ज्वरोका बिरामी बढेपछि लमजुङ जिल्ला अस्पतालमा छुट्टै उपचार कक्ष

 भदौ ८, २०७८ मंगलबार १३:५४:३० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – जिल्ला अस्पताल लमजुङमा ज्वरोका बिरामी बढेका छन् ।

रुघाखोकी, ज्वरो, हाइपरटेन्सन लगायत पेटसम्बन्धी स्वास्थ्य समस्यासहित अस्पताल आउनेकाे सङ्ख्या बढेकाे अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो।

अहिले अस्पतालमा दैनिक दुई सय जनाकाे हाराहारीमा उपचारका लागि आउने गरेका छन् । तीमध्ये सबैभन्दा धेरै ज्वरोका बिरामी रहेका छन् । ज्वरोका बिरामी बढेसँगै अस्पतालमा भर्ना भएर बसेका ज्वरोका बिरामीलाई छुट्टै कक्षमा राखेर उपचार गरिएको उहाँले बताउनुभयो ।

‘अस्पतालमा दैनिक ७० जनाकाे हाराहारीमा ज्वरोका बिरामी आउने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘अस्पतालमा रहेको ‘फिभर क्लिनिक’बाट ज्वरो जाँच हुने र अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने ज्वरोका बिरामीलाई छुट्टै कक्षबाट उपचार गरिएको छ ।’

कोरोना र ज्वरोका लक्षण मिल्दाजुल्दा हुने भएकाले कोरोना सङ्क्रमणको जोखिमलाई न्यूनीकरणका लागि ज्वरोका बिरामीलाई छुट्टै कक्षबाट उपचार गरिएको उहाँले बताउनुभयो । विभिन्न स्वास्थ्य समस्याबाट जोगिनका लागि उचित खानपान, सरसफाइ र व्यायाममा ध्यान दिन अस्पतालले सबैमा आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया