‘लाेकतान्त्रिक शक्ति सत्तामा आइरहे पनि भ्रष्टाचारले देश डुबाइसकेकाे छ’

 साउन ८, २०७८ शुक्रबार १७:४५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेकाे माधव नेपाल पक्षकी नेत्री अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरू नेतृत्वमा आइरहे पनि नागरिकहरू जहिल्यै भ्रष्टाचारको शिकार बनेको र प्रताडित भइरहेको बताउनुभएको छ ।

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा नेत्री शाक्यले यस्तो बताउनुभएको हो । उहाँले लोकतान्त्रिक शक्ति सत्तामा आउँदाको यो बेलामा भ्रष्टाचारले देशलाई डुबाइसकेको बताउनुभयो । 

पटक–पटक दलका सरकार आए पनि कहिल्यै भ्रष्टाचारको बारेमा छलफल नभएको बताउँदै नेत्री शाक्यले यी कुरामा छलफल गरेर नागरिकका समस्या समाधान गर्नुपर्ने र उनीहरूकाे सुरक्षा र हकहितका बारेमा छलफल गर्नुपर्ने बताउनुभयो । साथै नेत्री शाक्यले सिर्जनशील युवालाई किन बाँदर बनाएर सडकमा ल्याउनुभएको भन्दै प्रश्न गर्नुभएको छ ? उहाँले कम्युनिस्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको समेत बताउनुभएको छ ।

नेत्री शाक्यले भन्नुभयो, ‘लोकतान्त्रिक शक्तिहरू नेतृत्वमा आइरहेको बेलामा नागरिक जहिल्यै पनि भ्रष्टाचारको शिकार बन्ने, प्रताडित हुने र अहिले पनि भ्रष्टाचारले देशलाई डुबाइसकेको छ । पटक–पटक सरकार फेरिए तर कहिल्यै भ्रष्टाचारको विषयमा छलफल भएन, त्यसलाई कसरी निर्मूल गर्ने भन्नेबारेमा छलफल भएन, त्यसैले यो विषय बनाउने कि नबनाउने, सुशासन कायम गर्ने कि नगर्ने ? नागरिकलाई सेवा दिने कि नदिने ? यी बारेमा पनि गम्भीर विषय बनाएर छलफल हुनुपर्छ । नागरिककाे सुरक्षा र हकहितका विषयमा छलफल गर्नुपर्छ, सिर्जनशील युवालाई बाँदर बनाएर सडकमा किन ल्याउनुभएको हो ? यसले कम्युनिस्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको छ ।’ 

नेत्री शाक्यले अब कम्युनिस्ट पार्टीभित्र यी तमाम विषयको छलफल हुनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया