मनाङ : मर्स्याङ्दी नदी मूलधारमा बग्न थाल्यो, जोखिम घट्याे

 साउन १४, २०७८ बिहिबार २०:४२:५८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मनाङकाे मर्स्याङ्दी नदी मूलधारमा बग्न थालेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गुल्म नं ३२ र स्थानीयवासीको सक्रियतामा बेलिब्रिजमा अड्किएका मुढा, काठपात हटाएसँगै मर्स्याङ्दी नदी अहिले मूलधारमा बग्न थालेको छ ।

नदी मूलधारमा बग्न थालेसँगै सम्भावित जोखिम कम हुँदै गएको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभयो ।

गएको असार १ गतेदेखि आएको बाढीका कारण चामे गाउँपालिकाकाे बेलिब्रिजमा काठपात, मुढा आएर थुप्रिँदा नदी मूल प्रवाहमा बग्न नसक्दा र नदीले दायाँ–बायाँ कटान गरेको थियो ।

‘सबैको लामो समयको प्रयासपछि बल्ल आज नदीलाई मूल धारमा बगाउन सफल भएका छौँ । यो सुखद खबर हो’, उहाँले भन्नुभयो, ‘बेलिब्रिजमा रहेका काठपात, मुढा हटाएका छौँ । नदी मूल धारमा बग्न थालेको छ । जोखिम कम भएको छ ।’

चामे गाउँपालिका ४, चामे गाउँपालिका ५ र माथिल्लो मनाङ ङिस्याङ जोड्ने यस बेलिब्रिज पुलका काठपात हटाएसँगै अब गाडी सञ्चालन र स्थानीयवासीलाई आवतजावतमा सहज हुने प्रजिअ लामिछानेले जानकारी दिनुभयो ।  

बेलिब्रिजमा रहेका काठपात हटाउन एक्स्काभेटरसमेत प्रयाेग गरिएको सशस्त्र प्रहरी बल गुल्म नं ३२ मनाङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) होमनाथ पन्थीले बताउनुभयो । बेलिब्रिजमा काठपात, मुढा थुप्रिँदा पानीको बहाव रोकिँदा लोकप्रिय मावि, तातोपानी कुण्ड लगायतका विभिन्न भौतिक संरचनामा क्षति पुर्‍याएकाे पनि डीएसपी पन्थीले बताउनुभयो ।

रोकिएको नदीको बहावलाई मूल धारमा बगाउन सफल भएसँगै अब सम्भावित बाढीको जोखिम कम भएको उहाँले बताउनुभयो ।

मनाङमा मनसुनजन्य गतिविधिबाट १६ वटा झोलुङ्गे पुल, नाै वटा काठेपुल, तीन वटा पक्की पुल, पाँच वटा लघु जलिवद्युत् आयोजनामा क्षति पुर्‍याउनुका साथै बाढीबाट एक हजार जना विस्थापित भएका प्रजिअ लामिछानेले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया