लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिने सम्भावना

 साउन २७, २०७८ बुधबार ११:२८:५६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिने सम्भावना देखिएकाे छ ।  लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावको सामना गर्ने वा राजीनामा दिने भन्ने विषयमा निर्णय गर्न मुख्यमन्त्री पोखरेललाई एमाले संसदीय दलले अधिकार दिएको छ ।

प्रदेशदेखि केन्द्रमा नेतृत्व गर्ने एमालेका केही नेताहरुले अविश्वासको प्रस्तावको सामना गर्नुभन्दा राजीनामा दिएर नयाँ सरकार गठनको ढोका खोलिदिन सुझाव दिएका छन् । एमाले नेताको सुझाव र सत्तारुढ दल एमाले प्रदेश सभामा स्पष्ट अल्पमतमा रहेकाले विशेष अधिवेशन सुरु हुने दिउँसो १ बजे अगाडि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिने सम्भावना बलियो छ ।

एमालेको विश्वस्त श्रोतले मुख्यमन्त्रीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिने तयारी गरेको पुष्टि गरेको छ । दिउँसो साढे १२ बजे मन्त्री परिषदको बिहान बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

मुख्यमन्त्रीको रुपमा बैशाख ६ गते पोखरेलले दोस्राे कार्यकाल सुरु गर्नुभएको थियो । पोखरेल सरकार विरुद्ध विपक्षी ३४ जना सांसदले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । त्यही प्रस्तावको छिनोफानो गर्न प्रदेश प्रमुखले दिउँसो १ बजे प्रदेश सभाको विशेष अधिवेशन आव्हान गर्नुभएको छ ।

८० सदस्यीय प्रदेश सभामा एमाले सँग ३८ र विपक्षीसँग सभामुख सहित ४२ जना सांसद रहेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया