म्याग्दीमा गएकाे वर्ष सुन्तला उत्पादनमा २५ प्रतिशतले कमी

 भदौ ३, २०७८ बिहिबार १४:०:४२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा गएको आर्थिक वर्ष २०७७/७८ मा सुन्तला उत्पादनमा २५ प्रतिशतले कमी आएको छ । सुन्तला उत्पादनका हिसाबले पकेट क्षेत्र मानिने जिल्लाको बास्कुना, राखु, मरेक, बराङ्जा र अर्मनलगायत क्षेत्रमा देखिएको रोग किराको प्रकोपले उत्पादनमा ह्रास आएको हो । 

म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको मरेक, राखु, ४ नम्बर वडा सिङ्गाको बास्कुनास, मङ्गला गाउँपालिका-३ र ४ बराङ्जा तथा मङ्गला-५ अर्मनका कृषकहरुले लगाएको सुन्तलामा चाइनिज सिड्रस फुडफ्लाई जातको किराको प्रकोप देखिएको थियो । याे किराको प्रकोपका कारण कुल उत्पादनको औसतमा २५ प्रतिशत अर्थात् ८ सय ३४ मेट्रिक टन सुन्तलामा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । 

चाइनिज सिड्रस फुडफ्लाई जातको किराको प्रकोपका कारणले सुन्तला नपाक्दै बोटमै सुक्ने, झर्ने, बोट सुक्दै जाने जस्ता समस्याले सुन्तला उत्पादनमा २५ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार रोग किराको प्रकोपका कारण झरेका सुन्तलाको दाना व्यवस्थापनका लागि कार्यालयबाट कृषकहरुलाई प्लास्टिक र झोला सहयोग गरिनुका साथै स्थलगत निरीक्षण गरि रोग, किराको प्रकोप नियन्त्रणमा आवश्यक पहल गरिएको थियो । 

जिल्लामा वार्षिक ३ हजार ३ सय ३७ मेट्रिक टन सुन्तला उत्पादन हुने गरेकोमा गएकाे वर्ष प्रकोपका कारण २ हजार ५ सय ३ मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको कृषि प्रसार अधिकृत पाण्डेले जानकारी दिनुभयो । गएकाे वर्षको तथ्याङ्कअनुसार जिल्लाभर कुल ८ सय हेक्टर क्षेत्रफलको जमिनमा सुन्तला खेती गरिएकोमा ४ सय ४५ हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको थियो ।

उत्पादित सुन्तलामध्ये ५० प्रतिशत अर्थात् १२ सय बढी मेट्रिक टन सुन्तला जिल्लाभित्रै खपत भएको कार्यालयको तथ्याङ्क छ भने जिल्लाभर उत्पादित सुन्तलाको कुल छ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ । सुन्तलामा लागेको रोग, किराको प्रकोपले उत्पादनमा कमी आएको हुँदा गएकाे वर्षको तुलनामा यसवर्ष सुन्तला निर्यात घटेको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले गुनासो गर्नुभयो । 

रोग तथा किराको प्रकोप व्यवस्थापन गर्नका लागि म्याग्दीका सुन्तला उत्पादक कृषकहरुलाई लक्षित गरेर विभिन्न ७ ठाउँमा तालिम दिइएको छ । यसैगरी बाली संरक्षण प्रयोगशाला पोखराको आर्थिक सहयोग र कृषि ज्ञान केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा पहिलो चरणमा अर्मनमा १ हजार सुन्तलाको बोटमा खाद्य पासो थापेर रोग किराको प्रकोप नियन्त्रणको सुरुवात गरिएको छ। चालु आर्थिक वर्षका लागि खाद्य पासो कार्यक्रमतर्फ ५० लाखको कार्यक्रम प्रस्ताव गरिएको कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो । 

कृषि प्राविधिकहरुले दिएको जानकारीअनुसार सुन्तला रोपेको ५ वर्षपछि फल दिन सुरु हुन्छ । फल दिए पनि तुरुन्तै सुन्तलाले लाभ दिन नसक्ने भएकाले ६ देखि १० वर्षसम्म लाभ दिन थाल्छ।

त्यसपछि अनुकूल वातावरण तथा रोग, किराको प्रकोप नभएको खण्डमा सुन्तला लगाएको १२ वर्षपछि लगानीको १५ गुणाले आम्दानी दिने कृषि प्राविधिकहरू बताउँछन् । सुन्तला खेतीमा व्यवस्थापन खर्च भने कम रहेको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया