१२ वर्षपछि धाैलिगाड खानेपानी आयाेजना टेन्डरमा गयाे, जुम्लामा खुसीयाली

 असार ३०, २०७८ बुधबार १५:५१:६ | नेत्र शाही
unn.prixa.net

धाैलिगाड खानेपानी आयाेजनाकाे टेन्डर आह्वान गरिँदै

जुम्ला – हिमाली क्षेत्रको सबैभन्दा ठूलो खानेपानी आयोजना धाैलिगाड टेन्डरमा गएको छ । लामो प्रयासपछि विद्युतीय खरिद प्रणालीबाट आयोजनाको टेन्डर आह्वान गरिएको हो । जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकाको समन्वयमा टेन्डर आह्वान गरिएको सङ्घीय खानेपानी आयोजनाले जानकारी दिएको छ । 

चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकाका गरी आठ हजार दुई सय ९२ धारा बनाउने आयोजनाका लागि एक अर्ब २६ करोड आठ लाख रुपैयाँमा टेन्डर आह्वान गरिएको आयोजना प्रमुख महेश न्यौपानेले जानकारी दिनुभयो । 

जुम्ला सदरमुकाममा खानेपानी अभाव भइरहेको समयमा चन्दननाथसहित तीन पालिकाका तीन पालिकाका ४४ हजारभन्दा धेरै जनसङ्ख्या लाभान्वित हुनेछन् । 

झन्डै १२ वर्षपछि आयोजना टेन्डरमा गएपछि जिल्लावासीमा खुसीयाली छाएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले जुम्ली जनताको ठूलो सपना धाैलिगाड खानेपानी आयोजना टेन्डरमा गएपछि निकै ठूलो फाइदा भएको बताउनुभयो । उहाँले यो आयोजनामा सहयोग गर्ने पालिका सरकारसहित सबैलाई धन्यवाद दिनुभयो ।  

२०६६ सालमा स्थानीयवासी राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समिति हुँदै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको नेतृत्वमा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, तातोपानी गाउँपालिका अध्यक्ष तदर्थ समितिको पहल र जनप्रतिनिधि, नेपाल सरकार र सरोकारवाला निकायको सहयोगमा आयोजना टेन्डरमा जान सफल भएको हो ।

आयोजनाको परिकल्पना भने कर्णाली सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले गर्नुभएको थियो । पूर्वमन्त्री भण्डारी पहिलो संविधान सभाको सदस्य हुँदादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै धौलिगाडको कल्पना गरिएको थियो । 

विभिन्न कारणले झन्डै मरिसकेको आयोजनाले ओली सरकारको पालामा भने मूर्त रूप पाएको थियो । आयोजनाको पहल गर्न मन्त्री भण्डारीसँगै पूर्वराज्यमन्त्री बलबहादुर महत, राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, भूमि व्यवस्था आयोग जुम्लाका अध्यक्ष धीरेन्द्रराज गिरीसहित थुप्रैले पहल गरेको समन्वय उपप्रमुख बुढाले जानकारी दिनुभयो । आयोजना झन्डै चार हजार मिटर उचाइमा रहेको र हिउँ जम्ने ठाउँमा मूल भएकाले सुरक्षित ल्याउन आधुनिक प्रविधिका सामग्री प्रयोग गरिने आयोजनाले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया