लुम्बिनी प्रदेश : एमाले सर्वाेच्चमा, विपक्षी निगरानीमा

 साउन २६, २०७८ मंगलबार ११:५५:५३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - सर्वाेच्च अदालतले जनता समाजवादी पार्टी(जसपा)ले पदमुक्त गरेका तीन जना बहालवाला मन्त्रीको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार थप सङ्कटमा परेको छ । जसपाको ठाकुर पक्षका मन्त्रीहरु सन्तोष पाण्डे , विजय बहादुर यादव र कल्पना पाण्डे लम्साल पदमुक्त भएसँगै अब ८७ सदस्यीय लुम्बिनी प्रदेश सभा ८० सदस्यीय बनेको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको विशेष अधिवेशन रोक्न एमाले सांसद लीला गिरीले सोमवार सर्वाेच्च अदालतमा दिएको रिट निवेदनमा सर्वाेच्च​ले अन्तरिम आदेश दिएन भने पोखरेल नेतृत्वको सरकारको दिनगन्ती सुरु हुने देखिन्छ । रिटको आज प्रारम्भिक सुनुवाइका लागि पहिलो पेशी रहेको छ ।

यसअघि माओवादी केन्द्रले दधिराम न्यौपाने र दिनेश पन्थीलाई कारबाही गरेको थियो भने दीर्घ नारायण पाण्डे र अमर डाँगीले प्रदेश सभा सदस्यबाट राजीनामा दिनु भएको थियो । 

८० सदस्यीय प्रदेश सभामा सत्तारुढ एमालेसँग ३८ जना सदस्य मात्रै रहेका छन् । जुन प्रदेश सभाको बहुमत सदस्य सङ्ख्या ४१ भन्दा कम हो । विपक्षी गठबन्धनसँग नेपाली कांग्रेसका १९ माओवादी केन्द्रका सभामुख बाहेक १८ , जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सदस्य रहेका छन् । प्रदेश सरकारले नियमित अधिवेशनमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट संसदमा पारित नहुने देखेपछि एकाएक अधिवेशनको अन्त्य गर्दै अध्यादेशमार्फत बजेट ल्याएको छ ।

प्रदेश प्रमुख फेरिएर अमिक शेरचन आएपछि विपक्षी गठबन्धनले विशेष अधिवेशनको लागि समावेदन गरेअनुसार साउनको २७ गते प्रदेश सभामा पेस भएको अविश्वासको प्रस्ताव माथि छलफल गर्न विशेष अधिवेशन आह्वान भएको छ । यसअघि वैशाख ६ गते र २६ गते प्रदेश सरकार विरुद्ध दर्ता भएका अविश्वास प्रस्ताव छलफलका लागि प्रदेश सभामा लगिएको थिएन ।

संविधानको धारा १६८ को १ अनुसार भन्दै तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीको रुपमा शंकर पोखरेललाई शपथ गराएपछि विपक्षी गठबन्धनले विश्वासको मत लिएर बहुमत पुष्टि गर्न चुनौती दिँदै आएका थिए । सत्तारुढ एमालेले भने आफूसँग बहुमत रहेको दाबी गर्दै आएको छ । विपक्षी गठबन्धनले संविधानको धारा १६८ को २ अनुसार सरकार गठन हुनुपर्ने बताउँदै आएका छन् ।

यसैबीच प्रदेश सभाको संरचना फेरिएसँगै सांसदहरुको तानातान हुने सम्भावना बढेपछि सम्बन्धित पार्टीहरुले आफ्ना सदस्यहरुमाथि निगरानी बढाइरहेका छन् । माओवादी केन्द्रले आफ्ना सांसदलाई कपिलवस्तुको राजा पानीमा रहेको रिसोर्टमा राखेको छ । केही साथीहरु एकै ठाउमा बसेको भए पनि एमालेले आरोप लगाए जस्तो विपक्षी गठबन्धनका सबै सदस्यहरु एकै ठाउँमा नबसेको नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताउनु भयो । 

माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले पनि केही साथीहरु एकै ठाउँमा बसेको भए पनि सबै होइन भन्नुभएको छ । केही दिनअघि मुख्यमन्त्री कार्यालयमा बिमला खत्री ओलीलाई बन्धक बनाइएको आरोप लागेको थियो । तर, प्रदेश सरकार र सत्तारुढ एमालेले त्यसको खण्डन गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया