नारायणगढ–बुटवल सडक खण्डमा कालाेपत्र गर्न सुरु

 असोज ६, २०७८ बुधबार १८:५९:५३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुर खण्डमा जीर्ण बनेको राजमार्ग मर्मत गर्न थालिएकाे छ । राजमार्गमा परेका खाल्डाखुल्डीमा कालोपत्र गरेर मर्मत गर्न थालिएको हो । 
यसअघि राजमार्गमा परेका खाडलमा ग्राभेल गरेर पुर्ने गरिएकोमा अहिले कालोपत्र गरेर मर्मत थालिएको हो । 

नारायणगढ–बुटवल सडक खण्ड विस्तार सुरु भएयता झन्डै दुई वर्षदेखि राजमार्ग मर्मत गरिएको थिएन । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले मर्मत नगर्ने र सडक विभागले ठेक्का लागि सकेको सडक भनेर बेवास्ता गर्दा राजमार्ग जीर्ण बनेको थियो । 

अहिले राजमार्ग विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीले कालोपत्रसहित मर्मत सुरु गरेको नारायणगढ बुटवल सडक विस्तार आयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताउनुभयो ।

दशैँसम्ममा नवलपुर खण्डमा जीर्ण रहेको सडक मर्मत गरिसक्ने निर्माण कम्पनीले जनाएको आचार्यले बताउनुभयो । डाइभर्सन निर्माण गरिएका क्षेत्रबाहेक नवलपुरको दाउन्नेलगायतका क्षेत्रमा कालोपत्रसहित मर्मत गर्ने सडक विस्तारको जिम्मा पाएको निर्माण कम्पनीले जनाएको इन्जिनियर आचार्यकाे भनाइ छ । 

अहिले यो खण्डमा यात्रा गर्दा निकै सास्ती खेप्नुपर्ने अवस्था छ । नवलपुरकाे गैँडाकोटदेखि दाउन्नेसम्मको झन्डै ६५ किलोमिटर र नवलपुर खण्डमा पर्ने दाउन्नेको झन्डै सात किलोमिटर राजमार्ग लामो समयसम्म मर्मत नगर्दा जीर्ण बनेको हाे । 

अन्तिम अपडेट: चैत १५, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया