सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढ्यो
पुस २, २०८१ मंगलबार
काठमाण्डाै - शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरका सामुदायिक र निजी विद्यालयको कक्षा १० मा अध्ययन गरेको प्रतिवेदन केही दिन अगाडि सार्वजनिक गरेको छ । यस्तै खालको परीक्षण २०६७ सालमा पनि भएको भए पनि कक्षा १० को राष्ट्रिय विद्यार्थी परीक्षण भने यसलाई नै पहिलो मान्न सकिन्छ ।
१८ सय विद्यालय, १८ सय शिक्षक र ३६ सय प्रधानाध्यापकलाई र ४२ हजार विद्यार्थीहरुलाई समेटेर केन्द्रले अध्ययन गरेको हो । यो अध्ययन प्रतिवेदनले कक्षा १० को समग्र सिकाइको चित्र प्रस्तुत गरेको छ । समग्रमा ५१ प्रतिशत विद्यार्थीहरुले कक्षा १० लागि अपेक्षा गरिएको सिकाइ उपलब्धि हासिल गरेको देखिन्छ । त्यसमा ५ प्रतिशत विद्यार्थीले कक्षा १० मा सिक्नुपर्ने भन्दा बढी क्षमता पनि राखेको पाइन्छ ।
कक्षा १० का लागि पाठ्यक्रमले अपेक्षा गरेका सिकाइको क्षमता हासिल गर्न सक्ने जनसङ्ख्या ५१ प्रतिशतको हाराहारीमा देखिएको छ । केन्द्रले २०६७ सालमा गरेको यस्तै खालको अध्ययन गरेको बेला सरदर ४१ प्रतिशत विद्यार्थीले सिकाइ उपलब्धि हासिल गरेका पाइएको थियो ।
१० वर्षको अवधिमा विद्यालयहरुमा लगानीहरु बढे। भौतिक सुविधाका साथै विद्यालयमा विभिन्न खालका सिकाइ प्रविधिहरु सञ्चालन भए । कम्प्युटर प्रणालीको विकास भयो । शिक्षकहरुलाई तालिमको व्यवस्था गर्न सकियो । पिछडिएका बालबालिकाको लागि लक्षित वर्गको कार्यक्रमहरु सञ्चालन भए । बहुभाषिक शिक्षण पद्धति लागू भयो ।
समग्रमा विद्यालयको शैक्षिक नेतृत्वलाई पनि तालिम लगायतका क्षमता विकसित गर्न सक्यौँ । सुधार गर्न सक्यौँ र त्यसमा सरकारको निगरानी पनि बढ्यो । साथै विद्यार्थीहरुमा पनि चेतना बढ्यो जसका कारण सिकाइ उपलब्धतामा बढोत्तरी भयो ।
तर यो चित्र नै सर्वत्र उत्कृष्ट चित्र भने होइन । यो अध्ययनले काम गर्नुपर्ने क्षेत्र धेरै रहेको औँल्याएको छ । तर भोलिका दिनमा प्रशस्तै ध्यान दिनुपर्ने अवस्था छ । यो अध्ययनपछि सिकाइमा प्रभाव पार्ने विभिन्न सकारात्मक तत्वहरु देखिए । सही उमेरमा कक्षा १० मा पुगेका विद्यार्थीको सिकाइ क्षमता एकदमै राम्रो पाइयो।
धेरै वा कम उमेरमा भन्दा सही उमेरमा विद्यालय भर्ना भएका विद्यार्थीको सिकाइ क्षमता बढी भएको पाइएको छ । समग्र स्कुल सिस्टममा ४ देखि ८ प्रतिशत कक्षा दोहोर्याउनेको सङ्ख्या रहेको पाइएकोमा त्यो प्रतिशत पनि समग्रमा घट्दै गएको छ ।
शिक्षामा लगानी बढ्यो भने सिकाइ उपलब्धिमा बढोत्तरी हुन्छ भन्ने सङ्केत त्यसले देखाएको छ । राम्रो सिकाइ उपलब्धिका लागि प्रभाव पार्ने अरु तत्व पनि देखिए । शिक्षित परिवारका बालबालिकाको सिकाइ उपलब्धि राम्रो पनि देखियो । मातृभाषी विद्यार्थीको उपलब्धि पनि राम्रो देखियो ।
यस्तै नियमित गृहकार्य गर्ने विद्यार्थीको सिकाइ उपलब्धि पनि राम्रो देखिएको छ । जहाँ भौतिक सुविधा राम्रो छ त्यहाँ सिकाइ राम्रो देखिएको छ । शिक्षकलाई तालिम दिइएका विद्यालयहरुमा पढाइ राम्रो भएको पाइएको छ ।
अङ्ग्रेजी, विज्ञान र गणितमा भने तुलनात्मक रुपमा सिकाइ उपलब्धि कमजोर रहेको पाइन्छ । विषयगत शिक्षकको कमी र प्रगोगात्मक उपकरणको कमीका कारण यस्ता खालको समस्या रहेको पाइएको छ । जसरी विज्ञानको लागि प्रयोगात्मक उपकरण चाहिन्छ, त्यसैगरी भाषाको लागि पनि चाहिन्छ । धेरै विद्यार्थीका लागि तेस्रो भाषा अङ्ग्रेजी हो । कोरा किताबी ज्ञानले मात्र सही ज्ञान दिँदैन ।
सिकाइलाई प्रभावकारी बनाउनका लागि केही विषयमा सरकारको ध्यान जान जरुरी देखिन्छ । हाम्रा विद्यालयहरुमा सिकाइका सुविधाहरु, भौतिक सुविधाहरु, सिकाइका वैकल्पिक प्रबन्धहरु, प्रविधिगत सुविधाहरु सबै विद्यालयहरुमा समानुपातिक रुपमा वितरण भएको छैन ।
विद्यालयहरुले त्यसरी व्यवस्था गर्न सकेका छैनन् । कुन-कुन विद्यालयको भौतिक अवस्था सुधार्नका लागि कति लगानी गरिए, कुन-कुन क्षेत्रमा कमी भयो भनेर हेर्नुपर्ने देखिन्छ । जुन विद्यालयमा भौतिक रुपमा सहजता छ, राम्रो लगानी भएको छ, त्यहाँ विद्यार्थीहरुको सन्तुष्टि पनि उच्च पाइन्छ ।
खासगरी भौतिक सुविधाले गर्दा त्यहाँ सिकाइका अवसरहरु प्रशस्तै देखिन्छ । कर्णाली प्रदेशका हिमाली जिल्लाहरु र सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का कतिपय विद्यालयहरुमा सिकाइ उपलब्धि कमजोर भएको देखिन्छ ।
सरकारले भौतिक सुविधा विस्तारका कार्यक्रमहरु अगाडि बढाउन आवश्यक छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पनि प्रशस्तै बजेटहरु विनियोजन भएका छन् । यसलाई कमजोर भौतिक सुविधा भएका विद्यालयहरुतर्फ अगाडि बढाउन आवश्यक छ ।
नेपाली भाषा आफ्नो मातृभाषा भएका विद्यार्थीको सिकाइ प्रभावकारी देखिएको छ । विद्यार्थीहरुको सन्तुष्टि केन्द्रित शिक्षकहरुको सिकाइ भएमा त्यसलाई जोड दिएर सिकाइका कामहरु अगाडि बढनुपर्ने देखिन्छ ।
शिक्षकहरुको विषयवस्तुको ज्ञान राम्रो छ तर विद्यार्थीको सन्तुष्टिलाई ध्यानमा राखेर विद्यार्थीको उपलब्धिलाई ध्यानमा राखेर, पठनपाठन गरेकाहरुको सिकाइ उपलब्धि प्रभावकारी देखिएको छ ।
शिक्षकहरुको सिकाइ शैलीमा पनि विद्यार्थीसँगको सम्बन्धको संरचनालाई पनि ध्यान दिनु जरुरी देखिन्छ । औपचारिकताका लागि मात्र शिक्षण नगरेर विद्यार्थीको सिकाइ उपलब्धि बढाउने तरिकाले पठनपाठन गर्नुपर्छ । खासगरी विद्यार्थी सन्तुष्टिमा केन्द्रित भएर शिक्षण शैली अपनाउनका लागि एक प्रकारको जागरण लिएर आउनुपर्ने हुन्छ ।
हेर्नुहाेस् प्रतिवेदन :
(शैक्षिक गुणस्तर मापन केन्द्रका महानिर्देशक शिव कुमार सापकोटासँग गरिएको कुराकानीमा आधारित )
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।