धुर्कोट बन्यो गुल्मीकै पहिलो खरको छानामुक्त गाउँपालिका

‘बुढेसकालमा भए पनि ढुक्कसँग निदाउन पाइने भइयाे’

 असार २९, २०७८ मंगलबार २०:२०:४७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – ‘बर्खा लाग्दा पानीको डर त हिउँद लाग्दा आगोको डर, ढुक्कसँग सुत्न खोज्दा खोज्दै पनि कैयौँ रात आँखा झपक्कसम्म नपारि उज्यालो हुन्थ्यो, छिमेकीका घरका छाना ढुङ्गा र टिनले रङ्गिँदा हामी गरिब भएर जन्मनुमा भाग्यलाई सरापी रहन्थ्यौँ तर आज त्यही भाग्य घुम्दै–घुम्दै घरको धुरीसम्म आइपुग्यो, सम्झँदा पनि कता–कता सपना जस्तो लाग्छ’, धुर्कोट गाउँपालिका ७ वाग्लाका ७३ वर्षीय गोरबहादुर विकले आफ्नो विगतलाई यसरी सम्झनुभयो ।

अहिले उहाँ मात्र हैन उहाँकी ६१ वर्षीया श्रीमती पार्वती पनि निकै खुसी हुनुहुन्छ । धुर्कोट गाउँपालिकाले पालिकाभित्र खरको छाना विस्थापित गरी जस्तापाताले घर चिटिक्क पारिदिएपछि गोरे र पार्वती जस्ता सयौँ विपन्न परिवारमा खुसी छाएको छ । बुढेसकालमा अब उहाँहरू जस्तालाई छानाबाट पानी चुहिएला कि भनेर बलेनी थाप्नुपर्दैन । ‘अब त बुढेसकालमा भए पनि ढुक्कसँग निदाउन पाइने भइयो’, जस्तापाताले घरको छानो छाएलगत्तै वृद्ध दम्पतीले भन्नुभयो । 

चार वर्षको अवधिमा धुर्कोट गाउँपालिकाले यसैगरी खरको छाना भएका घरमा जस्तापाता लगाएर पालिकालाई खरका छानामुक्त घर भएको घोषणा गरेको छ । ‘चुनावको समयमा जनतासँग मत माग्दै गर्दा गरेको वाचा चुनाव जितेपछि जनप्रतिनिधिको नाताले आफूहरूले गरेको वाचा आज आएर पूरा गरेका छौँ’, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले भन्नुभयो । धुर्कोटलाई समृद्ध बनाउनका लागि परेको पोख्रेलले बताउनुभयो  ।  

गुल्मीका १२ पालिकामध्ये धुर्कोट गाउँपालिका खरको छानामुक्त घर भएको पालिका घोषणा गर्ने पहिलो बनेको छ । यस पालिकामा अहिलेसम्म सुरक्षित आवास कार्यक्रम अन्र्तगत गाउँपालिका, सङ्घीय सरकार र प्रदेश सरकारबाट ६ सय ९८ र भूकम्पपछि निजी आवास पुनर्निर्माण अन्तर्गत निर्माण गरिएका पाँच सय ४७ गरी जम्मा १२ सय ४५ घरमा जस्तापाता लगाइएको धुर्कोट गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार ती घरका खरका छाना विस्थापित गर्नका लागि पालिका, प्रदेश र सङ्घीय सरकारबाट १९ करोड २९ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ । 

पालिकाले आयोजना गरेको एक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले धुर्कोट गाउँपालिकालाई खरको छानामुक्त पालिका घोषणा गर्नुभएको थियो । घोषणा कार्यक्रममा बोल्दै समन्वय समितिका प्रमुख पराजुलीले जनताले पालिका सरकारसँग ठूलो आशा र भरोसा गरेको भन्दै त्यसलाई कायम राख्दै यसै गरी खुसी बाँड्दै र साट्दै जानुपर्ने बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया