दशैँ आयो : खर्चको जोहो गर्नै गाह्रो !

 असोज ६, २०७८ बुधबार १०:१८:४० | वैद्यनाथ पाैडेल
unn.prixa.net

गएको वर्ष लकडाउनले सबैजसो चाडपर्व खल्लो भए । आफन्तसँग भेटघाट हुन पाएन । प्रत्यक्ष भेट सम्भव भएन पोहोर । तर, यसपालि कोरोना केही मत्थर भएको छ । लकडाउन हटेको छ । बजारमा चहलपहल बढेको छ ।

सोर्‍ह श्राद्ध सुरु भएसँगै अब दशैँ पनि नजिकै आउँदैछ । दशैं चाड मात्र नभएर एउटा उत्सवका रुपमा पनि नेपालीहरुले मनाउँदै आएका छन् । 

दशैंमा विशेष गरी राम्रो लगाउने, मिठो खाने गरिन्छ । आफन्त तथा साथीभाइ भेटघाट गरी आपसी सद्भाव र भाइचारा बढाउने पर्वको रुपमा पनि लिइन्छ दशैँलाई । अरूबेला भन्दा यही बेला खर्च बढी हुन्छ । 

कोरोनाका कारण पोहोर दशैँ मनाउन नपाउँदा खर्चको जोहो पनि गर्नु परेको थिएन । तर यसपालि दशैँ मनाउन पाइने भएपछि खर्चको पनि जोहो गर्नुपर्ने भएको छ । 

दशैं नजिकिँदै गर्दा गरी खाने वर्ग बढी चिन्तामा छन् । दशैं जसरी पनि मनाउनु छ । कमाई छैन । कोरोनाले काम तथा आयमा कमी आएको छ । 

यस्तो बेला खर्चको जोहो कसरी भैरहेको छ त ? 

दशैंको लागि आँखा डुलाएको डुलायै 

मेरो नाम कृष्ण अधिकारी हो । घर दोलखा । बागबजारमा भारी बोक्ने काम गरेको एकजुग भयो । कोठा पनि बागबजारमै छ । महिनाको भाडा छ हजार तिर्नुपर्छ । 
घरमा बालबच्चा जहान छँदैछन् । 

पहिले पहिले काम प्रशस्त हुन्थ्यो । अहिले अनलाइन र साना गाडी आएपछि भने काम स्वाट्टै घट्यो । अनलाइनले साना सामान घर घरमै पुर्‍याई दिन्छ । केही ठूला सामान भयो भने मात्र हामीलाई बोलाउने हो । 

अहिले साना गाडी पनि धेरै भए । अनि साना गाडीमा पनि आफैंले महिनावारी तलब दिएर मान्छे राख्न थाले त्यसले गर्दा हाम्रो काम एकदमै कम भयो । 

झन अहिले त कोरोनाले बजार पनि राम्ररी खुलिसकेको छैन । मान्छेहरु सकभर हिँडडुल गरेका छैनन । मान्छेहरु हिँडडुल गरेर सामान किनबेच हुन थाल्यो भने हामीले पनि काम पाउने हो । 
तर, अब जति काम छैन भनेपनि दशैं आइसक्यो । 

दशैं मान्न कम्तिमा पनि पच्चीस/तीस हजार लाग्छ । जसरी पनि त्यति व्यवस्था गर्नैपर्छ । दशैँकै लागि भनेर काम खोजी पनि रहेको छु । साहुहरूलाई पनि भनेको छु कामको लागि । दशैंको लागि जोहो गर्न भनेर काम कताबाट आउँछ भनेर आँखा डुलाएको डुलायै छु । 

अबेरसम्म खटेर भएपनि काम गर्नैपर्छ

मेरो नाम सुरेश थापा । घर भने रामेछाप । पहिले त वैदेशिक रोजगारीमा छ वर्ष काम गरेर आएको हो । यता आएको पनि धेरै भएको छैन । 

दशैं मान्न गार्‍है छ । परिवार ठूलै छ । तीस/चालीस हजार जति लाग्छ । त्यही भएर अहिले बागबजारमा मोबाइलको हेडफोन आदि बेच्दैछु । तर, यसमा पनि कमाई खास राम्रो छैन । अब यहाँ पुलमा नगरपालिकाले राम्रोसँग बस्न दिँदैन तर पनि काम त गर्नेपर्‍याे। 

दशैं आइनै सक्यो । अब पन्ध्र सोर्‍ह दिन त बाँकी छ । त्यसैले पनि अलि अबेरसम्म खटेर भएपनि काम गर्नैपर्छ । पोहोर कोरोनाले यता आउँदै आइएन । अब यसपालि कति कमाइन्छ हेरौं । 

दशैँ लागेपछि काम बढ्ला 

मेरो नाम रामबहादुर कार्की । घर नुवाकोट । सातदोबाटो क्षेत्रमा रिक्सा चलाउन थालेको नै झण्डै पन्ध्र/बीस वर्ष भयो । पोहोर पनि म त यतै थिएँ । यसपाला भने घर जान्छु होला दशैं मनाउन । 

तर, दशैं मनाउन पनि थोरै खर्च भए पनि घटीमा तीस हजार रुपैयाँ लाग्छ । अहिले कोरोनाको कारणले हो कि के हो कमाई खासै राम्रो भएको छैन । 

कमाई छैन भनेर दशैं नमनाउने कुरो भएन । काम फाट्टफुट्ट भइरहेको पनि छ । एक/दुई दिन भयो खासै राम्रो काम भएको छैन । 

तर पनि अब दशैं मनाउनका लागि भनेर काम खोज्दै पनि छु । अब दशैँ लागेपछि त काम पनि बढ्ला कि भन्ने आशा छ । हेरौं अब के हुन्छ । 

अलि व्यापार बढ्ला कि 

मेरो नाम कोपिला रायमाझी हो । घर काभ्रे । फुटपाथमा पसल गर्न थालेको धेरै भयो । पहिले त कमाई ठिकै थियो । तर अहिले खासै छैन । पहिले पहिले लकडाउनले पनि खत्तमै भयो । अहिले पनि खासै राम्रो आम्दानी त भएको छैन । 

दशैं लागिसक्यो । कहिले कमाउनु । कहिले घर जानु । दशैं मान्न थोरै भए पनि तीस/चालीस हजार रुपैयाँ लागिहाल्छ । 

बच्चाबच्चीलाई लुगा हाल्दिनै पर्‍याे। अरु मरमसला यताउता गर्दा पनि खर्च लागिहाल्छ । दक्षिणा पनि व्यवस्था गर्नै पर्यो । त्यही हिसाबले पनि त्यति पैसा त लागिहाल्छ । 

अब दशैं अलि नजिक आएपछि अलि व्यापार पनि बढ्ला कि । त्यसो भए अलि सजिलो होला । अब जे जे भए पनि दशैँ त मान्ने पर्यो । यसो कमाई होस भन्ने हो । हेरौं अब के हुन्छ ।

दशैँको लागि ठेकेदारलाई भन्नुपर्ला

मेरो नाम सूर्यबहादुर थापा । घर दोलखा । ज्यामी काम गर्न थालेको धेरै भयो । तर, खोइ हिजोआज त काम खासै पाइएको छैन । 

दशैं मनाउन घरै जानुपर्ला । कोरोनाले काम कम भएको छ । सामान्य अलि अलि काम त पाइराखेकै हो । आज भने खोइ यसबेलासम्म काम आएको छैन । 

एकछिन बसौं काम आइहाल्छ कि । नत्र कोठामा जानुपर्ला । अब दशैं लागि नै सक्यो भने पनि हुन्छ । कति दिन बाँकी छ र खास । 

दशैँकै लागि भन्दा पनि काम त जसरी नि खोज्नै पर्छ । तर, दशैं आई पनि सकेकोले काम अलि बढ्ला पनि । जसरी पनि चलाउँला । दशैंको लागि भनेर एक/दुई जना ठेकेदारलाई पनि कामको लागि भनेको छु हेरौं अब के हुन्छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया