन्धानबाट देखिएको डीएसपी विष्टले जानकारी दिनुभयो ।

यसरी भएको थियो सुजिताको हत्या 

महोत्तरी प्रहरीका अनुसार सुजिताको हत्या ऊकाे जेठ २० गते बिहान आठ–नाै बजेको समयमा भएको हो । उनको हत्या रूपेशले गरेको प्रहरी अनुसन्धानबाट खुलेकाे हो । रूपेशले सुजिताको कोठाभित्र घित्रोमा मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोकाइ घाँटी थिची हत्या गरेको थिए ।   

सुजिताको हत्यापछि शवलाई दिनभरि सुजिताकै सुत्ने पलङमा छोपेर कोठा बाहिरबाट ताल्चा लगाइ राखिएको थियो । राति साढे आठ बजेदेखि नाै बजेको बीचमा रूपेशले आफ्नै ट्र्याक्टरमा सुजिताको शव राखेर घरदेखि झन्डै एक किलोमिटर दक्षिणमा रहेको आफ्नै खेतमा खाल्टो खनेर गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । शव गाडेको भोलिपल्ट रूपेशले त्यस ठाउँमा पानी भरेर ट्र्याक्टरले सम्याइ धानको बिउ छरेका थिए । अरूले थाहा पाउने देखेपछि रूपेशले जेठ २९ गते मध्यराति फेरि गाडेकाे ठाउँबाट शव निकालेर घरबाट पाँच सय मिटर पर रहेकाे निर्माणाधीन सेफ्टी ट्याङकीमा चार फिट गहिरो खाल्टाे खनेर शव पुनः गाडेका थिए । 

शव गाडेर माथिबाट ६ इन्च मोटो सिमेन्ट बालुवाले ढलान गरी माथिल्लो भागमा काठको गोलियाहरू राखिएकाे थियो । पहिले शव गाडेको ठाउँमा भोलिपल्ट पुनः खाल्टो वरिपरिको भागमा पानी भरी रूपेशले ट्र्याक्टरले सम्याइ धानको बिउ छरेका थिए । गएकाे जेठ २० गतेदेखि बेपत्ता भएकी सुजिताको शवको अवशेष असार १३ गते खेतमा खाल्टाे खनेपछि फेला परेको थियो । खोजीका क्रममा असार २७ गते बिहान घरबाट पाँच सय मिटर पर निर्माणाधीन सेफ्टी ट्याङ्कीमा खाल्टाे खनी गाडेर माथिबाट पलास्टर गरेको अवस्थामा उनकाे शव भेटिएकाे थियाे ।  

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया