मेलम्ची बजारलाई पुरानै अवस्थामा ल्याउन स्थानीयबासिन्दा सक्रिय

 साउन १, २०७८ शुक्रबार ११:५१:४१ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक - असार १ मा आएको बाढीले मेलम्ची र आसपासका करिब एक सय ८० घरपरिवार विस्थापित भएर सामुदायिक विद्यालय र डेरामा बसोबास गर्दै आएका छन् । यस्तै हेलम्बुमा पनि सयौँ बासिन्दा विस्थापित छन् । 

बाढी पीडितलाई तत्काल अस्थायी आवासको व्यवस्था मिलाउने, सडक सञ्जाल जोड्न बेलिब्रिज राख्ने र खेतीयोग्य जमिनको कटान रोक्न तारजाली उपलब्ध गराउने आश्वासन प्रभावितले नपाएका पनि होइनन् । तर, आश्वासन कहिले पूरा हुन्छ भन्ने टुङ्गो छैन ।

 

बितेका वर्षमा जुरे, लिदी र जम्बु पहिरोमा जस्तै योजनाबिनाका आश्वासनकै भर पर्नुपर्ने त होइन भन्ने चिन्ता प्रभावितहरूमा छ । त्यसैले मेलम्ची बजारका बासिन्दाले ५० जनाको सरोकार समिति गठन गरेर बाढीले थुपारेको पाँगो माटो र बालुवा हटाउने काम थालेका छन् । स्थानीय सरकारले पनि प्रभावकारी काम गर्न नसकेकाले बजार बचाउन आफैँ लागि परेको स्थानीय रञ्जितकुमार श्रेष्ठले बताउनुभयो । 

बाढीबाट विस्थापितहरू आफ्नो भएको र बचेको जायजेथा खोज्न अहिले दिनैपिच्छे मेलम्चीको बगरमा भेटिन्छन् । उनीहरू बिहानैदेखि कोदालो, साबेल र खन्ती बोकेर बालुवाले पुरेको सरसामान झिक्ने प्रयासमा हुन्छन् । उनीहरूले नगरपालिकालाई बालुवा पन्छाउन माग गरिरहेका छन् । तर मेलम्ची नगरपालिकाले प्रभावकारी रुपमा काम नगरेको भन्दै स्थानीय बासिन्दाले आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै आंशिक रुपमा पुरिएका घर र त्यहाँ भएका सामान निकाल्न लागेका छन् ।

स्थानीय सरोकार समितिका अगुवा सागर श्रेष्ठले मेलम्चीवासीले सधैँका लागि आफ्नो ठाउँ छाड्ने मनस्थिति नबनाएको बताउनुभयो । बचेका घरलाई सुरक्षा दिन दिनरात नभनी आफैँ लागि परेको उहाँको भनाइ छ । उहाँका अनुसार बजार बचाउन नदीमा ७ वटा मेसिन लगाइएको छ । स्थानीय सरकारले तदारुकता नदेखाएकाले बजार जोगाउन आफैँ लागि परेको उहाँले बताउनुभयो ।

तत्काल र दीर्घकालीन योजनाबिना काम गर्दा पैसा मात्र खर्च हुने मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले बताउनुभयो । नगरपालिकाले स्थापना गरेको उद्धार तथा पुनःस्थापना कोषमा ४ करोडभन्दा बढी रकम जम्मा भइसकेको पनि उहाँले जानकारी दिनुभयो । जतिसक्दो छिटो योजनाबद्ध तरिकाले प्रभावितलाई पुनर्स्थापना गर्ने उहाँको भनाइ छ । तर मेलम्चीका बासिन्दा सकभर आफू बसेको ठाउँ छाड्न नपरे हुन्थ्यो भन्ने मनस्थितिमा छन् ।

मेलम्चीलाई व्यापार, उद्यम र रोजगारीसँग मात्र जोड्न नहुने स्थानीयको भनाइ छ। मेलम्चीको सभ्यता विशाल छ । यो पाँचपोखरी, गोसाइँकुण्ड, लाङटाङ, पाल्चोक, हेलम्बुसँग र तिम्बुसँग गाँसिएको छ । एक त यी सबै ठाउँको प्रवेशद्वार पनि मेलम्ची हो । त्यसैले मेलम्चीलाई पुरानै अवस्थामा फर्काउनु तत्कालीन आवश्यकता पनि हो ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया