रसुवामा अर्को वर्षदेखि अग्लो ठाउँबाट चिज उत्पादन गरिने

 भदौ २२, २०७८ मंगलबार १२:१०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - अर्को वर्षदेखि नेपालको अग्लो ठाउँबाट चिज उत्पादन सुरु गरिने भएको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङमा रहेको चिज उत्पादन केन्द्रले अर्को वर्षदेखि यालाखर्कबाट चिज उत्पादन सुरु गर्न लागेको हो । यो समुद्री सतहदेखि ५ हजार ५ सय मिटर क्षेत्रमा रहेको छ । यसभन्दा अगाडि नेपालको अन्य केन्द्रले यतिको उचाइबाट चिज उत्पादन गरेका छैनन् । 

अहिले केन्द्रले तीन ठाउँबाट चिज तथा मखन उत्पादन गर्दै आएको र अर्को वर्षदेखि एउटा शाखा थप गर्न लागिएको केन्द्र प्रमुख ग्याल्बु तामाङले बताउनुभयो । अहिले त्यस क्षेत्रमा कृषक छैनन् । ‘त्यहाँ अर्को वर्षबाट कृषकहरू जान्छन्’, उहाँले भन्नुभयो, ‘भूकम्प जानुभन्दा पहिले त्यहाँ कृषक जाने गरेका थिए ।’ त्यसपछि कृषकहरू यालाखर्क गएका थिएनन् । 

केन्द्रले अहिले क्यान्जिन, छेप्चे र लाङसिसाबाट चिज उत्पादन गर्दै आएको छ । केन्द्रको वार्षिक चिज उत्पादन क्षमता ६ हजार केजी रहेको छ । केन्द्रले यो वर्ष ५ हजार केजी चिज उत्पादन गर्ने लक्ष्य राखेको छ । ‘यो वर्ष हामी ५ हजार केजी चिज उत्पादन गर्छाैँ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म २ हजार केजी चिज उत्पादन भइसक्यो ।’ 

उत्पादन जेठबाट सुरु गर्नुपर्ने भए पनि कोभिड–१९ का कारण असारबाट मात्र सुरु भएको केन्द्रले जनाएको छ ।  केन्द्रले कार्तिकसम्म चिज उत्पादन गर्ने छ । केन्द्रका अनुसार अहिले दैनिक रूपमा १ सय ५० देखि २ सय लिटरसम्म दूध सङ्कलन भइरहेको छ । भूकम्प जानूपूर्व केन्द्रले वार्षिक ५ हजार केजी चिज उत्पादन गर्दै आएको थियो । पछिल्लो समय भने क्षमताभन्दा कम उत्पादन हुँदै आएको छ । 

भूकम्पपछि चौरीपालक कृषक घटेको, उपकरणको अभाव, जनशक्तिको अभाव, अगाडि पेस्की दिने कार्य रोकिनु, कोभिड–१९ लगायतका कारण क्षमता अनुसार चिज उत्पादन हुन नसकेको हो। 
केन्द्रले चिज प्रतिकेजी १ हजार ४ सय र मखन प्रतिकेजी १ हजार २ सय रुपैयाँमा बिक्री गर्दै आएको छ । पर्यटकीय क्षेत्र लाङटाङको क्यान्जिनमा रहेको चिज उत्पादन केन्द्र २००९ सालमा स्थापना भएको थियो । यो नेपालको पहिलो चिज उत्पादन केन्द्र हो । 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा रहेकाे पाङ्लेखर्क, चन्दनबारी र लाङटाङ तथा आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङमा चिज उत्पादन हुँदै आएको छ । वार्षिक ३६ हजार केजी चिज उत्पादन गर्ने क्षमता रहेको भए पनि पर्याप्त मात्रमा दूध सङ्कलन हुन नसक्दा ३४ हजारको हाराहारीमा चीज उत्पादन हुने गरेको केन्द्रहरुले जनाएका छन् ।

गत्लाङ, धुञ्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ । जिल्लामा वैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया