खोलेकाको अनुभव, यसरी चलाउँ विद्यालय

 भदौ ३०, २०७८ बुधबार ११:२३:३८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

दाङकाे माध्यमिक विद्यालय रझेनामा अध्ययन गर्दै विद्यार्थी । यहाँका विद्यालय भदाै २८ देखि भौतिक रुपमा सञ्चालन गरिएका छन् । तस्बिर : रासस

काठमाण्डाै – भदाै २१ गते काठमाण्डाै जिल्ला प्रशासन कार्यालय लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको थियो । 

बैठकमा काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाका स्थानीय तहहरूले कोराेनाको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सकिने बताउनु भएको थियो । 

साथै विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य रुपमा सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र प्रोटोकल पालना भएको/नभएको भनेर नियमित नियमन गर्नुपर्ने छ । 

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारले स्मार्ट लकडाउन कार्य योजना अन्तर्गत स्वास्थ्य सम्बन्धी मापदण्ड पालन गरेर कोभिड–१९ व्यवस्थापन केन्द्रसँगको समन्वयमा विद्यालय सञ्चालन गर्ने सम्पूर्ण अधिकार स्थानीय तहलाई प्रदान गरेकोले विद्यालय कहिले र कसरी खोल्ने भन्ने सम्पूर्ण अधिकार स्थानीय तहमा भएको बताउनु हुन्छ । 

असोज १ अगावै विद्यालय खुलेको सम्बन्धमा आफूलाई केही जानकारी नरहेको र यदि कसैले त्यसो गरेको हो भने त्यसको सबै जिम्मेवारी विद्यालयले नै लिनुपर्ने पनि बताउनु भयो । 

काठमाण्डौ महानगर भन्छ

काठमाण्डाै जिल्ला प्रशासन कार्यालयले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेपनि काठमाण्डौ महानगरपालिकाले भने हालसम्म कुनै आधिकारिक निर्णय गरेको छैन । 

काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने महानगरले हालसम्म कुनै निर्णय नगरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘विद्यालय खोल्ने सम्बन्धमा हाम्रो कुनै आधिकारिक निर्णय भएको छैन ।’

कतिपय अभिभावकले दशैं आइसकेकाले दशैं अगाडि विद्यालय नखोल्न पनि आग्रह गरेका छन । धेरैका धेरै थरी कुरा आएका छन् । अहिले सबैको कुरा सुन्ने काम भइरहेको छ । सबैको कुरा सुनिसकेपछि मात्रै निर्णय हुने बताउनुहुन्छ डंगोल । 

उहाँ भन्नुहुन्छ, ‘महानगरले अहिले सुझाव संकलन गरिरहेको छ । भोलि वा पर्सि बैठक बसेर कसरी जाने भनेर टुङ्ग्याइनेछ,’ । 

उहाँका अनुसार महानगरको शिक्षा समितिको बैठक बसेको छैन । भोलि अथवा पर्सि बैठक बसेर यस सम्बन्धी आधिकारिक निर्णय गरेपछि मात्र यस विषयमा थप केही जानकारी गराउन सकिनेछ । 

महानगर भित्र कतै कतै सामुदायिक तथा संस्थागत विद्यालय खुलेको सम्बन्धमा भने हामीलाई जानकारी नदिई कसैले आफूखुशी विद्यालय खोलेका छन् भने त्यो उनीहरुको कुरा भयो । यसको सबै जिम्मेवारी उहाँहरुले लिनुपर्ने उहाँको भनाइ छ उहाँको । ​

‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका– २०७७’

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा गएको वर्षकै जस्तो वैकल्पिक विधिबाट चल्नुको उपाय नभएको बताउनुहुन्छ । त्यसका लागि अघिल्लो वर्ष नै ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका– २०७७’ जारी गरिसकिएकाले त्यसैमा टेकेर पढाइ गराउनुपर्ने उहाँको  भनाइ छ ।

यस्तो छ निर्देशिका 

  •     सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकिन गरी त्यसको अभिलेख राखी पाठ्यपुस्तक उपलब्ध गराउने । 
  •   केन्द्रबाट स्व–अध्ययन वा सामग्रीको विद्युतीय प्रति तयार गरी वेबसाइटमा राख्ने, प्रदेश र स्थानीय तहले समन्वय गरी त्यस्ता सामग्रि छपाई गरी विद्यालयलाई उपलब्ध गराउने र स्थानीय तहले अभ्यास पुस्तिकाहरू छपाइ गरी वितरण गर्ने ।
  •   प्रदेश, स्थानीय तह वा विद्यालयबाट अभ्यास पुस्तिका वा अन्य शैक्षिक सामग्री विकास तथा छपाई गरी विद्यार्थीलाई सहज रुपमा उपलब्ध गराउने ।
  •    समुदायमा रहेका वा रहने सिकाई केन्द्र वा विद्यालयहरुमा एक आपसमा भौतिक दुरी कायम गरी बसाई ब्यवस्था मिलाई पाठ्यपुस्तक, स्व अध्ययन सामग्री वा छपाइका सामग्री प्रयोग गरि शिक्षक वा स्वयंसेवक  मार्फत सिक्ने र सिकाउने व्यवस्था गर्ने ।
  •    स्थानीय समुदायमा रहेका शिक्षक र शिक्षक नभएको अवस्थामा स्थानीय तह वा विद्यालयबाट तोकेका स्वयंसेवकबाट विद्यार्थीका लागि सिकाइमा  प्रत्यक्ष रुपमा सहयोग पुर्याउने ब्यवस्था गर्ने ।
  •    अभिभावक शिक्षाका माध्यमबाट अभिभावकलाई बालबालिकाको सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न प्रोत्साहन गर्ने  ।

आधुनिक राष्ट्रिय माविका विद्यार्थीलाई ज्वराे जाँच गर्दै

खुलेकाको अनुभव

सरकारले सम्बन्धित जिल्लाको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रसँगको समन्वयको विद्यालय खोल्न सक्ने निर्णय गरेपछि मकवानपुर र दाङ जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय खुलेका छन् । 
आधुनिक राष्ट्रिय उच्च मावि मकवानपुरका शिक्षक दीपक अधिकारी सुरक्षाका सबै पूर्वाधार कायम गरेर विद्यालय खोलिएको बताउनुहुन्छ । 

उहाँका अनुसार पूर्वाधार अन्र्तगत एक विद्यालय एक नर्सको व्यवस्था गरिएको छ । विद्यार्थी पुर्याउन आउने अभिभावकलाई विद्यालयमा प्रवेश गर्न दिइएको छैन । विद्यालयको गेटमा एकजना शिक्षक रहने र यदि कोही विद्यार्थीले बिर्सिएर मास्क नलगाई आएको देखिएमा मास्क लगाउन दिने गरिएको छ । 

विद्यार्थीलाई विद्यालय प्रवेश अगाडि थर्मल गनले ज्वरो नाप्ने समेत गरिएको छ । यदि ज्वरो वा कोभिड सम्बन्धी कुनै लक्षण वा अन्य कुनै स्वास्थ्य सम्बन्धी समस्या देखिएमा फिर्ता पठाउने गरिएको छ । 

विद्यार्थीको स्वस्थ रहेको अवस्थामा स्यानिटाइजर वा साबुन पानीले हात धोएर मात्र विद्यालयमा प्रवेश गराइने पनि उहाँले जानकारी दिनुभयो । साथै कक्षा कोठा पनि पूरै स्यानिटाइज गर्ने गरिएको छ । 

कोभिडका कारण अहिले क्यान्टिनमा खाजाको व्यवस्था गर्ने गरिएको छैन । विद्यार्थी आफैंले खाजा ल्याउनु पर्नेछ । र शिक्षकको निगरानीमा खान दिने गरिएको छ । 

पहिले विद्यालयमा ८ पिरियड हुने गरेकोमा हाल ४ पिरियड गर्ने गरिएको छ । यसो गर्दा भिडभाड कम हुने र कोभिड संक्रमणको खतरा कम हुने भन्नुहुन्छ अधिकारी । 

विद्यालयमा कक्षा संचालन गर्दा अहिले आलोपालो प्रणालीबाट गर्ने गरिएको छ । एकदिन १,३,५,७,९ का कक्षा हुनेछन् । अर्को दिन २,४,६,८,१०,१२ का कक्षाहरू हुनेछन् । 

कक्षा चलाउँदा पनि १० देखि १ बजेसम्म एउटा सिफ्ट तथा १ देखि ४ बजेसम्म अर्को सिफ्टमा गर्ने गरिएको छ । 

हाल यसरी कक्षा चलाउँदा पहिलो दिन ४०–४५ प्रतिशत विद्यार्थी उपस्थित भएका थिए । यसमा दैनिक १० प्रतिशतका दरले उपस्थिति संख्या बढेको पनि उहाँले जानकारी गराउनु भयो । 

एउटै कक्षामा पनि सबै विद्यार्थीलाई एकैपटक उपस्थित नगराई ५० प्रतिशत भौतिक उपस्थितिमा तथा ५० प्रतिशतलाई त्यही समयमा अनलाइनमार्फत कक्षा लिने गरिएको छ । जसले गर्दा विद्यार्थी तथा शिक्षकको भौतिक उपस्थिति आधा मात्र हुने हुँदा संक्रमण हुने सम्भावना पनि आधा घटि हुने उहाँले बताउनु भयो । 

जनप्रतिनिधिको अनुभव

विद्यालय खुलेको दाङ घोराही नगरपालिका वडा नं १५ का वडाध्यक्ष रमेशकुमार पाण्डे आफूले अनुगमन गरेका विद्यालयमा सुरक्षा सम्बन्धी सबै मापदण्ड अपनाएको पाइएको बताउनुभयो । 

अनुगमनमा एउटा बेन्चमा भौतिक दूरी कायम गरी दुई जना राखिएको तथा दुई सिफ्टमा विद्यालय सञ्चालन गरिएको देखिएको पाण्डेले जानकारी दिनुभयो । 

अहिले सुरुवातमा सुरक्षा मापदण्ड राम्रै पालना गरिएको र पछि पनि यसलाई कायम राख्न आफूले विद्यालय व्यवस्थापनलाई सचेत गराएको पनि उहाँले बताउनु भयो । लामो समय बन्द भएकाले टाढा टाढाका विद्यार्थी भने अहिले आइनसकेको र नजिकका विद्यार्थीको उपस्थिति भने राम्रै रहेको पनि उहाँले जानकारी दिनुभयो । 

काठमाण्डौ उपत्यका र अन्यत्र विद्यालय खुल्न बाँकी रहेका जिल्लामा पनि हाल खुलेका विद्यालयको अनुभवलाई लिएर विद्यालय खोलेमा त्यसले विद्यालय चलाउन अझ सहज हुने र स्वास्थ्य तथा संक्रमणको चुनौतीलाई सजिलै पार गर्न सकिने देखिन्छ । 


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया