बन्दुक पड्केको सुनेर भाग्न छाडे बाँदर

 भदौ १८, २०७८ शुक्रबार १५:७:३६ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै – अघिल्लो वर्ष २०७७ सालमा स्याङ्जाको पुतलीबजार नगरपालिकाले बाँदर धपाउन किसानलाई बन्दुक बाँड्यो । तर, पछिल्लो वर्ष २०७८ सम्म आइपुग्दा बन्दुकको आवाज सुनेर बाँदर भाग्न छाडे । 

नगरपालिकाले दुई सय ९५ टोलमा विभिन्न थरी गरी पाँच लाख रुपैयाँ बराबरको निःशुल्क बन्दुक बाँड्यो । एक टोल एक बन्दुक नगरपालिकाको बन्दुक बाँड्ने मापदण्ड थियो । तर, आवश्यकता हेरी केही टोलमा दुई/तीन वटा पनि बन्दुक बाँडेको छ नगरपालिकाले । 

बन्दुकको आवाज सुनेर केही दिन त बाँदर भागे पनि । तर बन्दुकले केही नगर्ने रहेछ भन्ने थाहा पाएपछि बाँदर भाग्न छाडे ।

पहिले बन्दुकले काम गर्थ्याे

स्याङ्जा पुतलीबजार नगरपालिकाका मेयर सीमाकुमारी क्षेत्री भन्नुहुन्छ, ‘दुई/चार ठाउँमा हामी आफैँ फिल्डमा गएर हेरेका थियौँ । त्यस बेला बन्दुक पड्काउँदा बाँदर बेतोडले भागेका थिए । त्यस कारण प्रभावकारी भयो भन्ने लागेको थियो ।’

तर, पछिल्लो वर्ष आउँदा भने ती बन्दुक प्रभावकारी देखिएनन् । 

‘सुरुमा प्रभावकारी भयो, तर पछि बाँदरले आवाजले केही नहुने रहेछ भन्ने बुझेपछि त्यति प्रभावकारी भएन’, क्षेत्री भन्नुहुन्छ ।

पुतलीबजारका गोविन्द पौडेल बाँदर आतङ्कबाट पीडित किसानमध्येका एक हुनुहुन्छ । यसपालि उहाँको पल्लो बारीको झन्डै पाँच/छ रोपनी बारीको सबै मकै बाँदरले खाए । 

‘बाँदरले धेरै दुःख दिएपछि पोहोर नगरपालिकाबाट बन्दुक लगेको हो । सुरुमा त बाँदर भाग्यो पनि । तर, पछि भने बाँदरले केही हुँदो रहेनछ भनेर थाहा पायो अनि टेर्न छाड्यो,’ पौडेल भन्नुहुन्छ ।  

‘पहिले त बन्दुक पड्काउँदा भागेका थिए । तर, भागे पनि एउटा गाउँबाट भागेर अर्को गाउँमा जाने गर्दा रहेछन् । पछि फेरि फर्केर आउने गर्न थाले,’ उहाँ भन्नुहुन्छ, ‘सुरुमा त पाँच/सात दिन नै फर्केर आउँदैनथे । पछि तीन/चार दिन नआउने गर्न थाले । अहिले भने डराउँदैनन् ।’

बाँदर धपाउने कुरा सुन्दा संसदमा हाँसो 

स्याङ्जा क्षेत्र नं १ का सांसद नारायणप्रसाद मरासिनीले बाँदरकाबारे संसदमा पहिलो पटक झन्डै तीन वर्षअघि कुरा उठाउनुभएको थियो । त्यति बेला अरू सांसद हाँसे । 

‘हाम्रो क्षेत्रका सांसदले जनताको दुःख, पीर मर्काका बारेमा संसदमा पनि कुरा उठाउनुभयो । तर, काठमाण्डौका अरू सांसदले त्यसको गम्भीरतालाई बुझ्नु भएन’, मेयर क्षेत्रीको गुनासो थियो । 

‘अरूहरूले त्यसलाई हाँसेर उडाउनुभयो । हामीले त्यो दृष्य टेलिभिजनमा हेरिरहेका थियौँ । दुःख लाग्यो,’ उहाँले दुखेसो पोख्नुभयो । 

सांसद मरासिनीले बाँदरले दिएको दुःखका बारेमा सङ्घीय संसदमा तीन पटक कुरा उठाइ सक्नुभएको छ । पछिल्लो पटक संसद् पुनर्स्थापना भएपछि पनि उहाँले यस विषयमा कुरा उठाउनुभयो । तर, त्यसले पनि खासै उपलब्धि भएन । 

‘हामीले जनताका कुरा उठाउँदा उहाँहरूले त्यसलाई बुझनुभएन र हल्का रूपमा लिनुभयो । तर, यहाँका जनताले बाँदरबाट कति दुःख पाएका छन् भन्ने कुरा उहाँहरूलाई थाहै छैन, त्यस कारण उहाँहरूले यो त उठाउने विषय नै होइन जस्तो पनि गर्नुभयो,’ सांसद मरासिनीले भन्नुभयाे ।  

विकल्पका लागि प्रस्ताव 

बन्दुक प्रभावकारी नभएपछि पुतलीबजार नगरपालिकाको नगर सभाले बाँदर व्यवस्थापनका लागि अन्य विकल्पका लागि दश लाख रुपैयाँको बजेटसमेत विनियोजन गरेको छ ।

‘बाँदर नियन्त्रणका लागि यस वर्ष पनि नगर सभाले वन्यजन्तु व्यवस्थापन शीर्षकअन्तर्गत दश लाख रुपैयाँ बजेट विनियोजन गरेको छ,’ मेयर क्षेत्रीले प्रस्तावका बारेमा भन्नुभयो, ‘अन्य विकल्पका लागि हामीले प्रपोजल समेत मागेका छौँ । तर, अहिलेसम्म कुनै त्यस्तो प्रपोजल आएको छैन,’ क्षेत्री भन्नुहुन्छ ।  

अघिल्लो वर्ष पनि नगरपालिकाले यस्तै प्रस्ताव आह्वान गरेको थियो । आह्वानअन्तर्गत नै नगरपालिकामा बन्दुकको प्रस्ताव आएको थियो । बाँदरका कारण नागरिकले दुःख पाएको गुनासो गरेपछि नगरपालिकाले प्रस्ताव स्वीकार गर्‍याे अनि पाँच लाख रुपैयाँको बन्दुक पनि किन्यो । 

बाँदर नियन्त्रणका लागि वन मन्त्रालयमा दुई दिनसम्म छलफल पनि चल्यो । तर, त्यसले खासै उपलब्धि हासिल भएन । 

सांसद मरासिनीको गुनासो थियो, ‘बाँदर नियन्त्रणकै लागि भनेर मन्त्रालयका कर्मचारी तथा विज्ञसँग बसेर दुई दिन छलफलमा बसियो । तर, उहाँहरूले पनि केही विकल्प दिन सक्नुभएन । आखिर बैठकले केही उपलब्धि दिन सकेन ।’ 

बाँदर नियन्त्रणका लागि जङ्गलमा बाँदरमैत्री फलफूल लगाउने उपायले पनि केही काम गरेको छैन । फलफूलका बोट थोरै हुने तथा बाँदरको सङ्ख्या धेरै भएपछि यो विधिले पनि काम गरेन ।

बन्दुकले कसरी गर्छ काम ?

झन्डै दुई २ मिटर जति लामो प्लास्टिककाे पाइपलाई दुई भागमा विभाजित गरी ‘मङ्की एयर गन’ बनाइएको हुन्छ । पाइपको तल्लो भाग अर्थात् ट्याङ्कीमा ग्यास उत्पादन गर्नका लागि कार्बोहाइड्रेड र पानी राखिन्छ । 

त्यसपछि ट्याङ्कीको भागमा बनाइएको प्वाल थुनेर मिश्रित पानी र कार्बोहाइड्रेड हल्लाएर बालेपछि ठूलो आवाज आउँछ । त्यही आवाज सुनेपछि बाँदर तर्सने र भाग्ने गर्छ । 

केरा पकाउनका लागि प्रयोग गरिने १० ग्राम कार्बोहाइड्रेडमा एक सय मिलिलिटर पानीको प्रयोग गरी एक पटक पड्काउन सकिन्छ ।

बाँदर धपाउने बन्दुक स्याङ्जा भीरकोट नगरपालिकाका भविश्वर कोइरालाले बनाउनुभएको हो । मोटर ग्यारेज र हार्डवेयर व्यवसायीसमेत रहनुभएका कोइरालाले ग्यारेजमा काम गर्दै गर्दा यन्त्रको विकास भएको हो । 

किसानको आक्रोश

बाँदर आतङ्कबाट हैरान भएका नागरिक बाँदर मार्न पाउने कानुन हुनुपर्ने बताउँछन् । तर, राज्यले भने वन्यजन्तु मार्न निषेध गरेको छ । 

किसान पौडेल भन्नुहुन्छ, ‘सबै ठाउँमा नभए पनि हामी बाँदर आतङ्कबाट पीडित जनतालाई हेरेर पनि मार्न पाउने कानुन ल्याउनुपर्ने हो ।’

बाँदरको बन्ध्याकरण गर्ने प्रस्ताव पनि आएको छ । तर, त्यो कठिन रहेको र फेरि त्यसका लागि भने राज्यस्तरबाटै सहयोग हुनुपर्ने देखिन्छ । 

‘मार्न नपाइने भएपछि भेटेनरीका हाकिम सापसँग बसेर सामुदायिक कुकुरजस्तै बन्ध्याकरण गर्न सकिन्छ कि भन्नेबारेमा पनि छलफल भएको छ,’ मेयर क्षेत्रीले भन्नुभयो, ‘बन्ध्याकरणले तत्कालै नभए पनि पछि गएर केही मात्रामा भए पनि सङ्ख्या नियन्त्रण गर्न सकिन्छ कि भनेर विचार गरेका हौँ ।’

बाँदर नियन्त्रणकै लागि साटफेरको नीति अवलम्बन गर्नुपर्ने उपायका बारेमा पनि किसानको सुझाव रहिआएको छ । किसान पौडेलको आक्रोश छ, ‘हाम्रो देशमा मार्न नपाइने कानुन भएका कारण जुन देशमा मार्न अनि मासु खान पाइन्छ त्यस्ता देशमा पो पठाउने हो कि ! बरु बाँदरको सट्टा काम लाग्ने केही लिएर आए भैगो नि ।’

बाँदर नियन्त्रणका लागि राज्यस्तरबाटै लाग्नुपर्ने सांसद मरासिनीको सोच छ । ‘यस विषयमा राज्य नै चिन्तनशील हुनुपर्छ । राज्य नै लाग्नुपर्छ । र, राज्यले नै सोच्नुपर्छ,’ उहाँ भन्नुहुन्छ । 

एउटै हुलमा एक हजारभन्दा धेरै बाँदर हुने हुँदा एकैछिनमा धेरै बाली नष्ट गर्ने गरेको छ बाँदरले । ‘एक पटकमा एक हजारभन्दा धेरै बाँदरको हुल आउने हुनाले नियन्त्रणमा लिने वा धपाउने भन्ने पनि सम्भव हुँदैन’, किसान पौडेल भन्नुहुन्छ, ‘बत्तीस घर किसानका सबै मकैबाली नष्ट गरिदियो बाँदरले । कतिपय किसानले त भाडामा लिएर खेती गरेका थिए । उनीहरू सबैको बाली बाँदरले सखाप बनायो ।’ 

किसानको बाली नष्ट गरेपछि उनीहरू सहयोगका लागि नगरपालिका पुगेका छन् । सांसद मरासिनी नगरपालिकाले उनीहरूको बाली नष्ट भएका आधारमा तथ्यगत ढङ्गले हेरेर क्षतिपूर्ति दिने व्यवस्था मिलाउनुपर्ने बताउनुहुन्छ । 

विज्ञका कुरा 

बाँदरको विषयमा विद्यावारिधि गर्नुभएका वन्यजन्तु विज्ञ डा. मुकेश चालिसे भने बाँदर वा अन्य वन्यजन्तुले किन दुःख दियो भन्नेबारेमा पहिले बुझ्नुपर्ने बताउनुहुन्छ । 

‘यी कुरा बुझेर व्यवहार नगरेसम्म हामी समस्याको समाधानमा पुग्दैनौँ । वन्यजन्तु नियन्त्रणका लागि सबैभन्दा पहिले उसको स्वभाव, चालचलन, वासस्थान, आनीबानी, सामाजिक संरचना हेरेर व्यवहार गर्नुपर्छ’, उहाँ भन्नुहुन्छ । 

‘वन्यजन्तुका वासस्थानमा मान्छेले आफूलाई फाइदा हुने कडा रुख लगाउन थाल्यो अनि कालिमुन्टी, सिर्रो, जामुनजस्ता बिरुवा भने काट्न पाउने नियम छ, यसरी कसरी हुन्छ ?’ उहाँको विज्ञता भन्छ । 

‘जनावरले आफ्नो मस्तिष्क क्षमताअनुसार अनुभवलाई सँगाल्ने र पछि त्यसको प्रयोग गर्ने गर्छ । त्यस कारण सुरु सुरुमा बाँदर भाग्यो । पछि यसले केही नहुने भन्ने थाहा पाएपछि टेर्न छोड्यो’, विज्ञ चालिसेकाे भनाइ छ ।  

भोको मानिसले जे पनि गर्छ भनेजस्तै हो वन्यजन्तुमा पनि । त्यसकारण ऊ ज्यान जोखिममा राखेर भए पनि मानिसको नजिक खान आउँछ । त्यसमा पनि उसले सजिलै खान सक्ने नरम खानेकुरा देखेपछि ऊ लोभिन्छ र खानकै लागि आउँछ भन्नुहुन्छ चालिसे । 

‘देखिने बाँदर, बाघ, चितुवा, हात्तीजस्ता वन्यजन्तुका बारेमा त हामी केही विधि निकालौँला तर, नदेखिने लोखर्के, मलसाँप्रो, दुम्सीजस्ता चिजलाई के गर्ने ?’ उहाँको प्रश्न छ ।

वन्यजन्तुका आनीबानी, चालचलन, स्वभाव र सामाजिक संरचना हेरेर व्यवहार नगरेसम्म यस्ता दुःख आइरहने चालिसे बताउनुहुन्छ । 

देशका कतिपय ठाउँमा अझै पनि बाँदर नियन्त्रणका लागि भनेर बन्दुक बाँड्ने गरिएको छ । तर, स्याङ्जाको पुतलीबजार नगरपालिकाका जनप्रतिनिधि र किसानको अनुभवले भने यसमा पुनर्विचार गर्नुपर्ने पो हो कि भन्नेबारेमा सोच्न बाध्य बनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Nabin Dumre

    Sept. 3, 2021, 5:01 p.m.

    संसदमा यो विषयमा छलफल हुनुपर्छ किनभने किसान मर्कामा छन् /

  •  0 Reply

तपाईको प्रतिक्रिया