घरमै सुत्केरी हुने घट्दै, ‘हेलो आमा’ कार्यक्रम प्रभावकारी बन्दै

 भदौ १७, २०७८ बिहिबार २०:२५:१९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको दोर्दी गाउँपालिकामा सञ्चालित ‘हेलो आमा’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकामा घरमै हुने सुत्केरी (होम डेलिभरी) लाई न्यूनीकरण गर्ने लक्ष्यका साथ गएकाे वर्षदेखि यो कार्यक्रम सुरु गरिएको हो ।

यस कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा प्रसूति  गराउने महिलालाई प्रोत्साहन स्वरूप उपहारको व्यवस्था गरेसँगै घरमै हुने सुत्केरी सङ्ख्या घट्दै गएको र कार्यक्रम प्रभावकारी बन्दै गएको स्वास्थ्य शाखा दोर्दी गाउँपालिकाका हेल्थ असिस्टेन्ट सुजन सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रमअन्तर्गत सरकारको प्रोटोकलअनुसार स्वास्थ्य संस्थामा गइ चार पटक गर्भ जाँच गराएका गर्भवती महिलालाई पाँच सय रुपैयाँ बराबरको अण्डा, चना उपहार स्वरूप प्रदान गरिने गरिएको छ ।

यस्तै स्वास्थ्य संस्थामै गएर प्रसूति गराएका महिलालाई पाँच सय रुपैयाँ बराबरको ‘हाइजिन किट’ र सरकारको प्रोटोकलअनुसार तीन पटक सुत्केरी जाँच गराएका सुत्केरी महिलालाई पनि पाँच सय रुपैयाँ बराबरको घिउ उपलब्ध गराउने गरिएको छ । 

यसैगरी आर्थिक अवस्था कमजोर भएका महिलालाई ‘डेलिभरी’ का लागि प्रसूति केन्द्रसम्म ल्याउनका लागि नियमअनुसार यातायात खर्चसमेत उपलब्ध गराइएको छ ।

उहाँका अनुसार यस कार्यक्रमअन्तर्गत गएकाे वर्ष भारतेका चार जना, पाचोकका चार जना, ढोडेनीका एक जना, फलेनीका दुई जना, बन्सारका १२ जना, नौथरका पाँच जना गरी २८ जना महिलालाई ‘डेलिभरी’ का लागि प्रसूति केन्द्रसम्म लैजान नियमअनुसार न्यूनतम पाँच सयदेखि अधिकतम चार हजार रुपैयाँसम्म प्रदान गरिएको छ ।

यस्तै भारतेका ११ जना, अर्चलबोटका नाै जना, श्रीमन्ज्याङका आठ जना, नौथरका नाै जना, पाचोकका १६ जना, ढोडेनीका २० जना, फलेनीका १७ जना, बन्सारका २७ जना, हिलेटक्सारका १० जना, नौथरका १० जना गरी एक सय ३७ जना महिलालाई चना, अण्डा उपहार स्वरूप प्रदान गरिएको छ ।

गाउँपालिकाभित्रका एक सय ४३ जना महिलालाई ‘हाइजिन किट बक्स’ र एक सय २३ जना महिलालाई घिउ प्रदान गरिएको छ ।

यस्तै गएकाे वर्ष गाउँपालिकाभित्रका एक सय ४३ जना महिलाको घरमै पुगेर सुत्केरी जाँच गराइएको शाखाले जनाएको छ ।

‘यस कार्यक्रम सञ्चालन भएपछि तुलनात्मक रूपमा घरमै हुने सुत्केरी सङ्ख्यामा कमी आएको छ । कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसलाई निरन्तरता दिइने छ,’ सुनारले भन्नुभयो ।

स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने महिलालाई विगतमा प्रदान गरिँदै आएको पाँच सय रुपैयाँमा यस वर्षदेखि पाँच सय थप गरी एक हजार रुपैयाँ प्रदान गरिने पनि उहाँले बताउनुभयो ।

गाउँपालिकामा घरमै हुने सुत्केरी (होम डेलिभरी) लाई न्यूनीकरण गर्दै केही वर्षमै ‘होम डेलिभरी’ लाई शून्यमा झार्ने लक्ष्यका साथ यस कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

गाउँपालिकाका अनुसार ‘हेलो आमा’ कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पालिकाभित्र रहेका १० वटा स्वास्थ्य केन्द्रमा रहेका एक–एक जना अनमीलाई फोकल पर्सन तोकी खटाइएको छ ।

फोकल पर्सनले फोनमार्फत नै गर्भवती महिला, सुत्केरी महिलालाई आवश्यक स्वास्थ्य परामर्श दिँदै आएका छन् ।  

अन्तिम अपडेट: चैत २६, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया