लमजुङमा कांग्रेसको वडा अधिवेशन तयारी

 भदौ १६, २०७८ बुधबार २०:२८:३५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा पनि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशन अन्तर्गत वडा तहको चुनाव भदौ १८ गते हुने निश्चित भएसँगै जिल्लामा कांग्रेसका नेता तथा कार्यकर्ताको चहलपहल बढ्न थालेको छ ।

केन्द्रीय निर्वाचन समितिले लमजुङमा खटाएका जिल्ला निर्वाचन अधिकृत थानेश्वर दुवाडी र नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङबीच बुधवार बसेको बैठकले भदौ १८ गते वडा अधिवेशन गर्ने सुनिश्चित गरेसँगै तयारी प्रारम्भ भएको पूर्व पार्टी सभापति एवम् कांग्रेस नेता तुलसीनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

‘जिल्लामा वडा अधिवेशन एक/दुई दिन तलमाथि हुन्छ कि भन्ने द्विविधा थियो तर आजको बैठकले भदौ १८ गते नै वडा अधिवेशन गर्ने सुनिश्चित गरेको छ । अब अधिवेशनको तयारी सुरु भएको छ,’ उहाँले भन्नुभयो ।

लमजुङमा वडा अधिवेशन सम्पन्न गराउनका लागि भातृ सङ्गठन नेपाल शिक्षक सङ्घमा आवद्ध व्यक्तिलाई मतदान अधिकृतका रूपमा खटाइने भएको छ ।

लमजुङमा ७५ वडा रहेका छन् । वडा अधिवेशनका लागि हरेक वडामा एक/एक जनाका दरले शिक्षक सङ्घमा आबद्ध व्यक्तिलाई मतदान अधिकृतका रूपमा खटाइने पार्टीले जनाएको छ ।

वडाको अधिवेशन आउन अब केही दिन मात्रै बाँकी रहँदा लमजुङमा वडा–वडामा नेता, कार्यकर्ताबीच भेला, छलफल हुन थालेको नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति बिर्खराज गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार लमजुङमा भदौ १८ गते वडा अधिवेशन, भदौ २७ गते पालिकास्तरीय अधिवेशन, असोज १ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र असोज ५ गते जिल्ला अधिवेशन हुँदैछ ।

उहाँका अनुसार लमजुङका सबै वडाबाट समावेशी रूपमा क्षेत्रीय प्रतिनिधि चुनिएर आउँछन् । ती प्रतिनिधिले नै नगर अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गराउनेछन् ।

एक सय ५० जनासम्म क्रियाशील सदस्य रहेका वडाबाट १६ जना, दुई सय ५० भन्दा बढी क्रियाशील सदस्य रहेका वडाबाट २६ जना र तीन सय ५० जनाभन्दा बढी क्रियाशील सदस्य रहेका वडाबाट ३६ जना क्षेत्रीय प्रतिनिधि चुनिएर आउनेछन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया