गुल्मी दरबार गाउँपालिका अध्यक्ष थापाको निधन

 असार ३१, २०७८ बिहिबार १८:९:३६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ । थापाको उपचारका क्रममा बिहीवार बिहान ८ बजे काठमाण्डौको वीरेन्द्र प्रहरी अस्पतालमा निधन भएको गुल्मी दरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभएको छ । 

लामो समयदेखि फोक्सोमा समस्या देखिएपछि गएको चार महिनादेखि थापाको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको थियो । राजनीतिमा सरल स्वभाव र इमानदार छवि बनाउनुभएका थापाको निधनले सिङ्गो गाउँपालिका र जिल्ला शोकमग्न बनेको छ । 

थापाको शवलाई आजै काठमाण्डौबाट गुल्मी ल्याइने र शुक्रवार बिहान वीपी स्मृति भवन तम्घासमा रहेको पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिइने नेपाली कांग्रेस गुल्मीका उपसभापति विष्णुप्रसाद बलालले जानकारी दिनुभएको छ । थापा नेपाली कांग्रेसको तर्फबाट पालिकाको चुनावमा गाउँपालिका अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । 

उहाँको निधनबाट पार्टीले एक असल र स्वच्छ छवि भएका व्यक्ति गुमाउनुपरेको र पार्टी लाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले बताउनुभएको छ । थापा नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पनि हुनुहुन्थ्यो ।

सुखी र समृद्ध गाउँपालिका निर्माणका लागि आवश्यक नीति निर्माण गरी सुशासन र भ्रष्टाचारविरुद्ध नीति अवलम्बन गर्दै कर्मचारीहरुलाई उत्प्रेरित गराउन थापा सफल हुनुहुन्थ्यो ।

सादगी जीवन, नागरिकप्रति उत्तरदायी भइ नागरिकको सेवामा समर्पित हुँदै समृद्ध गाउँपालिका बनाउने उहाँको अभियानलाई सफल बनाउन सकेमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने गाउँपालिका उपाध्यक्ष मीना भण्डारीले बताउनुभएको छ ।   

अन्तिम अपडेट: चैत १५, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया