चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
तीजमा गीत कहिलेदेखि गाउन थालियो इतिहास स्पष्ट छैन । धार्मिक महत्वका हिसाबले तीजमा महादेव, पार्वतीको भजन गाउने परम्परा छ । तर, तीजमा भजन भन्दा पनि महिलाका विरह र वेदनाका गीत नै धेरै गुञ्जने गरेको पाइन्छ ।
पहिले पहिले महिलाको बिहे गरेर गएको घर टाढा हुने अनि माइतमा सासू, नन्द, देवरानी जेठानीले मानसिक यातना दिने हुँदा तीजमा वर्षभरीका ती वेदना, यातना र पीडा माइती आएर गीतका माध्यमबाट व्यक्त गर्ने चलन थियो ।
पहिले तीजमा वेदनाले भरिएका मौलिक गीत मात्र गुञ्जने गर्थे । तर, हिजोआज भने तीजका नाममा मौलिकता हराउँदै गएको गुनासो छ लोक गायिका बिमाकुमारी दुराको ।
‘हाम्रो पालामा तीज गीत यस्ता हुँदैनथे’ उहाँ भन्नुहुन्छ, ‘यो सबै आफूमा भर पर्ने कुरा हो । आफू कसरी हिंडने भनेर आफूले नै निक्र्योल गर्नुपर्छ ।’
अहिलेका गीतले तीजको मौलिकता, महिलाको वेदना तथा मर्मलाई बोक्न नसकेको दुराको अनुभव छ । हामी आफू पनि यही समाजमा बस्ने हुनाले समाजमा कसरी हिंड्ने भन्ने कुरा आफैंले विचार गर्नुपर्ने उहाँको तर्क छ ।
‘कता कसरी जाने र समाजमा कसरी हिंड्ने त्यसका बारेमा आफैंले सोच्नुपर्छ,’ उहाँको सोच छ । तर, अहिले भने तीजमा मौलिक गीत बज्न छोडेर डिस्को जाने मार्काका गीत बज्न थालेकोमा उहाँको चिन्ता छ ।
‘पहिले हामीले जान्दासम्म मामाघर जाँदा चेलीमात्र जाने अनि नाचगान गाउने चलन थियो । तर, अहिले त सबैले गीत गाउने नाच्ने चलन आएको छ । यसले तीजको मर्म हरायो,’ उहाँको असन्तुष्टि छ ।
अहिले गीत गाउने भन्दा पनि नाच्ने र हेर्ने उद्देश्यका साथ बनाउने गरिन्छ । यसो हुँदा यसले मौलिकता भन्दा धेरै विकृती निम्त्याएको अर्की गायिका शर्मिला गुरुङको चिन्ता छ । ‘पहिले हाम्रा आमा दिदीले गाउँदा अझै मौलिक भाका थियो । हामीले त्यसलाई सकेसम्म पच्छ्याउने कोशिश गर्यौं तर, अहिले भने त्यस्तो छैन,’ मौलिकताप्रति उहाँको चासो देखिन्छ ।
पहिले महिलाले तीज गीत मार्फत उत्पीडन, मनका गुम्फन बाहिर निकाल्थे । तर, अहिले भने सुन्ने भन्दा हेर्ने र नाच्ने गीत बन्ने गरेका कारण यसले आफ्नो स्वभाविकता गुमाएको गायिका गुरुङको ठहर छ ।
तीजको गीतकाबारे कुरा गर्दा ‘तीजको रहर आयो बरीलै’ भन्ने तीज गीत सदाबहार गीतका रुपमा रहेको देखिन्छ । पूराना तथा नयाँ सबैले यो गीत रुचाएको देखिन्छ । अनि तीजका जतिसुकै आधुनिक गीत गाइए पनि यसबाट बीट मार्ने वा प्रारम्भ गर्ने गरेको प्रायः तीज समारोहमा देखिन्छ ।
चेतन कार्कीको शब्द रहेको यो गीत मौलिक तथा रिमेक गरी धेरै बज्ने गरेको पाइन्छ । चलचित्र कन्यादानको यो गीत युट्युबमा राखिएपछि एक करोड ७० लाख पटक हेरिएको छ । ‘तीजको गीत मौलिक नै हुनुपर्छ भनेर हामीले भन्दै आइरहेका छौं । र, मौलिक गीतलाई हामीले् फलो पनि गरिरहेका हुन्छौं,’ गुरुङ मौलिक गीत प्रतिको आफ्नो अडान दोहोर्याउनु हुन्छ ।
‘तीज गीत भनेर अचेल झ्याउरे र रत्यौली भाकाका गीत आइरहेका छन । त्यस्ता गीतलाई त तीज गीत भन्न मिल्दैन,’ गुुरुङ प्रष्ट्याउनु हुन्छ, ‘अहिलेका तीज गीत त गाउँ घरका तिरका झ्याउरे र रत्यौली खेल्दा गाइने गीत जस्तो सुनिन्छ ।’
तीज गीतमा मौलिकता हराउँदै जानुको अर्को कारण भनेको गीतको अहिलेको बजार पनि हो । फैलँदो बजार र बढ्दो प्रतिस्पर्धा तथा हरेक भ्यूजपिच्छे सर्जकले देख्ने पैसाले सर्जकलाई मौलिकता भन्दा बढी व्यावसायिक बनाएको छ, बढ्दो व्यवसायिकरणमा उहाँको मत छ । व्यवसायिकरणसँगै तीज गीत पुरुषले पनि गाउने प्रचलन सुरु भयो ।
‘पहिले तीजमा पुरुषले गीत गाउने प्रचलन नै थिएन । यो पछि आएको प्रचलन हो,’ गायिका बिमाकुमारी दुरा सम्झनुहुन्छ, 'पहिले खासमा पुरुषले तीज गीत नै गाउँदैनथे । गाए पनि दाजुभाइ बनेर गाउँथे । अहिलेका गीत त के हो के हो !’
यस्तै गुनासो गायिका शर्मिला गुरुङको पनि छ, ‘पुरुषले तीज गीत गाउने हाम्रो परम्परा होइन । तर, पछिल्लो समय त पुरुषकै गीत बढी सुनिन्छ ।’
समय, परिस्थिति र परिवेश फेरिएका कारण पनि तीज गीतको स्वरुप फेरिएको हो । पहिले पहिले हुने महिलाका वेदना र व्यथाका स्वरुप फेरिएका छन त्यसले पनि स्वरुप फेरिएका हुन् । तर, वेदना र व्यथाको स्वरुप फेरिए पनि ती गीतमा नआएको गुनासो छ गायिका दुराको ।
‘मौलिक नै नभए पनि केही मात्रामा भए पनि महिला दिदीबहिनीका पीडा र व्यथा त आउनु पर्यो नि,’ उहाँको भनाइ छ । पुरुषले तीज गीत गाइनै सकेपछि त्यसलाई सकेसम्म मौलिक तथा महिलाका कथा व्यथा समेटिदिए हुन्थ्यो भन्ने आग्रह छ गुरुङको ।
‘पुरुषले गीत गाइसकेपछि ती गीतले पनि मौलिकता र महिलाको पीर वेदनालाई समेटिदिए अझ राम्रो हुन्थ्यो । तर, अहिलेका गीत त उच्छृङखल र व्यापार गर्ने मात्रै भए,’ गुरुङले गुनासो गर्नुभयो ।
पछिल्लो समय तीज गीतका भिडियोमा भड्किलो पहिरन, पश्चिमी शैलीको डान्स अनि चर्का वाद्ययन्त्रको प्रयोग बढ्दै गएको छ । अझ त्यसमा भिडियो हिट गराउने नाममा गीतका बीचमा हास्यरस, छाडा र दोहोरो अर्थ लाग्ने शब्दको प्रयोगले तीजको मौलिकपन हराउँदै गएको छ ।
यसको कारण पनि दर्शक नै रहेको गुरुङको भनाइ छ । मौलिक तथा शालिन किसिमका गीतहरु नचल्ने र कलाकारले जहिले पनि दुःख पाउने गरेका कारण पनि अहिले जसरी पनि कमाउने नाममा तीज गीतमा यस्तो विकृति भित्रिएको उहाँले बताउनुभयो ।
तर, पैसाका नाममा आफ्नो मौलिकता तथा पहिचान समाप्त गर्नु कत्तिको उचित हो त्यसको मूल्याँकन भने अरुले नभएर आफैंले गर्नुपर्ने हुन्छ ।
तीज मौलिक मात्र नभएर साँस्कृतिक पर्व पनि हो । यसको मौलिकता जोगाई राख्नु जरुरी छ । यसको मर्म र पहिचान जोगाई राख्न सके यसले नेपालीको मौलिक तथा साँस्कृतिक पहिचानलाई जोगाई राख्न अवश्य नै मद्दत गर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।