पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्ड जीर्ण हुँदा यात्रुलाई सास्ती

 साउन १५, २०७८ शुक्रबार १३:१४:५३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुर खण्ड जीर्ण हुँदा यस मार्ग भएर यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ । राजमार्गमा ठूलाठूला खाडल परेकाले यात्रा गर्न कठिन हुने गरेको छ । राजमार्गमा भएका खाडलले दुर्घटनाको जोखिम समेत बढाएको छ ।

पूर्व-पश्चिम राजमार्ग विस्तारको योजना अनुसार अहिले नारायणगढ –बुटवल खण्ड विस्तारको क्रममा रहेको छ । चार लेनको सडकका रुपमा विस्तारको काम चलिरहेको छ । सडक विस्तारको काम चिनियाँ कम्पनीले गरिरहेको छ । राजमार्ग विस्तारको ठेक्का सम्झौता भएपछि मुख्य राजमार्ग मर्मतको काम रोकिएको हो ।

ठेक्का सम्झौताअघि राजमार्ग मर्मतको काम सडक  विभागले गर्दै आएकोमा सम्झौतापछि विभागले मर्मत गर्न छाडेको र चिनियाँ कम्पनीले समेत आफ्नो योजना अनुसारको मात्रै काम गर्दा राजमार्ग जीर्ण बनेको हो।

लामो समयदेखि नवलपुर खण्डमा राजमार्ग मर्मतको काम हुन सकेको छैन् । जसले गर्दा खाल्डाखुल्डीले राजमार्ग  जीर्ण बनेको छ । नवलपुरका मुख्य बजार क्षेत्र गैँडाकोट, कावासोती, चोरमारा, अरुणखोला,दुम्किबासमा जीर्ण सडकका कारण वर्षामा हिलो र हिउँदमा धुलोले जनजीवन समेत प्रभावित हुने गरेको छ । 

सडक जीर्ण भएकाले धुलोले व्यापार व्यवसायमा समेत असर गरेको व्यवसायी मदन अर्यालले बताउनुभयो । राजमार्ग जीर्ण हुँदा राजमार्ग आसपासका स्थानीयलाई समेत धुलोले समस्या पारेको छ । राजमार्ग जीर्ण भएकाले सास्ती खेप्नुपरेको भन्दै केही समयअघि दुम्किबासका स्थानीयले राजमार्ग नै बन्द गरेका थिए । राजमार्ग बन्द गरेपछि सडक विस्तारको जिम्मा पाएको ठेकेदार कम्पनीले बजार क्षेत्रमा मर्मतको काम गरेको थियो । सामान्य रुपमा मर्मत गरेकाले अहिले यस क्षेत्रमा पुनः ठूलाठूला खाडल परेका छन् ।

राजमार्ग विस्तारका क्रममा विभिन्न ठाउँमा सानासाना पुल निर्माणको क्रममा रहेका छन् । ती क्षेत्रमा डाइभर्सन निर्माण गरिएको छ । पानी पर्दा आउने बाढीले डाइभर्सनमा क्षति पुर्याउँदा यातायात सञ्चालननै ठप्प हुने गरेको छ ।

गएको असार महिनाभित्रनै पुलहरु निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि कामले गति नलिँदा पुलहरु निर्माणको काम सकिएको छैन । यसकारण डाइभर्सनबाट यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यसले समेत यात्रा गर्दा कठिन हुने गरेको छ ।

राजमार्गमा परेका खाडलहरु पुर्न आफूहरुले ताकेता गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख नारायण थापाले बताउनुभयो ।  केही ठाउँमा ठूलाठूला ढुङ्गा भएको माटो हालिएको छ । यसले झन् दुर्घटनाको जोखिम बढाएको ट्राफिक प्रमुख थापाले बताउनुभयो । ‘सडकमा ठूला खाडल हुँदा जोखिम त बढेकै छ, खाडलहरुलाई राम्रोसँग नपुर्दा अर्को जोखिम छ’ थापाले भन्नुभयो– राम्रोसँग मर्मत गर्न हामीहरुले ताकेता गरिरहेका छौँ ।'

सडक विस्तारको ठेक्का लिएको चिनियाँ कम्पनीलाई डाइभर्सन बनाउनदेखि सडकको खाल्डो पुर्न ताकेता गरेको ट्राफिक प्रमुख थापाले बताउनुभयो । डाइभर्सन भएको ठाउँमा भन्दा पनि कालोपत्रे रहेको अन्य ठाउँका सडकको अवस्था बिग्रिएको छ ।

नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका प्रमुख रमेशकुमार दृष्टिले अहिले वर्षाको समय भएकाले मर्मतमा समेत समस्या भएको बताउनुभयो । तर पनि अहिले ग्राबेलले खाडहरु पुर्ने र वर्षा रोकिएपछि कालोपत्रे गर्न ठेकेदार पक्षलाई निर्देशन दिएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत ६, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया