पूर्व-पश्चिम राजमार्गको नवलपुरमा एकतर्फी गाडी सञ्चालन, यात्रा असहज

 भदौ १५, २०७८ मंगलबार ९:१:५३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - पूर्व-पश्चिम राजमार्गको नवलपुरमा एकतर्फी गाडी चल्न थालेका छन् । नवलपुरको गैँडाकोट-२३ स्मृति नजिकबाट गाडी गुड्न थालेका हुन् । बाढीले डाइभर्सन बगाउँदा गएको बिहीवारदेखि राजमार्ग बन्द भएको थियो ।

अहिले नयाँ डाइभर्सन बनेपछि एकतर्फी गाडी चलाउन सकिएको हो । गएको शनिवार नै नयाँ डाइभर्सन राखिएको थियो । तर, लगातारको वर्षाका कारण हिलो जम्दा गाडी वारपार हुन सकेका थिएनन् । हिजोदेखि पानी पर्न कम भएसँगै डाइभर्सनकाे मर्मत गरिएको थियो ।

मर्मत पछि एकतर्फी गाडी चलाउन सकिएको प्रहरीले जनाएको छ । एकतर्फी मात्रै गाडी चलेकाले पाँच दिनसम्ममा रोकिएका गाडी पास हुन भने समय लाग्ने भएको छ । राजमार्ग बन्द भएपछि पूर्व र पश्चिम दुईतिर गरी झण्डै २० किलोमिटरसम्म गाडीको लामो लाइन लागेकाले जाममा फसेका गाडी वारपार भएर यात्रा सहज हुन समय लाग्ने भएकाे छ  । लेन मिचेर सडकमा राखिएका गाडीका कारण पनि गाडीको ओहोरदोहोरमा समस्या भएको छ ।

डाइभर्सन भएको ठाउँ कटे पनि अन्य ठाउँमा लेन मिचेर राखिएका गाडीलाई गर्दा जाम कट्न घण्टाैँ लाग्ने गरेको छ । ट्राफिक प्रहरीलाई जाम व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । बाढीले क्षति गरेपछि नारायणगढ-बुटवल सडक खण्डका अन्य ६ ठाउँमा पनि नयाँ डाइभर्सन बनाइएको छ । यसबाहेक नवलपुरको झण्डै ६५ किलोमिटर क्षेत्र र दाउन्नेको १४ किलोमिटर क्षेत्र पार गर्न निक्कै कठिन रहेको छ ।

राजमार्ग विस्तार सुरुको ठेक्का भएयता सडक विभागले यो राजमार्ग मर्मत गरेको छैन । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले समेत मर्मतमा चासो नदिँदा राजमार्गमा ठूला-ठूला खाडल परेका छन् । यसले गर्दा पूर्व-पश्चिम राजमार्गको नवलपुर खण्ड छिचोल्न निक्कै सास्तीपूर्ण हुने गरेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया