स्थगित परीक्षा र विद्यार्थीको अन्योलग्रस्त भविष्य

 साउन ३१, २०७८ आइतबार ११:९:४३ | हरि ज्ञवाली
unn.prixa.net

जेठ २६ गतेदेखि हुनुपर्ने कक्षा १२ को वार्षिक परीक्षा दुई महिना ढिला भइसकेको अवस्थामा पुनः स्थगित भयो । कुनै विकल्प नदिइ अचानक परीक्षा स्थगित गरिएपछि झण्डै ४ लाख विद्यार्थीसँगै तिनका अभिभावकसमेत मानसिक तनावमा परेका छन्  ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरि विकल्पसहित आवश्यक निर्णय गर्ने बताए पनि अहिलेसम्म कुनै विकल्प नआउँदा विद्यार्थीहरु एउटै कक्षामा २० महिनासम्म पढ्नुपर्ने अवस्था सिर्जना भएको छ । यो गम्भीर चिन्ताको विषय हो ।

परीक्षामा वैकल्पिक उपायको खोजी गरि आउँदो कक्षा सञ्चालनको आधार तय हुन नसक्दा समस्या चुलिँदै गएका छन् । त्यसको असर विश्वविद्यालयको स्नातक तहको भर्नामा देखिएको छ भने एमबीबीएसलगायत चिकित्सा शिक्षा र अन्य प्राविधिक शिक्षाको शैक्षिक सत्र नै गुम्ने जोखिम बढ्दो छ । यसले देशको शैक्षिक प्रणालीमासमेत नकारात्मक असर पर्ने सम्भावना देखिँदैछ ।

कोरोना सङ्क्रमण बढ्दै जाँदा अधिकतम स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने कि पटक पटक स्थगित गरिराख्ने ? यसको विकल्पमा अब के गर्ने ? प्रश्न उठ्न थालेका छन् ।  वैकल्पिक विधिबाट परीक्षा कसरी सञ्चालन गर्ने भन्ने निर्णय गर्न अब ढिला भइसकेको छ ।

कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्ने गरि तालिका सार्वजनिक भएको थियो । यसअघि गएकाे जेठ २६ गतेका लागि तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित गरिएको थियो । परीक्षा त स्थगित भए । तर, अब के कसरी परीक्षा हुन्छ वा हुँदैन भन्ने अन्योलले विद्यार्थी र अभिभावकलाई चिन्तित बनाएको छ ।

गएकाे वर्ष पनि कोरोना महामारीकै कारण वैशाख/जेठमा हुनुपर्ने कक्षा १२ को परीक्षा मंसिरमा लिइएको थियो । ढिला गरि संक्षिप्त परीक्षा सञ्चालन गरेर नतिजा प्रकाशन गरिएको थियो । तर यसपटक भने अहिलेसम्म परीक्षाको विकल्पका रुपमा कुनै ठोस योजना आउन सकेको छैन । 

पटक पटक परीक्षा स्थगित हुँदा विद्यार्थीहरुमा मानसिक तनाव बढ्दो छ  भने आफ्ना छोराछोरीको पढाइले गति लिन नसक्दा अभिभावक पनि त्यत्तिकै चिन्तित छन् । अन्योलग्रस्त अवस्थाले कलिला मस्तिष्कका विद्यार्थीमाथि अन्याय गरेको छ । 

उता कक्षा १२ को परीक्षा दोस्रो पटक स्थगित भए पनि त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्याल अन्तर्गतका स्नातक र स्नातकोत्तर तहका परीक्षा भने सिफ्टअनुसार सञ्चालन भइरहेका  छन् । विभिन्न विद्यालयमा कक्षा ११ मा पढ्ने ४ हजार ८ सय विद्यार्थीले पनि परीक्षा दिइरहेका छन् । क्याम्पसहरूमा एउटै केन्द्रमा ५ सयभन्दा बढी विद्यार्थी राखेर पनि परीक्षा भइरहेको बताइन्छ  । स्वास्थ्य मन्त्रालयले सबै परीक्षा रोक्न आग्रह गरे पनि त्रिभुवन विश्वविद्यालयका निर्धारित परीक्षा रोकिएका छैनन् ।

विकल्प नै नदिएर अचानक परीक्षा स्थगित गर्दा विद्यार्थी र अभिभावकहरुमा मानसिक तनाव स्वाभाविक रुपमा बढेको छ । यस्तो अवस्थामा विद्यार्थीलाई थप अलमलमा पर्न नदिन परीक्षा बोर्ड र सरकार संवेदनशील बन्नैपर्छ। अब विकल्प दिन ढिला गर्नु हुँदैन । स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर भौतिकरुपमै परीक्षा सञ्चालन गर्ने कि वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन सम्पन्न गर्ने ? सरकारले विश्वासिलो आधार दिलाउनु जरुरी भएको छ  ।

अहिले कोरोनाविरुद्धको खोप अधिकांशले लगाइसकेका छन् । निषेधाज्ञा पनि खुकुलो भएको छ । बजारहरू खुलेका छन् । होटेल पसलहरू यथावत् रूपमा चल्न थालेका छन् । रेस्टुरेन्टहरूमा त्यत्तिकै चहलपहल छ । बजारमा भीडभाड बढेको पनि छ । उद्योग कलकारखानाहरू पनि सञ्चालन भएकै छन्।

सार्वजनिक गाडीहरू सञ्चालन भएका छन् । अत्यन्तै भीडभाड र अस्तव्यस्त रहने सरकारी कार्यालय मालपोत, यातायात, नापी, अदालत, खानेपानी ,विद्युतजस्ता कार्यालय पनि खुलै छन् । यस्तो अवस्थामा विद्यालयलाई मात्र कोरोना जोखिमको एकमात्र केन्द्र मानेर परीक्षा स्थगित गर्नैपर्ने तर्क र औचित्य पुष्टि हुने आधार देखिँदैन ।

विकल्प र उपायहरु

कोरोना महामारीका बीचमा नियमित कक्षा र परीक्षा सञ्चालन दुवैमा थुप्रै विकल्पहरु हुन सक्छन् । ती विकल्पहरुबारे खासै चिन्तन मनन भएको पाइँदैन । यसर्थ कोरोना सङ्क्रमणको यो बेलामा नियमित कक्षा र परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारेमा निम्न विकल्पहरु अपनाउन सकिन्छ । 

अघिल्लो वर्षकै मोडेल : कोरोना सङ्क्रमणको भयका कारण गएको वर्ष र यस वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरियो । गएको वर्ष कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो । उस्तै अवस्था भएका कारण परीक्षा स्थगित गरिरहनुभन्दा यो वर्ष पनि अघिल्लो वर्षकै मोडेललाई अनुशरण गर्नु एउटा राम्रो विकल्प हुन सक्छ ।

भौतिकरुपमै परीक्षा : कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने व्यवस्था हो । यसर्थ भौतिक दूरी र स्वास्थ्य मापदण्ड पूरा गरेर भौतिक रुपमै पनि परीक्षा गर्न सकिन्छ  । दुई सयभन्दा बढी विद्यार्थी रहेका केन्द्रमा अर्को विद्यालयमा उपकेन्द्र कायम गरेर पनि परीक्षा सम्पन्न  गर्न असम्भव देखिँदैन । 

अनलाइन–अफलाइन : यतिखेर खासगरि सहरी क्षेत्रमा अधिकांश विद्यालयले भर्चुअल माध्यम वा अनलाइनमार्फत् नै कक्षा सञ्चालन गरिरहेका छन् । अधिकांश परीक्षा पनि अनलाइनमार्फत लिइरहेका छन् । नेपालका सबै ठाउँमा एकै प्रकारको कोरोना जोखिम पनि छैन । सहरी क्षेत्रमा अनलाइन परीक्षा प्रभावकारी बन्न सक्छ तर ग्रामीण भेगमा कम विद्यार्थी रहेको ठाउँमा भौतिक उपस्थितिमै परीक्षा गर्न सकिन्छ । यसर्थ अनलाइनबाट सम्भव हुने विद्यार्थीलाई अनलाइन र सम्भव नहुने ग्रामीण र कम भीडभाड हुने स्थानमा अफलाइन परीक्षा लिन सकिन्छ  । अनलाइन गर्दा ४ लाखको सङ्ख्यामा रहेको तथ्याङ्क घट्ने र बाँकी विद्यार्थीलाई सामाजिक दूरी कायम गरेर परीक्षा दिन गाह्रो हुने देखिँदैन   ।

नयाँ सिर्जनशीलता खोज्ने : परीक्षाको लागि छापिएका प्रश्नपत्र नै विद्यार्थीहरूलाई घर लैजान दिएर समेत मूल्याङ्कन गर्न सकिने अवसर अझै पनि छ । त्यस्तो हकमा उनीहरूले चाहेको हिसाबले विषयवस्तु खोज्ने काम गरेमा ज्ञान पक्षलाई भन्दा सीप र नयाँ सिर्जनशीलता खोज्ने पक्षलाई उच्च अङ्कभार दिएर मूल्याङ्कन गर्न सकिन्छ ।

चिट चोर्न नमिल्ने प्रश्नपत्र : नेपाल टेलिकम प्राधिकरणको पछिल्लो आँकडाअनुसार अहिले नेपालमा झन्डै ९२ प्रतिशत जनसङ्ख्यासँग ब्रोडब्यान्ड इन्टरनेटको पहुँच भएको बताइन्छ । यसै गरि ६५५ पालिकासम्म नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएको भनिएको छ । महामारीका कारण पठनपाठन लामै समय अवरुद्ध अवस्थामा अनलाइन परीक्षा एउटा विकल्प बन्न सक्छ । तर परीक्षा लिने तरिका र शैलीमा भने परिवर्तन आवश्यक छ ।  परीक्षालाई विश्वसनीय बनाउन चिट चोर्नै नमिल्ने प्रकारका प्रश्नपत्र बनाएर अनलाइनबाटै विद्यार्थीको मूल्याङ्कन गर्न सकिन्छ ।

चरणबद्ध परीक्षा : कक्षा १२ को स्थगित परीक्षा देशमा कोरोना भाइरसको सङ्क्रमणका कारण ठाउँअनुुसार चरणबद्ध रूपमा गर्न सकिन्छ । देशका विभिन्न भागमा चरणबद्ध रूपमा परीक्षा लिन सकिने अवस्था भए पनि परीक्षा लिने तर नतिजा भने एकै पटक गर्न समस्या हुँदैन । 

विद्यार्थीलाई कोरोना खोप : यतिखेर देशमा धेरैजसोले खोप लगाइसकेका छन् । विभिन्न उमेर समूहका चरणमा विद्यार्थीको उमेर समूह नपर्ने भए तापनि  विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिएर पनि परीक्षा सञ्चालन गर्न सकिन्छ । पटक पटक परीक्षा स्थगित गरिरहनुभन्दा यो पनि एउटा विकल्प हुन सक्छ । 

यसका अतिरिक्त परीक्षा कार्यक्रम तय गर्दा एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने, परीक्षाअघि अनिवार्य पीसीआर परीक्षण गर्ने, केन्द्रमा हेल्थ डेस्क राख्नेलगायत उच्च सुरक्षा सावधानी अपनाएर परीक्षा सञ्चालन गर्न सकिने हुँदा जतिसक्दो छिटो परीक्षा सम्पन्न गर्नु अत्यावश्यक छ । या त कुनै वैकल्पिक माध्यमबाट परीक्षा सम्पन्न गर्नु जरुरी देखिन्छ ।  

कोरोनाको महामारी कहिलेसम्म रहने हो यकिन भन्न सकिन्न । कोरोना सङ्क्रमणको जोखिमको बहानामा विना विकल्प परीक्षा स्थगित गरि विद्यार्थीलाई सधैँभरि अन्योलमा राख्नु न्यायोचित नहोला । 

अत : विभिन्न विकल्पका परीक्षा, आन्तरिक मूल्याङ्कन वा वैकल्पिक माध्यमबाट जे गरे पनि एउटा निर्णय भने गर्नैपर्ने देखिन्छ । शैक्षिक सत्र र प्रणाली बिग्रन दिनु हुँदैन । भविष्यका कर्णधार विद्यार्थीहरुमा आउन सक्ने मानसिक विचलनको सम्भावनाप्रति सरकार सचेत हुनैपर्छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

हरि ज्ञवाली

ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया