पूर्व–पश्चिम राजमार्गकाे नवलपुर खण्ड अझै सहज रूपमा सञ्चालनमा आउन सकेन

 भदौ १४, २०७८ सोमबार १६:५९:४९ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी : पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड अझै सहज रूपमा सञ्चालनमा आउन सकेको छैन । गएको बिहीवार राति ९ बजे बाढीले डाइभर्सन बगाउँदा बन्द भएकाे सडक अझै सहज रूपमा सञ्चालनमा आउन सकेको छैन । 

पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा नवलपुरको गैँडाकोट नगरपालिका २३ स्मृति नजिक बनाउन लागिएको पुलको ठाउँमा बनाइएको डाइभर्सन बाढीले बगाएको हो । पाँच दिनदेखि राजमार्ग बन्द भइ सहज रूपमा सञ्चालनमा आउन नसक्दा राजमार्गमा गाडीकाे लामो लाइन लागेको छ । बाढीले बगाएको डाइभर्सनको दुवैतर्फ गरेर झन्डै २० किलोमिटर लामो लाइन लागेको छ । 

अहिले पनि दुई/चार वटा गाडी वारपार गराउँदै पुनः डाइभर्सन मर्मत गर्ने गरिएको छ । डाइभर्सन निर्माण गरिएकाे भए पनि हिलो र दलदलले सहज रूपमा गाडी वारपार हुन सकिरहेका छैनन् । आज पानी नपरे भाेलि मङ्गलवारसम्ममा बाटाे दुईतर्फी सञ्चालन हुन सक्ने अनुमान गरिएको छ । 

अहिले एम्बुलेन्स, साना गाडी र यात्रुवाहक बसलाई प्राथमिकता दिएर वार/पार गराउने गरिएको छ । तर डाइभर्सन भत्किएको भन्दा अन्य ठाउँमा लेन मिचेर ओभरटेक गर्ने गर्दा जाम छिचोल्न घण्टाैँ समय लाग्ने गरेकाे छ ।  

अन्तिम अपडेट: चैत २२, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया