नेपालमा डलर अहिलेसम्मकै महंगो, विदेशबाट पैसा पठाउँदा फाइदैफाइदा

 भदौ १४, २०७५ बिहिबार १६:३२:३३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडाैं - नेपाली बजारमा बिहीबार डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । बिहीबार १ डलरको नेपाली बजारभाउ १ सय १३ रुपैयाँ २५ पैसा पुगेको छ । यसअघि गएको साउन २९ गते डलरको भाउ १ सय १२ रुपैयाँ २९ पैसा पुगेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो । 

डलरको भाउ बढ्दाका फाइदा 

डलरको भाउ बढ्दा नेपाललाई केही फाइदा हुनेछ भने धेरै घाटा हुनेछ । डलरको भाउ बढ्दा सबैभन्दा धेरै फाइदा रेमिट्यान्स भित्राउनेलाई हुनेछ । डलरको भाउ १ सय १० रुपैयाँ हुँदा विदेशबाट १ डलर रेमिट्यान्स पठाउँदा नेपालीले १ सय १० रुपैयाँ पाउँथे भने अहिले विदेशबाट १ डलर पठाउँदा १ सय १३ रुपैयाँको हाराहारीमा पैसा पाउनेछन् ।

‘विदेशमा काम गरिरहेका नेपालीलाई पैसा पठाउने सुनौलौ मौका आएको छ, डलरको भाउ बढ्दाको मुख्य फाइदा नै यही हो’, नेपाल राष्ट्र बैंका कार्यकारी निर्देशक नर बहादुर थापाले भन्नुभयो । 

‘डलरको भाउ बढ्दा नेपालीलाई सबैभन्दा राम्रो फाइदा हुने भनेको रेमिट्यान्सको क्षेत्रमा हो, समग्र जीडीपीको २५ प्रतिशत भाग ओगटेको क्षेत्रलाई फाइदा हुनु भनेको राम्रै कुरा हो’, पूर्व बैंकर तथा नेपाल उद्योग परिसंघ अन्तरगतको बैंक तथा वित्तीय क्षेत्रका सदस्य अनलराज भट्टराईले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘डलर बढ्दाका धेरै फाइदा छैनन्, केही फाइदा छन्, त्यसमा सबैभन्दा धेरै फाइदा हुने भनेको रेमिट्यान्स क्षेत्रमा नै हो ।’

नेपालको निर्यात धेरै भएको भए निर्यातबाट पनि नेपालले फाइदा लिन सक्थ्यो । जस्ले जति बेचिरहेका छन्,उनिहरुले पनि डलरको भाउ बढ्दा फाइदा कमाउन सक्छन् । डलरमा बस्तु बेचेर नेपालीमा साटफेर गर्दा त्यसले नेपाली उत्पानकर्ता र व्यवसायीलाई फाइदा दिन सक्छ । 

त्यस्तै नेपाल घुम्न आउने पर्यटकलाई पनि फाइदा हुने देखिन्छ । पहिले उनिहरुले १ डलर साट्दा १ सय १०-१२ पाउँथे भने अहिले भने अहिले उनीहरुले १ डलर साट्दा १ सय १३ रुपैयाँ पाउँछन् ।

‘डलर बढ्दा विदेशीलाई नेपाल घुम्न पनि सस्तो पर्ने भयो, पर्यटन क्षेत्रको लागि पनि डलर बढ्नु राम्रो कुरा हो’, राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘धेरै त बेफाइदा नै छन्, तर डलरको भाउ बढ्दला केहि फाइदा पनि हामीले पाउँछौं ।’

फाइदा भन्दा बेफाइदा धेरै

डलरको भाउ बढ्दा केही क्षेत्रमा नेपाललाई फाइदा भए पनि धेरै क्षेत्रमा भने घाटा नै छ । नेपालले वार्षिक १३ खर्बको बस्तु आयात गर्छ । आयातको आधा भन्दा धेरै सामान डलरमा नै किनेर ल्याउने गरिएको छ । डलरको भाउ बढ्दा आयात हुने सामानको भाउ बढ्न सक्छ । भारतीय मुद्रा नेपालमा स्थीर हुने भएकाले भारतीय मुद्रामा खरिद हुने सामानमा डलरको भाउ तलमाथि हुँदा खास फरक पर्दैन तर डलर र अन्य मुद्रामा खरिद हुने सामानमा भने डलरको भाउले फरक पार्छ । 

‘नेपालमा अहिले दाल चामल पनि डलरमा किन्ने प्रचलन बढ्दै गएको छ, त्यसले गर्दा डलरको भाउ बढ्दा हाम्रो बजार मुल्य नै प्रभावित हुन सक्छ’ पूर्व बैंकर तथा नेपाल उद्योग परिसंघ अन्तरगतको बैंक तथा वित्तीय क्षेत्रका सदस्य अनलराज भट्टराईले भन्नुभयो, ‘तेस्रो देशबाट आयात हुने सामानको भाउ बढ्ने देखिन्छ ।’

यस्तै डलरको भाउ बढदा् विकास परियोजनाको लागि आयात हुने सामग्रीको भाउ पनि बढ्ने सम्भावना रहेको छ । सबैभन्दा ठूलो कुरा त नेपाल आउने पेट्रोलियम पदार्थको भाउ पनि बढ्ने पक्का छ । 

‘भारतसँग आफ्नो पेट्रोलियम खानी छैन, उसले पनि डलरमा किनेर डलरमै बेच्ने हो, त्यसैले पेट्रोलियम पदार्थमा निकै नै असर पर्न सक्छ’, राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाले भन्नुभयो । 

यस्तै डलरमा विद्युत खरिद बिक्री अर्थात पीपीए सम्झौता गरेकोले नेपाल विद्युत प्राधिकरणलाई पनि थप घाटा हुने देखिएको छ । नेपाल सरकारले विदेशीलाई तिर्नुपर्ने ऋण पनि डलरमै तिर्नुपर्ने भएकाले सरकारलाई पनि घाटा नै हुनेछ । 

समग्रमा हेर्दा डलरको भाउ बढ्दै जाँदा त्यसले नेपालको समग्र अर्थतन्त्रलाई नाफा नभइ घाटा हुने अर्थ विश्लेषकहरु बताउँछन् । 

विदेशमा खर्च पठाउनेलाई पनि घाटैघाटा 

नेपालमा डलरको भाउ बढ्दा ठूलो घाटा विदेशमा छोराछोरी पढाएका परिवारलाई पनि हुने गरेको छ । डलर महँगिएको बेलामा पैसा पठाउँदा उनीहरुले महँगो दरमा सटही गर्नुपर्ने हुन्छ । पहिले १ सय १०-१२ रुपैयाँमा डलर किनेर पठाउने परिवारले अब १ सय १३ रुपैयाँ २५ पैसा तिरेर डलर किन्नुपर्नेछ । त्यसैले विदेशमा खर्च पठाउनेहरुलाई अहिले समस्या पर्ने देखिन्छ । 

काम चलेसम्म अहिले विदेशमा पैसा नपठाउन नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक नरबहादुर थापाको सुझाव छ । ‘अहिले काम चल्छ भने डलर नपठाए हुन्छ, केही दिन कुर्‍यो भने डलर घट्न पनि त सक्छ, त्यसले हतार नगरौं’, थापाले भन्नुभयो  । 


 

अन्तिम अपडेट: चैत १२, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया