दशैँको मुखमा चर्को मूल्यवृद्धि : चामल बोरामा ५० र तेल लिटरमै १ सय रुपैयाँ बढ्यो

 असोज ४, २०७८ सोमबार १०:३७:४९ | जानुका दुवाडी
unn.prixa.net

टोखामा बस्दै आउनुभएकी धादिङकी रीता ढकाल नजिकैको पसलमा तेल, चिनी लगायतका सामान किन्न जाँदा भाउ सुनेर झसङ्ग हुनुभयो । दशैँमा घर जाँदा उहाँले काठमाण्डौबाट नै तेल, जिरा, चिनी चिउरा  लगायतका सामान लैजाने गर्नुभएको छ । उहाँले घटस्थापना भन्दा एक, दुई दिनअघि नै घर जाने योजना बनाउनुभएको छ । त्यही भएर अहिले नै सामान किन्नका लागि उहाँ नजिकैको पसलमा पुग्नुभएको हो । 

कोरोनाका कारण पोहोर दशैँमा घर नजानुभएकी उहाँ यसपालि घर जाने उत्साहमा सामान किन्न पसलमा पुग्नुभएको थियो । भाउ सुनेपछि उहाँको उत्साह एकैछिनमा निराशामा परिणत भयो । उहाँले आक्रोश पोख्नुभयो ‘सामानको भाउ पनि के साह्रो बढेको ?’

‘एक, डेढ हप्तामै चामल, तोरीको तेल, सूर्यमुखी तेल, दाल सबैको भाउ छोइनसक्नु भइसकेछ । चामल बोरामा ५० रुपैयाँ बढेको छ । लिटरमै एक सय रुपैयाँ बढेर सूर्यमुखी तेल  प्रतिकार्टुन २४ सय ५०, भटमास २३ सय ५० र तोरी २१ सय ५० रुपैयाँ  पुगिसकेछ । सबै खालका दालको भाउ पनि किलोमा १० रुपैयाँको दरले बढिसकेछ । चिनी किलोको ९५ देखि १ सय रुपैयाँ  पुगिसकेछ’  उहाँले एकैपटक सुनाउनुभयो । 

कैलाली घर भइ कीर्तिपुरमा बस्दै आएका राजेश थारु पनि चाडपर्व सुरु हुने बित्तिक्कै तरकारी लगायतका खाद्य वस्तुको भाउ बढ्न थालेको भन्दै दुखेसो पोख्नुुहुन्छ । उहाँ भन्नुहुन्छ ‘हरेक वर्षको चाडपर्वमा खाद्यान्न, गेडागुडी र हरियो तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको भाउ बढ्छ । तर कोरोनाका कारण आम्दानी झन् घट्दै गएको छ।’

सरकारले छुट र राहतको पसल सञ्चालन गरे पनि पायक नपरेकाले टाढा जाँदा  पसलमा भन्दा महँगो पर्ने उहाँले बताउनुभयो । ‘सरकारले सुपथ मूल्य पसल सञ्चालन गरे पनि घर पायक पर्नेलाई त केही राहत होला, अरुलाई त के नै अर्थ भयो र ?’ उहाँले भन्नुभयो । 

दशैँ नजिकिँदै गर्दा बजारमा किनमेलको घुइँचो बढेको छ । सबैभन्दा धेरै खपत हुने चामल, दाल, तेल, चिनी लगायतको मूल्य आकाशिन थालिसकेको छ ।  

अझै भाउ बढ्न सक्छ 

नेपाल खुद्रा किराना व्यवसायी सङ्घका पूर्वअध्यक्ष पवित्रमान बज्राचार्यले खुद्रा व्यापारीले महँगाेमा किन्नु परेकाले महँगैमा बेच्नु परेको बताउनुहुन्छ । बज्राचार्य उदाहरण दिँदै भन्नुुहुन्छ ‘साल्ट ट्रेडिङ कम्पनीले नुनको भाउ खुद्रा व्यापारीलाई २० रुपैयाँमा बेच्छ, अनि उपभोक्तालाई पनि खुद्रा व्यापारीले २० मै कसरी बेच्नु ? त्यसमा ढुवानी भाडा पनि जोड्नुपर्यो नि, त्यही भएर ५ रुपैयाँ ढुवानी भाडा राखेर खुद्रा व्यापारीले एक पोका नुन २५ रुपैयाँमा बेच्छन् । 

चाडपर्वको समयमा खाद्यान्नको मूल्य बढ्न नहुने उहाँले बताउनुभयो । ‘अहिले बजारमा चामलदेखि नुन–तेलको मूल्य बढ्न थालेको छ । यो बेला मूल्य घटाएर बिक्री गर्ने हो, आफूखुसी बढाउने होइन,’ उहाँले भन्नुभयो ।  

कसरी मूल्य बढ्यो भन्ने साना व्यवसायीहरुलाई थाहा नहुने उहाँको दाबी छ । बजार अनुगमन राम्रो नहुँदा अस्वाभाविक मूल्यवृद्धि भएको उहाँको भनाइ छ । चाडपर्वमा सहज सुपथ मूल्यमा गुणस्तरीय खाद्यान्न बिक्री गर्नुभन्दा पनि व्यवसायी एकैचोटी बढी नाफा कमाउने ध्याउन्नमा रहेको देखिएको छ । दुई हप्ताअघि पनि केही खाद्यवस्तुको मूल्य बढेको थियो । पछि थोरै घट्न नपाउदै फेरि बढ्न थालेको छ । 

दशैँमा धेरै खाद्यान्नको भाउ बढ्ने नेपाल खुद्रा किराना व्यवसायी सङ्घका पूर्वअध्यक्ष पवित्रमान बज्राचार्यले बताउनुभयो । ‘अहिले नै कतिपयको मूल्य बढिसकेको छ । दशैँ तिहारमा बढी खपत हुने तेल, चामल, चिनीको मूल्य अझ बढ्न सक्छ,’ उहाँले भन्नुभयो ’ दाल प्रतिकेजी १० देखि २० रुपैयाँसम्म बढेको छ । आयातकर्ता र उत्पादकले आफूखुसी मूल्य लिएका हुन् भने अनुगमन हुनुपर्छ।’  

जनशक्ति थप गरेर अनुगमन थालिएको छ : आपूर्ति विभाग

वर्षभरि नै  बजार  अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईं दाबी गर्नुहुन्छ । ‘कतिपयले चाडपर्वमा मात्र अनुगमन गरे भनेर हामीलाई आरोप लगाउँछन्’ उहाँले भन्नुभयो, ‘तर त्यसो होइन विभागले वर्षभरि नै अनुगमन गर्दै आएको छ ।’  चाडपर्वको समयमा उपभोक्ता र व्यापारीको भेट धेरै हुने र उपभोक्ता ठगिएको गुनासो पनि धेरै आउने भएकाले  अझ प्रभावकारी रुपमा अनुगमन थालिएको उहाँ बताउनुहुन्छ ।

देशभरका आफू मातहतका निकायलाई सक्रिय बनाएर र जनशक्ति थप गरेर अनुगमनलाई थप प्रभावकारी बनाइएको विभागका प्रवक्ता सेढाईँले जानकारी दिनुभयो  । सेढाईँका अनुसार अहिले अनुगमन चाडपर्वमा खरिद बिक्री हुने वस्तुमा केन्द्रित बनाइएको छ । चाडपर्वलाई लक्षित गरी अनुगमनका लागि काठमाण्डौ उपत्यकामा थप २५ जना जनशक्ति सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयसँग माग गरिएकामा अहिले १२ जना पठाएको  उहाँले जानकारी दिनुभयो ।

विभाग मातहत रहेका देशभरका पाँच वटा कार्यालय र हरेक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा देशभर नै अनुगमन हुने उहाँले बताउनुभयो । गरगहना, कपडा, मासु र दैनिक उपभोग्य वस्तुमा केन्द्रित भइरहेको उहाँले बताउनुभयो । 

बजार भाउ महँगो भएको, कालोबजारी भइरहेको गुनासो उपभोक्ताले अरु बेलामा पनि गर्ने गरेका छन् तर अहिले बढी सुनिएको उहाँले बताउनुभयो । भदौ महिनामा मात्र काठमाण्डौ उपत्यकामा २ सय ४ वटा फर्मको अनुगमन गरेर झण्डै १४ लाख रुपैयाँ जरिवाना उठाएको उहाँको  भनाइ छ ।

उहाँकाअनुसार कसैलाई 'आफू ठगिएँ' भन्ने लागेमा स्थानीय प्रहरी, स्थानीय सरकार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र मातहतका कार्यालय तथा विभागको टोल फ्री नम्बर ११३७ मा पनि फोन गरेर गुनासो राख्न सकिने छ । यस्ता उजुरी आएमा कालोबजारी ऐन अनुसार कारबाही हुने उहाँले बताउनुभयो।

अन्तिम अपडेट: चैत १४, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया