मेलम्ची बाढी : खाद्यान्न लिन ८ घण्टा हिँड्नुपर्ने बाध्यता

 साउन २२, २०७८ शुक्रबार १२:३३:८ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – मेलम्ची खोलामा आएको बाढीले स्थानीयमा अनेकौं समस्या थपिएका छन् । बाढीका कारण सडक सञ्जाल, विद्युत सेवा र टेलीफोन सम्पर्कबाट स्थानीय वञ्चित हुन थालेका छन् ।

हेलम्बुको हिमाली बस्ती मेलम्ची घ्याङ, तार्के घ्याङ, नाकोते जस्ता ठाउँहरु सडक, विद्युत तथा सञ्चारबाट पूर्णरुपमा विच्छेद भएका छन् । मेलम्ची घ्याङका स्थानीयलाई खाद्यान्न र औषधि लानै समस्या भएको छ । हेलिकप्टर आउँदा राहतको सास फेरे पनि बाढी आउँदा मन कहालिएर आउने हेलम्बुका बाढी प्रभावितहरु बताँउछन् । 

असार १ गते आएको बाढीले हेलम्बु देखि मेलम्ची  र तटीय क्षेत्र लेदोले पुरेको थियोे । तर साउन १६ गते शनिबार राति आएको बाढीले कटान थालेपछि नदी किनार आसपासका स्थानीयमा समस्या आइपरेको छ ।
असार १ गतेको बाढीले बचेको हेलम्बुको एतिहासिक चनौटे बजारको रातो पुल, चनौटे बजार, ग्याल्थुम बजार, तालामाराङ मेलम्चीमा केही क्षति पुर्याएको थियो । तर साउन १६ गतेको बाढीले भने ती सबै ठाउँमा पूर्ण क्षति पुर्याएको छ । 

बाढीको वितण्डा र वर्षातको समय भएकोले हिमाली बस्तीका स्थानीय एक गाउँबाट अर्को गाउँसम्म समेत जान सक्ने अवस्था छैन । मेलम्ची घ्याङ भने सबै सेवा सुविधाबाट पूर्णरुपले वञ्चित बनेको छ । 

सडक निर्माण प्रमुख आवश्यकता

अहिले हेलम्बुमा राहत सामाग्री लिएर जानसमेत समस्या भइरहेको छ । पुल र सडक नहुँदा बिरामी तथा सुत्केरी व्यथा लागेकालाई अस्पताल लैजान समस्या हुन थालेको छ । हेलिकप्टरबाट राहत नआए मेलम्ची बजारदेखि दैनिक ७/८ घण्टा बोकेर सामान ल्याउनुपर्ने बाध्यता छ । 

‘असार अघि एक दुई बोरा चामल जोहो गरेको राखेको थियौ त्यो पनि सकिन थाल्यो यातायातको सेवा छैन पुल सडक जताततै भत्किएको छ’, स्थानीय साङ्गनोर्बु शेर्पाले भन्नुभयो, ‘चनौटे र मेलम्ची बजारबाट बोकेर नल्याए खान पाउने अवस्था छैन, विद्युत नहुँदा टेलिफोन सेवा पनि चलेको छैन, धेरै समस्या छ ।’

पुल र सडक नहुँदा अहिले हेलम्बु पाँचपोखरी र मेलम्ची नगरपालिकाका स्थानीय बिरामी पर्दा समेत अस्पताल जान सक्ने अवस्था छैन् । पुल र सडककै समस्याका कारण स्थानीय मिल, घट्टको सुविधाबाट समेत वञ्चित बनेका छ्न । बाढीबाट जति पीडित बनेका छन्, त्यति नै सडक सञ्जाल बन्द हुँदा समस्यामा परेका छन् । 

‘हिँडेर आउन पनि बाटो राम्रो छैन, पहिरो आउने जङ्गलको बाटो हिँड्नु पर्ने अवस्था छ’, थाङ्पालकोटका सोनाम ग्याल्वो तामाङले भन्नुभयो, ‘त्यसैले सरकारले तत्काल पुल र सडक निर्माण गरेर सञ्चालनमा ल्याउनु पर्ने देखिन्छ ।’

बाढीले धेरैका घर बगायो । कतिका व्यवसाय बगायो । कृषि फार्म देखि लिएर माछा पालन समेत बगायो । बाढीबाट ट्राउट फर्मको क्षति बेहोर्नुभएका युवराज खड्का पनि सडक सञ्जाल सञ्चालनमा ल्याउनु नै अहिलेको प्रमुख आवश्यकता ठान्नुहुन्छ । 

‘अब क्षति भएको स्थानमा तत्काल सडक निर्माण गरेर चनौटेमा पुल निर्माण नगरे स्थानीय अझै धेरै मर्कामा पर्ने देखिन्छन, त्यसैले यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।’ 
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया