चक्लाबन्दी खेतीले ल्याएको परिवर्तन

 साउन ८, २०७८ शुक्रबार ८:४८:४२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनको माडी नगरपालिका वडा नम्बर ८ को कान्तिपुर गन्धर्व (गायक) समुदायको बस्ती हो । विकट बस्ती भएका कारण नयाँ मान्छे आक्कलझुक्कल मात्र पुग्ने गाउँ अहिले कृषि पर्यटन क्षेत्रको रुपमा विकास भएको छ।

यहाँ दुई वर्ष अघिसम्म खेतबारीको नमिलेका पाटा कतै बाँझै देखिन्थ्यो त कतै अव्यवस्थित खेती हुन्थ्यो । अहिले त्यही खेतबारी रहरलाग्दा ठूला पाटा बन्ने गरेका छन् । कृषिका आधुनिक मेसिनले खेती गर्न सजिलो भएको छ । पहिले यातायातको सहज पहुँच नभएकाले उत्पादन भएका सामग्रीलाई बजारसम्म पुग्न सकस थियो । तर अहिले गाउँमै भण्डारण गर्ने ठाउँ र बजारको स्राेतकेन्द्र समेत बनेको छ ।  

टुक्राटुक्रा जमिनमा खेती गर्नुभन्दा सामूहिक रुपमा खेती गर्न सक्दा किसानको घर र गाउँमा राम्रो परिवर्तन देखिँदो रहेछ भन्ने बलियो उदाहरण माडीमा देखिएको छ ।  चितवनको माडी नगरपालिकामा सुरु भएको सामूहिक खेती कृषि पर्यटन नमुना केन्द्र बन्दै गएको छ । सामूहिक रुपमा चक्लाबन्दी खेती सुरु गरिएपछि गाउँको मुहार नै फेरिएको छ ।

माडी नगरपालिका वडा नम्बर ८ कान्तिपुरमा स्थानीय ८६ घरपरिवारको साझा अभियानमा सुरु भएको चक्लाबन्दी खेतीले उनीहरुको दैनिकी नै फेरिदिएको हो । स्थानीय ८६ किसानका एक सय बिघा जग्गा भाडामा लिएर सूर्याेदय सहकारी संस्था गठन गरी सामूहिक खेती गरिएको सामूहिक खेतीका अभियन्ता शिवजी गायक बताउनुहुन्छ ।

‘स्थानीय ८६ घरपरिवारको जग्गालाई सहकारी मार्फत भाडामा लिएर सामूहिक खेती गरेका छौँ’ गायकले भन्नुभयो ‘एक सय बिघा जमिनलाई चक्लाबन्दी गरी खेती गरिँदा गाउँको मुहार नै फेरिएको छ ।’ अन्नबाली, माछा, तरकारी, पशुपालन र कृषि पर्यटन गरी पाँच वटा क्षेत्रलाई विकास गर्ने  गरी यो क्षेत्रमा काम भइरहेको गायकले जानकारी दिनुभयो ।

हरेक किसानलाई वार्षिक रुपमा एक कट्ठाको एक मुरी धान दिने सहमतिमा १५ वर्षका लागि जमिन भाडामा लिएर खेती सुरु गरिएको हो । आधुनिक कृषि प्रविधिको प्रयोग गरेर अन्नबाली, माछा, पशु, तरकारी र कृषि पर्यटनलाई प्राथमिकतामा राखिएको छ ।

‘यो क्षेत्रमा आउने पर्यटकलाई गन्धर्व समुदायको संस्कृति देखाउन व्यवस्थित हल बनाएका छौँ’ गायकले भन्नुभयो, ‘आउने पर्यटकलाई बास बस्नका लागि ५० वटा घर पनि बनाएका छौँ ।’ ३ वटा कोठा रहेका हरेक घरमा एउटा कोठा पाहुनालाई प्रयोग गर्ने र बाँकी दुई कोठा स्थानीय आफैँले प्रयोग गर्न पाउने गायकले जानकारी दिनुभयो ।

२०७६ साल जेठदेखि सुरु गरिएको चक्लाबन्दी खेतीबाट भएको  आम्दानीपछि बचत भएको रकम समेत जमिन उपलब्ध गराउने किसानलाई शेयर सदस्य बनाएर वितरण गरिने लक्ष्य राखिएको छ । कृषिलाई व्यावसायिक रुपमा बढाउन यो सामूहिक खेती प्रभावकारी बनेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल बताउनुहुन्छ । ‘माडीको सामूहिक खेती सबैको लागि नमुना बनेको छ’ ढकालले भन्नुभयो, ‘देशका लागि त नमुना नै हो विदेशबाट समेत यो अवधारणा हेर्न आउनेकाे क्रम बढेको छ ।’ 

वाग्मती प्रदेश सरकारले सिन्धुलीको दूधौली र चितवनको माडीमा चक्लाबन्दी गरी खेती गरिने सामूहिक खेतीको अवधारणा अनुसार काम गरेको जानकारी दिँदै ढकालले यो अवधारणाले कृषिमा प्रविधिको उच्चतम प्रयोग गरी व्यावसायिक रुपमा अगाडि बढाउन मोडल बनेको बताउनुभयो । 

कम खर्चमा धेरै उत्पादन गर्न सकिने भएकाले चक्लाबन्दी गरी खेतीमा किसानको आकर्षण बढेको छ । एक सय बिघा जमिनमध्ये ५० बिघा क्षेत्रमा धान मकै गहुँ खेती, २५ बिघा क्षेत्रमा माछा पोखरी र २५ बिघा क्षेत्रमा पशुपक्षी र तरकारीका लागि छुट्याइएको छ । 

माडी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष कृष्णराज अधिकारीले माडीमा सामूहिक खेतीले स्थानीय बासिन्दामा परिवर्तन आएको बताउनुहुन्छ । साँधमा आँठा सिमानामा विवाद हुने क्षेत्रमा चक्लाबन्दी गर्दै सामूहिक खेतीले ल्याएको परिवर्तन मोडल बनेको उहाँले बताउनुभयो । ‘सामूहिक खेतीले स्थानीयमा  जागरण ल्याएको छ’ उहाँले भन्नुभयो ‘आफ्नो क्षेत्रमा नयाँ शैलीमा खेती र त्यही खेतीमार्फत पर्यटनको विकासमा किसानको सक्रियता प्रभावकारी देखिएको छ ।’ 

अन्तिम अपडेट: असोज ४, २०७८

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया