सुजिता भण्डारी मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आराेपमा एक जना पक्राउ

 साउन ८, २०७८ शुक्रबार १९:१:४७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले उनका नाताभित्र पर्ने सुकदेव भण्डारीलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको छ । गएको असार ६ गते सुजिताकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा उजुरी दिनुभएको थियो । पीडित पक्षको जाहेरीपछि प्रहरीले सुकदेवलाई काठमाण्डौबाट पक्राउ गरेको हो । 

हिजो बिहीवार पक्राउ परेका सुकदेवमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख ओमप्रसाद अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सुजिता र सुकदेव नाताले दाजु–बहिनी पर्ने भए पनि लामो समयदेखि प्रेम सम्बन्धमा रहेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले बताएको छ । 

चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारी गएको असार ११ गते बिहान ६ बजे साथीको घरमा तरकारी लिन भनी घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । हराएकी सुजिताको शव असार २० गते घर नजिकै रहेको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको थियो । 

सुरुमा परिवारले आफ्नो छोरी अपहरणमा परेको बताउँदै प्रहरीमा उजुरी दिएको थियो । शव भेटिएपछि हत्याको शङ्का गरी प्रहरीमा उजुरी दिएको परिवारले पछि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएको हो ।
दुई जनाको सम्बन्धका बारेमा परिवार पनि जानकार भएको र धेरै पटक परिवारले सचेतसमेत गराएका देखिएको प्रहरीले बताएको छ । सुकदेव र सुजिता काठमाण्डौ गइ एक साथ बस्ने योजनामा रहेको खुलेको र चितवनबाट दिदीको घर काठमाण्डौ जान्छु भनेकी सुजिता केही समय दिदीकोमा बसेर सुकदेवलाई तुरुन्त कोठा खोज्न दबाब दिएको खुलेको देखिएको छ । सुकदेवले कोठा खोजेर उनीहरू दुवै जना सँगै बसेको समेत अनुसन्धानका क्रममा  देखिएको घटनाका प्रमुख अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक (डीएसपी) ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । 

लामो समय एकअर्कासँग बसेपछि सुजिताले सुकदेवलाई विवाह गर्न दबाब दिएको पनि अनुसन्धानमा खुलेको छ । विवाह गर्न सामाजिक तथा नैतिक कठिनाइ हुने भएपछि सम्भव भएसम्म विदेश जाने उनीहरूको योजना थियो । तर सम्भव नभए एकआपसमा अपहरणमा परेको बहाना बनाइ कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएको देखिएको रानाले बताउनुभयो । 

असार ९ गते सुजिताले सुकदेवलाई विवाह गर्न प्रस्ताव गरेपछि त्यही विषयमा दुई जनाबीच विवाद भएको देखिन्छ । विवाह नगरे सुजिताले मर्ने धम्की दिएको र सुकेवले जे–सुकै गर्नु भनेको विषय अनुसन्धानका क्रममा भेटिएको प्रहरीले बताएको छ । त्यसपछि दुई जनाबीच सम्पर्क नभएको पाइएको रानाले बताउनुभयो । 

सुजिताकी दिदी कविताले प्रहरीलाई दिएको जानकारी अनुसार असार १० गते राति कवितासहित बहिनी सुजिता र भाइ एउटै कोठामा सुतेका थिए । सुजिता भोलि बिहान उठेर कसैलाई थाहा नदिइ घरबाट निस्किएकी थिइन् । घरबाट बिहानै निस्किएकी सुजिताले केही बेरपछि दिदीलाई फोन गरेकी थिइन् ।

कविताको मोबाइल चार्जमा राखेकाले फोन उठेन । कविताको मोबाइलमा ६–७ पटकसम्म घण्टी बजेको थियो । केहीबेरमा बहिनीको मिस्डकल देखेपछि कविताले सुजितालाई फोन गरेकी थिइन् । कविताले फोन गरेपछि सुजिताले आफू अपहरणमा परेको र आफ्नो आँखामा पट्टी बाँधिएको, स्प्रे छर्किएको भनेर भनिन् । 

बहिनीले अपरणमा परेको भनेपछि त्यही दिन कविताले इलाका प्रहरी कार्यालय टाँडीमा टेलीफोनमार्फत घटनाको बारेमा जानकारी दिएकी थिइन् । त्यही दिन कविताले लिखित जाहेरीसमेत दिएकी थिइन् । जाहेरीपछि इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी ईन्द्रबहादुर रानाको नेतृत्वमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 

खोजीका क्रममा असार ११ गते हराएकी सुजिताको शव २० गते आइतबार दिउँसो ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको थियो । प्रहरीले शवसँगै पतेरा मार्न प्रयोग हुने विषादीको बोतल र झोला फेला र उनले प्रयोग गर्ने गरेको मोबाइल फेला पारेको थियो । असार २१ गते प्रहरीले शव पोस्टमार्टमका लागि काठमाण्डौको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल पठाएको थियो ।

पोस्टमार्टममा सुजिताको शरीरमा कुनै पनि चोट नदेखिएपछि प्रहरीको अनुसन्धान आत्महत्यातर्फ मोडियो । पोस्टमार्टममा केही नदेखिएपछि प्रहरीले भिसेरा परीक्षणका लागि खुमलटार पठाएको थियो । भिसेराको रिपोर्ट आउन बाँकी छ । 

सुजिताको साउन ४ गते देवघाटमा अन्त्येष्टि गरिएको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया