सार्वजनिक गाडी मनोहरा खोला करिडोर वा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव

 साउन २९, २०७८ शुक्रबार १९:२७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले ‘लामो दुरीका सार्वजनिक सवारी साधन व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन २०७८’ हस्तान्तरण गरेको छ । काठमाण्डाै महानगरपालिकाकी मेयर हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई आज शुक्रवार अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो । 

प्रतिवेदनमा जडीबुटी पुल पूर्वको मनोहरा खोला करिडोर सर्मत–सम्भार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट तत्कालका लागि सार्वजनिक गाडीकाे व्यवस्थापन गरेर सञ्चालन गर्न सकिने उल्लेख छ । 

‘नेपाल सरकार, प्रदेश सरकार, उपत्यकाभित्रका पालिका र सवारी साधन व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधनको कार्य प्रकृति तथा सञ्चालन हुने दुरीका आधारमा लामो दुरी र सहरी यातायातका छुट्टाछुट्टै सवारी साधन टर्मिनलको विकास गर्न महानगरपालिकाले पहल गर्नेछ’, प्रतिवेदनमा भनिएको छ, ‘काठमाण्डाै उपत्यकाका पालिका एवम् धुलिखेल, बनेपा र पनौती नगरपालिका तथा बस व्यवसायीलगायत सरोकारवालाको साझेदारीमा यातायात कम्पनी निर्माण गरी सार्वजनिक यातायातको दीर्घकालीन व्यवस्थापन गरिनेछ ।’ 

प्रतिवेदन बुझेपछि मेयर शाक्यले कार्यपालिका बैठकमा याे प्रतिवेदनलाई एजेन्डाकै रूपमा प्रस्तुत गरेर छलफल गरी अघि बढ्ने बताउनुभयो । 

‘यो महानगरपालिकाको मात्रै समस्या होइन । यो प्रदेश र सङ्घीय सरकारको पनि समस्या हो’, शाक्यले भन्नुभयो, ‘यसका लागि प्रदेश र सङ्घीय सरकारसँग पनि सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने हुन्छ । यसका लागि पहल गर्न काठमाण्डाै महानगरपालिका तयार छ ।’ शाक्यले व्यवसायीसँग समन्वय गरी बसपार्कको पूर्वाधार निर्माणका लागि महानगरपालिकाले समन्वय गर्न सक्ने समेत आश्वासन दिनुभयो ।  

काठमाण्डाै महानगरपालिकाले खुलामञ्चबाट बसपार्क हटाएर सिटी यातायातका लागि ‘पिक एन्ड ड्रप’ र मध्यम दुरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएपछि मध्यम दुरीका यातायात व्यवसायीले नयाँ बसपार्क अपायक परेको भन्दै अर्को व्यवस्था नभएसम्म उपयुक्त व्यवस्थापन गर्न आग्रह गर्दै आएका छन् । 

काठमाण्डाै महानगरपालिका क्षेत्रभित्र गन्तव्य भइ देशका विभिन्न भाग हुँदै काठमाण्डाै उपत्यकाभित्र सेवा प्रवाह गरिरहेका सार्वजनिक गाडीकाे पार्किङ र त्यसको व्यवस्थापनका लागि यातायात व्यवसायीले गरेको आग्रहलाई समेत मध्यनजर गर्दै कार्यदल नै बनाएर महानगरले अध्ययन गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्को व्यवस्था नभएसम्मका लागि खुलामञ्चमा पहिलेकै अनुसार बसपार्कका रूपमा प्रयोगका लागि माग गरे पनि महानगरपालिकाले भने त्यो सम्भव नहुने बताउँदै आएको छ ।  

महानगरपालिकाले गठन गरेको यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदल सदस्यहरूमा वडा २६ का अध्यक्ष ख्याम तिवारी, वडा ३२ का अध्यक्ष नवराज पराजुली, वडा २७ का अध्यक्ष चिनियामान बज्राचार्य, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन रहनुभएको थियो ।

त्यसैगरी समन्वय तथा सहजीकरणमा काठमाण्डाै महानगरपालिकाका सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले, नगर प्रहरी उपरीक्षक धनपति सापकोटा, ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिल जङ्ग शाह र ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवाल रहनुभएको थियो । समितिलाई सुझाव दिन सात दिनको समय दिइएको थियो ।

प्रतिवेदनमा काठमाण्डाै उपत्यकामा १४ लाख विभिन्न खाले सवारी साधन सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी साधन काठमाण्डाै महानगरपालिका क्षेत्र केन्द्रित भएर सञ्चालनमा रहेको तथ्याङ्क रहेको पनि उल्लेख गरिएको छ । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया