१५ महिनापछि साैरहामा चहलपहल बढ्याे, पर्यटक तान्न दशैँ–तिहार प्याकेज

 असोज १२, २०७८ मंगलबार १५:३९:४१ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – कोभिड १९ (कोरोना भाइरस) सङ्क्रमणका कारण १५ महिना ठप्प बनेको पर्यटकीय गन्तव्य चितवनको सौरहा क्षेत्रमा बिस्तारै पर्यटकको चहलपहल बढ्न थालेको छ । लामो समय कोरोना प्रभावका कारण सुनसान बनेको सौरहा क्षेत्रमा पर्यटक आउने क्रम बढेपछि पर्यटन व्यवसायीहरू खुसी भएका छन् । वन्यजन्तु पर्यटनमा आधारित चितवनको सौरहामा पर्यटन व्यवसायीले दशैँ, तिहार प्याकेजसमेत सार्वजनिक गरेका छन् ।

कोरोना सङ्क्रमण दर कम भएसँगै सौरहामा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । विशेषगरी शनिवार र बिदाका दिनमा पर्यटक बढी मात्रामा सौरहा पुग्ने गरेका छन् ।  दुई वर्ष अगाडि यही समयमा जस्तो चहलपहल नदेखिए पनि बिस्तारै स्वदेशी–विदेशी पर्यटक आउने क्रम बढेको छ । 

कोरोना कहरमा कमी आएसँगै बिस्तारै खुल्दै गरेका सौरहाका पर्यटकीय होटलले आन्तरिक पर्यटकलाई आकर्षित गर्न विशेष छुट प्याकेज घोषणा गरेका छन् । जङ्गल सफारी लज सौरहाका सञ्चालक सुमन घिमिरे ‘यस वर्षको दशैँ तिहार सौरहामा’ भन्ने प्याकेज सार्वजनिक गरिएको बताउनुहुन्छ । प्रति–व्यक्तिबाट पाँच हजार पाँच सय रुपैयाँ लिएर दुई रात तीन दिनका लागि लन्च, डिनर र ब्रेकफास्टसहित थारु म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाउने लगायतका सेवा दिने योजना ल्याएको उहाँको भनाइ छ ।  

कोरोना कहरको कमीसँगै पर्यटकीय चहलपहल बढ्दै गएपछि होटलहरू पुरानै अवस्थामा सञ्चालन गर्ने तयारीमा व्यवसायीहरू लागेका छन् ।  विदेशी पर्यटक कम देखिए पनि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पछिल्लो समय प्रायः होटलहरूले ४० प्रतिशत छुटसम्मका अफर प्याकेज घोषणा गरेका छन् । यसले सौरहाको पर्यटन पुनस्र्थापनामा सहयोग पुग्ने क्षेत्रीय होटल सङ्घ सौरहाका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो । 

‘आफ्ना होटलका स्तरअनुसार सौरहामा ३० देखि ४० प्रतिशतसम्म छुटको प्याकेज सार्वजनिक भएको छ’, अध्यक्ष भट्टराईले भन्नुभयो, ‘लामो समय थला परेको सौरहाको पर्यटनमा अहिलेको सस्तो प्याकेजले आन्तरिक पर्यटक बढाएको छ ।’   

सौरहा आउने पर्यटकमध्ये ९० प्रतिशत हात्ती सफारीमै रमाउँछन् तर लामो समय बन्द हुँदा हात्ती व्यवस्थापनमा सकस देखिएको थियो । सार्वजनिक बिदाका समयमा आन्तरिक पर्यटक बढेका कारण हात्तीको चहलपहल पनि बढेको छ । एक पटकमा एक घण्टामात्रै हात्ती घुमाउने गरेकोमा हिजो–आज पर्यटकले दुई घण्टासम्म हात्ती सफारी गर्न पाउने युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषिराम तिवारी बताउनुहुन्छ । 

‘पहिला एक जनाले हात्ती सफारी गर्न अरू चार जना कुर्नपर्ने थियो’, उहाँले भन्न्ुभयो, ‘अहिले चार जना नपुगे पनि एक जनालाई मात्र भए पनि हात्ती सफारी गराइन्छ ।’ सौरहामा सहकारी मातहतका ३३ वटा हात्ती पर्यटक घुमाउन प्रयोग हुन्छन् । 

हात्ती सफारीका लागि प्रति–व्यक्ति नेपालीका लागि एक हजार पाँच सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकलाई दुई हजार रुपैयाँ र विदेशी पर्यटकलाई दुई हजार पाँच सय रुपैयाँ शुल्क लिने गरिएको छ । जङ्गल सफारीमा विश्व प्रख्यात चितवनको सौरहामा पर्यटककै लागि केन्द्रित गरेर एक सय १० वटा होटल र एक सयभन्दा बढी रेस्टुरेन्ट सञ्चालनमा छन् । त्यस्तै सौरहामा एक दिनमा ६ हजार पाँच सय पर्यटक बास बस्न सक्ने व्यवस्था छ । 

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी, जङ्गल वाक, हात्ती सफारी, डुङ्गा सफारीमार्फत वन र वन्यजन्तु अवलोकन तथा थारूलगायतका जनजातिका भाषाभाषी र संस्कृति अवलोकनका लागि सौरहा चिनिँदै आएको छ ।

निकुञ्जको मुख्य प्रवेशद्वार भएका कारण पनि सौरहा घुमेर मनोरञ्जन गर्ने पर्यटक यहाँ आकर्षित हुने गरेका छन् । विशेष छुट अफरले सौरहाको पर्यटन फेरि पुरानै लयमा फर्कन सहयोग पुग्ने देखिन्छ ।

काेराेना सङ्क्रमणका कारण चितवनकाे साैरहालगायत देशका विभिन्न ठाउँकाे पर्यटन प्रभावित भएकाे थियाे । काेराेना सङ्क्रमण दर घटेर पर्यटककाे चहलपहल बढेसँगै पर्यटन व्यवसायी उत्साहित देखिएका छन् ।   

अन्तिम अपडेट: बैशाख ४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया