डाक्टर, नर्स र औषधिकाे व्यवस्था गरेर परीक्षा सञ्चालन गर्न निर्देशन : खाेपमा पनि जाेड

 साउन १३, २०७८ बुधबार १६:५२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । समितिको आज बुधवार बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’  विषयक छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । 

समिति सभापति जयपुरी घर्तीले परीक्षा केन्द्रमा डाक्टर, नर्स र औषधिको व्यवस्था गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्छ भन्नुभयो । ‘परीक्षार्थीलाई महामारीबाट जोगाउन जनस्वास्थ्यसम्बन्धी मापदण्ड लागू गरी परीक्षा सञ्चालन गर्नुपर्दछ’, उहाँले भन्नुभयो, ‘सङ्क्रमितलाई छुट्टै कक्षा कोठा व्यवस्था गरिनुपर्दछ ।’

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्ने भएको छ ।  चार लाख परीक्षार्थीले चार हजार तीन सय ३५ परीक्षा केन्द्रबाट झन्डै ९० विषयको परीक्षा दिँदैछन् ।

समिति सदस्य गिरिराजमणि पोखरेलले भौतिक उपस्थितिमा परीक्षा सञ्चालनका लागि शिक्षक र विद्यार्थीलाई खोप उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयले आफैँ आन्तरिक मूल्याङ्कन गरेर पठाउने क्रममा अनियमितता गरेकाले कार्यविधि परिवर्तन गरिनुपर्नेमा सुझाव दिनुभयो ।    

समिति सदस्य विद्या भट्टराईले विद्यार्थीलाई भिडभाड नगरिकन परीक्षा दिन पाउने वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले परीक्षा केन्द्रित पढाइ भएकाले पठनपाठन शैलीमा परिवर्तन गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।

अर्का समिति सदस्य मानबहादुर विकले एकै दिन एउटा मात्र परीक्षा गर्ने गरी तालिका बनाउन आग्रह गर्नुभयो । अर्का सदस्य मनकुमारी जिसी, अन्जना विशङ्खेलगायतले पनि विद्यार्थीलाई सङ्क्रमणबाट बचाउन सकिने गरी परीक्षा सञ्चालन गर्न सुझाव दिनुभयो । 

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समितिले दिएको सुझावअनुसार परीक्षा सञ्चालन गरिने  बताउनुभयो । उहाँले ‘भर्चुअल’ विधिबाट पढाइ भए पनि दुर्गम क्षेत्रमा इन्टरनेटको समस्याका कारण प्रभावकारी हुन नसकेको बताउनुभयो । 

सङ्क्रमित विद्यार्थीले पछि परीक्षा दिन पाउने

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन छुट्टै होम सेन्टरको व्यवस्था गरिएको र अहिलेको परीक्षामा सहभागी हुन नसकेका सङ्क्रमित विद्यार्थीले पछि पनि परीक्षा दिने पाउने जानकारी दिनुभयो । ‘सङ्क्रमित भएर पनि परीक्षामा सहभागी हुन सक्ने परीक्षार्थीलाई अलग्गै कक्षा कोठाको व्यवस्था गरेका छाैँ’, उहाँले भन्नुभयो, ‘ती विद्यार्थी परीक्षा सुरु भएको आधा घण्टापछि परीक्षा केन्द्रमा प्रवेश गर्नेछन् । अन्य विद्यार्थीको सकिएको आधा घण्टाको समयसम्म परीक्षा दिन पाउने छन् ।’ बोर्डले दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालयको परीक्षा केन्द्र दुई वटा हुने जनाएको छ । 

सदस्य सचिव अर्यालका अनुसार झन्डै चार लाख विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदैछन् । पच्चीस विद्यार्थी भएका विद्यालय एक हजार एक सय, २६ देखि ५० परीक्षार्थी भएका विद्यालय दुई हजार तीन सय, ५१ देखि एक सयसम्म परीक्षार्थी भएका विद्यालय दुई हजार चार सय छन् भने पाँच सय परीक्षार्थी भएका विद्यालय कमै मात्र छन् ।  

प्रश्नपत्र अनलाइन र हाते प्रश्नपत्र

बोर्डले परीक्षाका लागि अनलाइनबाट पनि प्रश्नपत्र पठाउने भएको छ । नब्बे प्रतिशत विद्यालयमा अनलाइनबाट र अन्य विद्यालयमा हाते प्रश्नपत्र पठाइने भएको छ ।

हाते प्रश्नपत्र र अनलाइनबाट पठाइएका प्रश्नपत्र भने फरक–फरक हुनेछन् । गएकाे वर्ष ४० पूर्णाङ्कको मात्र परीक्षा  भएकाेमा यस पटक १०० अङ्ककाे हुने भएको छ ।  

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया