कालीकाेट जीप दुर्घटनाका दुई घाइतेलाई थप उपचारका लागि सुर्खेत लगियो

 भदौ १४, २०७८ सोमबार १६:२३:९ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कर्णाली करिडोरको खुलालु–लैफु सडक खण्डअन्तर्गत सान्नी त्रिवेणी २ आमतडामा हिजाे आइतवार बिहान भएको जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि सुर्खेत लगिएको छ ।  

हिजो मौसम खराबका कारण हेलिकप्टर आउन नसकेपछि घाइतेहरूलाई जिल्ला अस्पताल कालीकोट ल्याएर उपचार गरिएको थियो । घाइते ११ जनामध्ये रास्कोट नगरपालिका ९ का नरपती लुवार र लक्ष्मी बराललाई थप उपचारका लागि सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । अन्य घाइतेको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ ।

हिजाे बिहान साढे ११ बजे जीप दुर्घटना भएकाे भए पनि कर्णाली करिडोरमा पहिरो गएको र अविरल वर्षा भएकाले घाइतेहरूलाई उपचारका लागि सदरमुकाम मान्म ल्याउन ६ घण्टाभन्दा बढी समय लागेको थियो । 

घाइतेहरूलाई हेलिकप्टरमा सुर्खेत लैजान पहल गरिए पनि प्रतिकूल मौसमका कारण प्रहरी र स्थानीयवासीले हुल्मसम्म पानीमा भिज्दै स्ट्रेचर र त्यसभन्दा माथि मान्मसम्म एम्बुलेन्समा ल्याइएको प्रजिअ कृष्णप्रसाद आचार्यले बताउनुभयो  । आइतवार सुर्खेतबाट उडेको नेपाली सेनाको हेलिकप्टर दैलेखसम्म पुगेर फर्किएको थियो । 

सान्नीगाडबाट जितेतर्फ आउँदै गरेको मानसरोवर यातायातको कर्णाली १ ज २३ नम्बरको यात्रुवाहक जीप आमतडाको उकालोमा चढ्न नसकेर पछाडि जाँदा दुर्घटनामा भएको थियो । जीप कर्णाली नदीको किनारामा खसेको छ । दुर्घटनामा सान्नी त्रिवेणी २ सेरिजिउलाका २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै ज्यान गएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया