संविधान बनेको ६ वर्षमै यसमाथि प्रश्न उठ्नु दुःखद : रामचन्द्र पाैडेल

 असोज ३, २०७८ आइतबार १९:३९:५८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

फाइल फाेटाे

स्याङ्जा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तामा पुगेपछि नेताहरूले शक्तिको दुरुपयोग र भ्रष्टाचार गर्दा नागरिकमा संविधानप्रति वितृष्णा बढेको बताउनुभएको छ । 

‘सत्तामा पुग्न जस्तोसुकै जालझेल गर्न तयार हुने नेताले सत्तामा पुगेपछि शक्तिको दुरुपयोग गर्ने प्रतिस्पर्धा गरेका छन्’, नेपाली कांग्रेस स्याङ्जाले संविधान दिवसको अवसरमा जिल्ला पार्टी कार्यालयमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयोे, ‘नेताको आचरणले गर्दा संविधान र व्यवस्थाप्रति नागरिकस्तरमा वितृष्णा बढेको छ ।’ 

संविधान बनेको ६ वर्षमै संविधानप्रति प्रश्न उठ्नु दुःखद कुरा भएको बताउँदै उहाँले लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नभएको बताउनुभयो । नेता पौडेलले संविधान बनेपछि भएको चुनावपछि दुई तिहाइ बहुमत ल्याएर प्रधानमन्त्री भएका केपी ओली नयाँ तानाशाह र डोनाल्ड ट्रम्पको नयाँ रूपमा प्रस्तुत भएको आरोप लगाउनुभयो ।

संसदीय व्यवस्थालाई सुधार गर्दै लैजान सकिने भएकाले संविधानप्रति विश्वास गर्न पनि उहाँले नागरिकलाई आग्रह गर्नुभयो । कांग्रेसले २००७ सालमा परिकल्पना गरेको संविधान सभाबाट संविधान बनाउने २०७२ मा पूरा भएकाले व्यवस्थालाई सुधार गर्दै जान सकिने नेता पौडेलको विचार थियो ।

नेपाली कांग्रेस सभापति शेरबहादुरप्रति आक्रामक रूपमा प्रस्तुत हुनुभएका नेता पौडेलले केपी ओलीले चलाएको सरकार र देउवाले चलाएको पार्टी उस्तै रहेको टिप्पणी गर्नुभयो । सत्ता र शक्तिको दुरुपयोग गरेर शक्ति आफ्नै कब्जामा राख्न पाए राम्रो र त्यसप्रति कसैले प्रश्न गरे त्यो नराम्रो भन्ने प्रवृत्ति सरकार र पार्टीमा मौलाएको नेता पौडेलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया