कुरा नमिल्दैमा पार्टी छोडेर जानु गम्भीर गल्ती हो

 भदौ ६, २०७८ आइतबार १०:१६:३९ | युवराज ज्ञवाली
unn.prixa.net

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संविधान मिचेर संसद विघटन गर्नुभयो । त्यसैले तत्कालीन नेकपा र एमालेभित्र गम्भीर समस्या र सङ्कट उत्पन्न भयो । संविधान र संसद जोगाउने उद्देश्यले पार्टीभित्र अन्तर विरोध चर्किँदै जाने अवस्था बन्यो । यसले आफ्नै सरकार हट्ने स्थिति उत्पन्न भयो र पार्टीभित्र चर्को अन्तरविरोध सिर्जना भयो । 

त्यसको बाबजुद पनि वार्ता, संवादहरु चलिरहे । कार्यदलहरु बने । दश जनाको कार्यदलले पार्टी एकता सम्बन्धी एउटा दश बुँदे प्रस्ताव तयार गर्यो । माधव कुमार नेपाल र केपी ओलीसँग बारम्बार छलफल गरेर उहाँहरुको छलफलको आधारमा नै त्यो दश बुँदे प्रस्ताव तयार भएको हो ।

यसबारे हाम्रा कमिटीहरुमा प्रस्ट रुपमा  छलफल भएको छ । त्यसो भएको हुनाले पार्टी एकताको लागि विगतमा जेसुकै भएता पनि त्यो एउटा समीक्षाको विषय भयो । अब आउने दिनहरुमा पार्टीलाई नै एकजुट बनाएर अगाडि बढ्नुपर्छ भनेर नै हामी लाग्यौँ । 

नेकपा एमाले दुई, चार वर्षमा तयार भएको पार्टी होइन । यो दशकौँ दशक, हजारौँ हजारको रगत पसिनाले निर्माण भएको पार्टी हो । लाखौँ नागरिकको बीचमा स्थापित पार्टी हो । यो पार्टी धेरै ठूलो मेहनत र सङ्घर्षले निर्माण भएको पार्टी हो ।

नेपाली कांग्रेस एकातिर छ भने कांग्रेसकै समानान्तर तथा कहिले कांग्रेसभन्दा ठूलो त कहिले कांग्रेसकै निकटको हाराहारीमा रहँदै आएको पार्टी हो नेकपा एमाले । त्यसैकारण यो पार्टीभित्र बारम्बार कमी कमजोरी, समस्याहरु उठ्ने र देखिने गरेका छन । चुनावको माध्यमबाट सरकारमा जाँदा कतिपय मानिसहरुमा प्रवृत्ति र आचरण पनि बिग्रँदो रहेछ । यस्तो प्रवृत्तिलाई सुधारेर पार्टी एकता नै हाम्रो प्राथमिकता हो ।

१० बुँदे कार्यान्वयनमा जोड, माधव नेपाल पनि फर्कनै पर्छ

तर हाम्रो जोडबलका बाबजुद पार्टीमा विभाजनको अवस्था आइपुग्यो । हामी धेरै साथीहरु अहिले पनि पार्टीलाई एकताबद्ध बनाउने प्रयासमा छौँ। पार्टी अध्यक्षलाई १० बुँदे कार्यान्वयन गर्न र वरिष्ठ नेता माधव नेपाललाई अर्को दल दर्ता प्रक्रिया फिर्ता गर्न आग्रह गरेका छौँ ।

हामीले भेला गरेर पनि पार्टी एकताको लागि कार्यदलले प्रस्तुत गरको दश बुँदे प्रस्तावलाई इमान्दारीपूर्वक अक्षरश पालना गर्नुपर्ने र छिटोभन्दा छिटो यो काम सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेका छौँ। पार्टीलाई एक ढिक्का पार्नु पर्छ । पहिले दश बुँदेको आधारमा एकजुट हुनु पर्यो र तलका कमिटीहरुलाई पनि एकताबद्ध हुन पर्ने कुरामा हामी केन्द्रित भएका छौँ । 

माधव नेपाललाई अर्को पार्टी दर्ता नगरौँ पार्टीमा एकताबद्ध भएर नै जाऔँ भनेर आग्रह गर्यौँ, तर सहमति हुन सकेन र अन्तिममा उहाँले पार्टी दर्ताको लागि निवेदन दिनुभयो । उहाँले पार्टी दर्ताको लागि निवेदन दिए पनि हामीले अब कहिल्यै पनि मिल्न सकिन्न भन्ने ढङ्गले लिनु हुँदैन । उहाँहरुलाई पनि एकताबद्ध हुन निरन्तर आह्वान गरिरहनु पर्छ । निरन्तर वार्ता, छलफल, संवाद अगाडि बढाउनु पर्छ । तत्काल त्यो सम्भव नहोला, तर अन्त्यमा उहाँहरु फेरि नेकपा एमालेमै आउनु पर्छ । 

यो विशाल पार्टी हामी सबैले मिलेर निर्माण गरेका हौँ । यति ठूलो पार्टी छोडेर जानु भएको छ, छोडेर जानु हुँदैन थियो । पार्टी भित्र गल्ती, कमी कमजोरीहरु छन्, खराब प्रवृत्तिहरू हुर्केका छन् । तर त्यसलाई हामीले सफा गर्नु पर्छ । हामी सबै मिलेर एउटा राम्रो सुन्दर विशाल घर निर्माण गर्यौँ तर त्यसमा फोहरमैला जम्मा भएको छ । हामी सबै मिलेर यो फोहर मैला सफा गर्नुपर्छ । 

हाम्रो मुख्य जोड दश बुँदे सहमति कार्यान्वयन गर्ने र हामी सबै एकताबद्ध बनौँ भन्ने हो । हाम्रो अर्को प्रयत्न माधव नेपालले जुन पार्टी दर्ताको प्रक्रियामा हुनुहुन्छ, उहाँहरूसँग निरन्तर वार्ता गरिराख्ने र मित्रतापूर्ण सम्बन्ध कायम गरिरहने हो । किनकी उहाँहरुको र हाम्रो लक्ष्य र उद्देश्य एउटै हो । 

दुवै नेताहरुसँग हाम्रो अनौपचारिक कुराकानी भइरहेको छ । कार्यदलमा रहेका साथीहरुले पार्टी अध्यक्ष ओलीसँग कुराकानी गरिरहनु भएको छ । हामी पनि छिट्टै भेटघाट गरेर यसलाई कार्यान्वयन गर्नेतिर जान्छौँ । हाम्रो प्रयत्न तबसम्म जारी रहन्छ,  जबसम्म पार्टी एकता हुँदैन । हाम्रो जोड अहिले छिटोभन्दा छिटो एकताबद्ध हुने हो । जो साथीहरु अर्को पार्टी खोल्न जानुभएको छ, उहाँहरुलाई पनि एकताबद्ध पार्न हाम्रो प्रयत्न जारी रहन्छ । 

समान हैसियतको अध्यक्ष दिने कुराबाट ओली ब्याक हुनुभयो

पहिला दश बुँदेको बारेमा हामी भित्रै विवाद थियो । दश बुँदे प्रयाप्त हुँदैन भन्ने माधव नेपालको सोच थियो । समान हैसियतको अध्यक्ष चाहिन्छ भन्ने एउटा परिस्थिति निर्माण भयो र यो नै पछि गएर एजेण्डा बन्न गयो । पहिला दुवै जनाको सल्लाहमा बैठकको मिति तोक्ने भनिएको थियो, तर दुवै जानाको सल्लाह नै हुन पाएन । माधव नेपाल र केपी ओलीबीच कुरा हुन सकेन, त्यसपछि ओलीजीले बैठक बेलाउनु भयो । 

माधव नेपालले पहिले नै मलाई अध्यक्ष चाहिन्छ भन्नु भएको त हैन । आवश्यकता परे र पार्टी एकताको लागि उपयुक्त हुन्छ भने म दोस्रो समान अध्यक्ष पनि दिन तयार छु भन्ने कुरा आन्तरिक र सार्वजनिक रुपमा ओली जीले भन्नु भएको हो । तर पछि ओलीजी त्यसबाट ब्याक हुनु भयो । पहिले मिल्ने जस्तो कुरा गर्नुभयो, तर पछि त्यो मिलाउने प्रयास गर्दै गर्दा विभिन्न कारणले उहाँ ब्याक हुनु भयो । त्यसैले समान अध्यक्ष भन्दै गर्दा एक महिना हाम्रो खेर गयो । 

साथीहरुको भनाइ अनुसार सकेसम्म थप कुरा पनि लिउँ, समान हैसियतको अध्यक्ष पाइन्छ भने त्यो पनि लिउँ अरु के-के गर्नु पर्ने हो गरौँ, तर दश बुँदेबाट पनि एकता गर्न सकिन्छ भन्ने कुरा भयो । यसै विषयमा छलफल गर्दै गर्दा समान हैसियतको अध्यक्षको प्रयत्न अगाडि बढायौँ । हुँदाहुँदै त्यो अडान बनिदियो ।

पहिले समान किसिमको अध्यक्ष भनेर ल्याउने तर पछि फेरि ब्याक हुने गर्दा यो छलछामका कुरा हुन्छ भन्ने कुरा भयो । यो नभइ त कसरी मिल्नु भन्ने कुरामा माधवजी लगायतका केही साथीहरु पुग्नु भयो । हामी अधिकांश साथीहरुले चाहिँ यो एजेण्डा हैन, जेठ २ कमिटी भनेका छौँ त्यसमा अर्को अध्यक्षको व्यवस्था छैन त्यसैले दश बुँदेमै टेकेर अगाडि बढौँ भनेका हौँ । यसै कारणले पार्टी विभाजन गर्नु हुँदैन भनेर हामीले प्रयास गर्यौँ। 

यति कुरा नमिल्दैमा पार्टी नै छोडेर जानु गम्भीर गल्ती हो । त्यसैले दश बुँदा पर्याप्त नहोला तर दश बुँदामा टेकेर अगाडि जान सकिन्छ, त्यो सम्मानजनक कित्ता पनि हो, आशङ्का मात्रै नगरौँ भन्नेमा हाम्रो जोड थियो।

यसबीचमा ओलीजीले नेपालजीलाई विभिन्न आरोप लगाउन थाल्नुभयो । कहिले देशद्राेही भन्नुभयो त कहिले माधव नेपाल विनाको एकता भन्ने जस्ता कुरा भन्नुभयो । जसले एकदम तिक्तता बढायो । तर यति हुँदाहुँदै पनि दश बुँदे  छँदै थियो । म त्यसलाई लागू गर्छु आउनुहोस् भनेर ओलीजीले भन्नुभएको पनि हो । तर त्यस बीचमा सम्वाद हुन सकेन । यसले गर्दा  नै तिक्तता बढ्दै गयो । 

माधव नेपालले किन यसो गर्नुभयो भनेर अचम्म लागेको छ

कतिपयले एमालेलाई बाहिरी शक्तिले विभाजन गर्यो पनि भन्ने गरेको सुनिन्छ । माधव नेपालजीको आफ्नै कारणले पार्टी फुटेको हो या अर्को शक्तिले बल पुर्यायो यी सबै आशङ्काको कुरा हुन सक्छ । किटान गरेर भन्न सक्ने कुरा त छैन । तर माधव नेपालले यति नै कुराबाट किन अर्को पार्टी दर्ता गर्न पुग्नु भयो भन्नेमा मलाई पनि अचम्म लागेको छ । मलाई अनौठो लागेको छ । 

दुःखका साथ भन्नुपर्छ पार्टीलाई यो अवस्थामा ल्याउन ओलीजी र नेपालजी दुवैको कमजोरी छ । पहिलो कुरा त यी सबै समस्या पार्टी अध्यक्षले दुई दुई पटक संसद विघटन गरेपछि सिर्जित समस्याहरु हुन् ।

पछिल्लो पटक दश बुँदेलाई मानेर एकता गर्न सकिन्थ्यो, तर माधव नेपालले दल दर्ता गर्न गएर पार्टी विभाजन गर्नुभयो । अर्को गल्ती उहाँले गर्नुभयो । नहुनुपर्ने  कुरा भयो । यसबाट कम्युनिस्ट आन्दोलनलाई क्षति हुँदैछ ।

पार्टी विभाजनलाई हामी साथ दिँदैनौँ

केपी ओली र माधव नेपालको कमजोरीले गर्दा पार्टी विभाजनतर्फ गयो । हामी जसरी पनि पार्टी मिलाउनतिर जान्छौँ । पहिले दश बुँदेको अधारमा हामी मिल्छौँ, त्यसपछि माधव नेपालको अर्को पार्टीलाई मिलाउने प्रयास गर्छौँ । हामी विभाजन, विखण्डन, तिक्तता बढाउनेतिर होइन, शत्रुता बढाउनेतिर हैन, मित्रता बढाउने, आशङ्का मेटाउने, विश्वास बढाउने, एकताबद्ध भएर जाने कुरामा हाम्रो सकारात्मक भूमिका हुनेछ ।

यो विभाजनलाई हामी साथ नदिने कुरा प्रष्टै छ । टुटफुटलाई हामी साथ दिँदैनौँ, विभाजनको काममा हामी लाग्दैनौँ, घृणा फैलाउने काम, अविश्वास फैलाउने कुरामा हामी लाग्दैनौँ । जति सम्भव हुन्छ, हामी मिलाउने प्रयास गर्छौँ । एक आपसमा दुश्मनी फैलाउने, घृणा फैलाउने, घृणाको संस्कृति विकास गर्ने खालको गलत कुराहरुसित हामी सहमत छैनौँ । ती काम हामीबाट हुँदैन  । हामीले निरन्तर रुपमा सकारात्मक भूमिका नै खेल्छौँ । 

यो पार्टी हामी आफैँले बनाएको घर हो । यो घरमै बसेर निरन्तर रुपमा यसभित्र र बाहिर रहेकाहरुसँग हाम्रो सकारात्मक भूमिका रहन्छ । सबैसँग एकताबद्ध भएर जाने हाम्रो प्रयत्न हुनेछ । यो हाम्रो समग्र निचोड हो । हामी सबैको भूमिका मिलाउनुमा नै हुन्छ । विभाजनकारी र विखण्डनकारी क्रियाकलापको हामी  विपक्षमा छौँ, विरोधमा हुन्छौँ । मिलाउने कुरामा र सकारात्मक कुरामा हाम्रो सक्रिय भूमिका हुन्छ । 

यससँग सम्बन्धित कुराकानी सुन्न बदलिँदाे नेपाल सुन्नुहाेस् । 

(एमाले उपाध्यक्ष ज्ञवालीसँग कुराकानीमा आधारित । पहिले माधव नेपाल समूहमा रहनुभएका उहाँ लगायतका नेताहरु नयाँ दल दर्तामा सहभागी नभइ तटस्थ रहनुभएको छ ।)

अन्तिम अपडेट: बैशाख ४, २०८१

युवराज ज्ञवाली

युवराज ज्ञवाली नेकपा एमालेका उपाध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया