के हो निपा भाइरस ?

 भदौ २९, २०७८ मंगलबार ९:२:१२ | डा. समिर अधिकारी
unn.prixa.net

भारतको केरला लगायतका केही ठाउँमा निपा भाइरसका सङ्क्रमित भेटिएका छन् । निपा भाइरसबाट केरलामा १२ वर्षका एक जना बालकको ज्यान गइसकेको छ । यसले नेपालमा पनि जोखिम बढाएको छ । 

निपा भाइरस जनावरहरुबाट मानिसमा सर्ने एक प्रकारको प्राकृतिक सङ्क्रामक रोग हो । फलफूलहरु खाने खालका चराचुरुङ्गीहरु तथा जनावरहरु विशेषगरी चमेरो प्रजातिबाट यो रोग सर्ने सम्भावना हुन्छ । 

चमेरो लगायतका प्रजातिले फलफूल खाँदा फलफूलमा रोगको सङ्क्रमण हुने र त्यही फलफूल मानिसले खाँदा यो रोग सर्ने जोखिम हुन्छ । सङ्क्रमित व्यक्तिको दिसा, पिसाब र रगतबाट पनि यो रोग सर्ने जोखिम रहन्छ । 

छिमेकी भारतमा देखिएका धेरैजसो रोगहरु नेपालमा पनि देखिने गरेका इतिहासहरु प्रशस्तै छन् । मानिसबाट मानिसमा, जनावरबाट मानिस वा जनावरबाट जनावरमा देखिने धेरैजसो रोगहरु भारतमा फैलिएसँगै नेपालमा पनि फैलने गरेको छ ।

कोरोनाको पहिलो र दोस्रो लहरमा भारतमा जोखिम बढ्ने बित्तिक्कै नेपालमा पनि जोखिम बढेको थियो ।  विगतमा भारतमा देखिएका अरु महामारीहरु पनि  भोग्यौँ । यसका कारण दक्षिण भारतमा देखिएको निपा भाइरस सङ्क्रमणको जोखिम नेपालमा पनि देखिएको हो ।  

सर्ने तरिका 

भारतमा बिस्तारै फैलँदै गरेको निपा भाइरस नेपालमा आइपुग्न सक्ने भएकाले उच्च सावधानी अपनाउन आवश्यक छ । नेपाल भारत खुला सीमा भएकाले भारतबाट यो रोगको सङ्क्रमण नेपाल भित्रने जोखिम छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गरेर नेपालमा आउँदा सँगै रोग ल्याउने वा एकअर्काको सम्पर्कमा आउँदा सर्ने  सम्भावना उच्च हुन्छ ।  

एक व्यक्तिको शरीरबाट निस्कने, दिसा, पिसाब, रगत लगायतको प्रत्यक्ष सम्पर्कबाट अर्को व्यक्तिमा रोग सर्न सक्ने हुन्छ । त्यसको अलावा प्रत्यक्ष सम्पर्कबाट पनि सर्न सक्छ । कोरोना भाइरस जसरी सर्छ, त्यो माध्यम निपा भाइरस सर्नका लागि पनि सहज हुन सक्छ ।

लक्षणहरु

​निपा भाइरसको सङ्क्रमण भइसकेपछि अरु खालका भाइरसका कारण देखिने जस्तै  समस्याहरु देखिने गर्छन् । टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, लगायतका समस्याहरु हुन्छन् ।

निपा भाइरसका लक्षणविहीनदेखि सामान्य तथा गम्भीर खालका लक्षणहरु हुन सक्छन् । सुरुमा यसले मस्तिष्क सुनिन्छ जसलाई इन्सेफ्लाइटिस पनि भनिन्छ । यसले ज्यान पनि जान सक्छ । भाइरसको सम्पर्कमा आएको २ हप्ताभित्रको समयमा लक्षणहरु देखा पर्न सक्छन् । ४५ दिनसम्म पनि लक्षणहरु देखिन सक्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सङ्क्रमितमा ज्वरो तथा टाउको दुख्ने लक्षण ३ दिनदेखि २ हप्तासम्म पनि देखिन सक्छ । 

अहिले देखिएका रोगहरु जस्तै : कोरोना, डेङ्गी, स्क्रब टाइफस लगायतका रोगका लक्षणसँग निपा भाइरसका लक्षणहरु पनि मिल्छन् । तर केही लक्षणहरु भने अलि फरक देखिन्छ । त्यो आफैँले अनुमान गर्नुभन्दा अस्पतालमा डाक्टरहरुले लक्षण र परीक्षणका आधारमा पत्ता लगाउँछन् । 

पुरानै भाइरस

निपा अहिले पत्ता लागेको नयाँ भाइरस होइन । विगतमा यो भाइरसका कारण मानिसहरु सङ्क्रमित भएका थिए ।  ठूलै महामारीको रुपमा धेरै सङ्क्रमण भने फैलिएको थिएन । निपा भाइरस सबैभन्दा पहिले सन् १९९० मा मलेसियामा देखिएको भनिन्छ ।  यसको अहिलेसम्म खोप बनेको छैन । यसको उपचार पनि बिरामीलाई सहज पार्न सहयोग गर्ने मात्रै हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, यसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म रहेको छ । नेपालमा अहिलेसम्म यो भाइरसका सम्भावित लक्षणहरु देखिएको छैन । तर  सम्भावित व्यक्तिहरु नै छैनन् भन्न खोजिएको होइन । यसबारे सर्वसाधारण सबैलाई सुसूचित गर्न आवश्यक छ । त्यो काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्दै आएको छ । यसप्रति निगरानी बढाउने कामको पनि सुरुवात भएको छ ।

अपनाउनुपर्ने सावधानी

सङ्क्रमणको लक्षण देखिएर परीक्षण गर्नुभन्दा सङ्क्रमण हुनै नदिनका लागि सचेत हुनुपर्छ ।  त्यही अनुसारको व्यवहारहरु गर्नुपर्छ ।  जङ्गली जनावरहरुले जुठो बनाएका फलफूल तथा तरकारी नखाने, पकाएर खानुपर्ने  तरकारीहरु राम्ररी पखालेर, पकाएर मात्र खाने गर्नुपर्छ । त्यसो गर्न सके सङ्क्रमण हुन सक्ने सम्भावनाबाट  बच्न सकिन्छ ।

सङ्क्रमण सार्न सक्ने सम्भावित जनावरको सम्पर्कमा नआउने, जनावरले जुठो बनाएका खानेकुराहरु प्रयोग गर्नु हुँदैन ।  कुनै पनि रोगको सङ्क्रमण नै हुन नदिनु बुद्धिमानी हो । भाइरस सङ्क्रमण हुने र त्यसले निम्त्याउन सक्ने जटिलतातर्फ ध्यान केन्द्रीत गर्नुभन्दा सङ्क्रमण हुनै नदिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाउनुका साथै अन्य तयारीहरु पनि  गरिरहेको छ । सरकारले गर्ने रोकथामसँगै सङ्क्रमण फैलन नदिनका लागि सर्वसाधारण पनि उत्तिकै सजग हुन आवश्यक छ । फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारीहरु पनि पखालेर पूर्ण रुपमा पकाएर खाने गर्नुपर्छ ।

गाईबस्तुको फार्महरु राम्ररी सफा गर्ने, मासु काट्दा वा पकाउँदा पञ्जा, मास्कको प्रयोग गर्ने, बेलाबेला साबुन पानीले हात धुने, कोरोनाबाट बच्नका लागि जस्तै भीडभाडमा नजाने, मास्कको प्रयोग गर्ने लगायतका सतर्कता अपनाउनुपर्छ । 

(स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीसँग गरिएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: असोज ४, २०७८

डा. समिर अधिकारी

डा. समिर अधिकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया