पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
कोरोनाको जोखिम र त्रास हटेको छैन तै पनि दोस्रो लहरका कारण बन्द भएका विद्यालयहरु विस्तारै खुल्न थालेका छन् ।
लकडाउनले गर्दा विद्यालय तहमा शैक्षिक सत्र–०७७ सालको वार्षिक परीक्षा हुन पाएन । आधारभूत तह र एसईई समेतको नतिजा आन्तरिक मूल्याङ्कनबाटै जसोतसो प्रकाशन गरियो । विद्यार्थीहरुले आफ्नो योग्यता र क्षमता प्रदर्शन गर्ने अवस्था भएन । मोबाइलबाट प्रकाशित गरेको वार्षिक नतिजाले यसपटक पनि विद्यार्थीमा कुनै उत्साह ल्याएन । त्यस्तो नतिजाले विद्यार्थीलाई न पर्याप्त खुसी दियो न त उत्साह र उमङ्ग नै । त्यस सुखद क्षणमा न स्याबासी दिने शिक्षक नै थिए न त हौसलाको ताली बजाइदिने साथीहरू नै । आफू सफल भएर अर्को कक्षामा पुगेको विद्यार्थीको मनको त्यो हर्ष र उमङ्ग फगत खल्लोपन र निरसतामै परिणत भयो ।
२०७७ सालमा वार्षिक परीक्षासमेत दिन नपाएका विद्यार्थीसँग करिब छ महिनापछि मात्र प्रत्यक्ष भेट भयो । गत वर्ष पनि करिब नौ महिना विद्यालय बन्द भएका थिए । आफ्नै घरभित्रै कैदीजस्ता भएका बालबालिका करिब छ महिनापछि विद्यालय आए । उनीहरू पहिलो दिन आफ्नो विद्यालय र साथीहरूसँग भेट हुँदा अत्यन्तै खुसी र हर्षित देखिन्थे । निर्जन वा एकलास वनमा भट्किएको बटुवाले बाटो फेला पार्दा तीव्र उत्साह र उमङ्ग भएझैँ अथवा निरपराध कैदी जेलबाट छुट्दा जुन हर्ष र आनन्द प्राप्त हुन्छ, ठीक त्यस्तै अनुभूति हुन्थ्योे बालबालिकाको उत्साह, खुसी र हर्ष देख्दा ।
लकडाउनले खेल्ने, चल्ने र विद्यालय जाने उमेरका कलिला बालबालिकालाई सबैभन्दा बढी मानसिक तनावमा पारिदिएको थियो । खाऊँखाऊँ, लाऊँलाऊँ उमेरका बालबालिकासँग त्यतिबेला न पुस्तक थियो, न त स्कुल नै । न साथी थिए, न त खेल सामग्री नै । न मनमा रमाइलो थियो, न त शरीरमा स्फूर्ति नै । न अध्ययनमा लगाव थियो न त भविष्यप्रतिको कुनै आकाङ्क्षा र योजना नै । थियो त केवल कोरोनाको त्रास र लकडाउनको कोकोहलमात्रै । बाहिर ननिस्क, हात धोइरहू, मास्क लगाऊ र सेनिटाइजर दल भन्ने एकोहोरो र पट्यारलाग्दो उर्दीबाहेक उत्प्रेरणामूलक खबर र हौसलापूर्ण कुरा उनीहरूले सुन्न पाएनन् ।
कोरोना संक्रमणको पहिलो लहरभन्दा दोस्रो लहरमा निकै भयावह अवस्था सिर्जना भयो । अस्पतालमा उपचारसमेत नपाउने अवस्था र अक्सिजनको हाहाकारले सिङ्गो देशको स्वास्थ्य पद्धति डामाडोल बन्यो । दिनहुँ सयौँको सङ्ख्याको मृत्युदर र हजारौँ सङ्ख्यामा संक्रमणका खवरले बालमस्तिष्कमा त्रास र भय सिर्जना गरिरह्यो । अझ बालबालिका केन्द्रित भाइरस आउँदैछ भन्ने अफवाहले पारेको मानसिक असरको त के कुरा गर्नु ?
लामो समयसम्म घरमै कैदीजस्ता भएका बालबालिका छ महिनापछि विद्यालय आउँदा अर्कैखालका भइसकेका रहेछन् । न त उनीहरूमा पहिलेजस्तो चञ्चलता थियो न त जिज्ञासुभाव नै । हर्षित देखिए पनि मनमा अन्योल र आशङ्का भरिएजस्तो । शरीरमा स्फूर्ति थिएन । कताकता बालसुलभ हराएजस्तो । चञ्चलता र अबोध जिज्ञासापन लोप भएजस्तो । आफ्ना सहपाठीहरूसँग बोल्दा र नजिक हुन पनि सशंकित हुनुपर्ने वाध्यात्मक अवस्था । अध्ययनप्रति रूचि र उत्साह नै नभएजस्तो । निरीह र टीठलाग्दाजस्ता देखिन्थे उनीहरू ।
विद्यार्थीको मानसपटलमा अव्यक्त भाव, एकाङ्गीपन र हीनताग्रन्थी डम्म भरिएजस्तो लाग्थ्यो । उनीहरूको त्यो बाल अव्यक्त पीडाभाव वयस्क शिक्षकहरूले मुस्किलले मात्र बुझ्न सक्थे । न त उनीहरूमा शिक्षकलाई केही सोध्ने हिम्मत नै विकसित भइसकेको थियो । न त शिक्षकले उनीहरूलाई स्पर्श गरेर सुम्सुम्याउने र ढाडस दिने वातावरण नै । गुरू र शिष्यको स्नेहपूर्ण बात्सल्यलाई भौतिक दूरीको बाध्यताले बलात् सन्त्रस्त र स्पर्शहीन बनाइदिएको थियो ।
वर्तमान महामारीको अवस्था र आफ्नो स्वास्थ्य सावधानीका बारेमा लगभग सबैजसो विद्यार्थी घरबाटै सचेत भइसकेका रहेछन् । तर पहिरन, बोलीचाली र व्यवहारगत कुरामा भने विद्यार्थी पहिलेभन्दा एकाङ्गी, अटेरी र जिद्दी बन्दै गएको महसुस भयो ।
लामो समय घरभित्रै सीमित रहेका कतिपय विद्यार्थीले बोलाउँदा झर्कने, टोलाउने, रिसाउनेजस्ता आक्रामक व्यवहारसमेत देखाउन थालेका छन् । भविष्यका कर्णधारमा आएको यो मनोदशा र दुर्दशाको मनोवैज्ञानिक उपचार अब विद्यालयले नै गर्नुपर्ने आवश्यकता महसुस भयो ।
कतिपय विद्यार्थीको कपाल कटाइको ‘स्टाइल’, पहिरन, शारीरिक हाउभाउ र व्यावहारिक पक्ष देख्दा उनीहरू घरबाट उचित रूपमा मार्गनिर्देशित छैनन् कि भन्ने भान हुन्थ्यो । अभिभावक नै आफ्ना छोराछारीको जिद्दीअगाडि निरीह छन् कि अथवा आफ्नै बालबच्चालाई घरमा नियन्त्रण गर्न गाह्रो भएको हो कि भन्ने स्पष्ट प्रमाणित हुन्थ्यो । यस्ता अस्वाभाविक कुराहरू पनि बिस्तारै सुधार्नुपर्ने जिम्मेवारी विद्यालयमै थपिएको आभास भयो ।
त्यसो त नियमित अध्ययन–अध्यापनका अतिरिक्त विद्यार्थीको आचरण, व्यवहार, बोलीचाली, सङ्गत, नियमित कार्यजस्ता सामान्य शिष्टाचारका कुराहरू पनि विद्यालयले नै सुधारिदिनुपर्ने अवस्था छ अहिले । अभिभावकहरूको अत्यधिक व्यस्तताका कारण पारिवारिक जिम्मेवारी पनि विद्यालयमाथि नै थपिएको छ, कतिपय परिस्थितिमा ।
हुन त बालबालिकाको पहिलो पाठशाला घर नै हो । तर, विद्यालयबाट सिकाइएका कुराहरू नै बढी औपचारिक र प्रभावकारी हुन्छन् । कोरोना कहर वा लकडाउन क्षणिक हो तर निरन्तर अध्ययन र पढाइको महत्व जीवनभरिलाई हो भन्ने कुरा कलिला बालबालिकालाई विद्यालयले सिकाउन पाएन । शारीरिक र मानसिक रूपमा स्वस्थ रहेमा जुनसुकै बाहिरी रोगसँग पनि लड्न सकिन्छ भन्ने ज्ञान दिन पनि बाँकी नै थियो ।
आजसम्म खासगरी बोर्डिङ स्कुलहरूले विद्यार्थीलाई पुस्तक रटानमै बढी केन्द्रित गरे । आफ्नो भाषा, धर्म, संस्कृति, संस्कार आदिका बारेमा सिकाउनुपर्ने थियो तर उनीहरूलाई गणित वा विज्ञानका सूत्रहरू वा अङ्ग्रेजीका शब्दहरू रटाउन थालियो । बालबालिकालाई हाम्रो संस्कार, संस्कृति, पारिवारिक मानसम्मान, मर्यादा, अभिवादनको तरिका र त्यसको मूल्य–मान्यताका बारेमा जानकारी नै गराइएन । यस्ता कुरा बालमस्तिष्कमा हामीले राखिदिन भ्याएकै थिएनौँ ।
आफ्नो विद्यालयको तहगत नतिजा अरू विद्यालयको भन्दा कसरी उत्कृष्ट हुन्छ भन्ने अस्वस्थ प्रतिस्पर्धामै सीमित भए विद्यालय । सामाजिक दायित्व र व्यावहारिक कुरा सिकाउनेतिर खासै पहल भएन । प्राकृतिक प्रकोप र अचानक आइपर्ने विपत्तिबाट व्यावहारिक रूपमा कसरी बच्ने भन्ने शिक्षा कहिल्यै दिइएन । आइपर्ने तमाम सङ्कटका सामना कसरी गर्ने अभ्यास पनि गराइएन । सामाजिक सद्भाव र आपसी मेलमिलाप नै असल मानवीय गुण हुन् भन्ने बोध उनीहरूलाई भएन । मानवीय मूल्य–मान्यता के हुन् ? नैतिकता, आचरण, देशभक्ति र सामाजिक मेलमिलाप र दायित्व के हो ? त्यसबारे न त कहिल्यै पढाइ भयो न त परीक्षा र मूल्याङ्कन नै ।
आडम्बरी तडकभडकपूर्ण आधुनिकता र खोक्रो किताबीय रटानमै विद्यार्थी सीमित गरिए । संस्कारसहितको व्यावहारिक शिक्षालाई जोड गरिएन । ज्ञान, बुद्धि र विवेकको परीक्षा भएन बरू अरूले भन्दा बढी प्रतिशत वा जीपीए ल्याऊ, अरूलाई जित, आफू अगाडि बढ, अरूलाई पछाडि पार भन्ने नितान्त व्यक्तिगत प्रतिस्पर्धाका कुराहरू उनीहरूको कलिलो मस्तिष्कमा हामी सबैले भरिरह्यौँ ।
फलस्वरूप आजका विद्यार्थीमा न त परिस्थितिसँग सामना गर्ने क्षमता विकसित भएको छ न व्यावहारिकता र सामाजिक दायित्वबोध नै । न उनीहरू पूर्णतः राष्ट्रप्रेमी बन्न सकेका छन् न त उनीहरुमा श्रमप्रतिको सम्मान र लगाव नै । न त उनीहरूमा पूर्ण सीपको विकास हुन सकेको छ न त परिस्थितिको सामना गर्ने क्षमता र बानी नै । देशको भविष्यका लागि यो अत्यन्त चिन्ताको विषय हो ।
पहिले विद्यार्थीलाई इन्टरनेट र मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउँथ्यौँ । समयक्रमले हामी आफैँलाई अनलाइन कक्षाका नाममा उनीहरूका लागि इन्टरनेट जोडिदिनुपर्ने, मोबाइल र ल्यापटप किनिदिनुपर्ने विवशतामा पु¥यायो । अब विद्यार्थीलाई सामाजिक सञ्जाल र इन्टरनेटको दुनियाँमा रमाउने बानी परिसकेको छ ।
कतिपयले आफ्नो उमेरअनुसार चाहिने–नचाहिने सामग्री पनि हेर्न थालिसकेका छन् । पब्जी लगायतका नानाथरी गेम र टिकटकजस्ता कुरामा धेरैको नियमितता बनिसकेको छ । एउटा कुनामा बसेर एकान्तमा गेम खेल्न वा अन्य कुरामा रमाउन अभ्यस्त भइसकेका छन् । अब उनीहरूलाई त्यो रङ्गीन रसातलबाट बाहिर निकाल्न पक्कै पनि केही समय अवश्य लाग्नेछ । अभिभावक र विद्यालयलाई यो ठूलै चुनौती भएको छ ।
हामीले पैसालाई सुख र श्रमलाई दुःख भनेर बुझायौँ । फलस्वरूप नेपालका अधिकांश युवाको लक्ष्य विदेश हुन पुग्यो । आखिर हामीले हाम्रा सन्तानहरूलाई कस्तो शिक्षा दिइरहेका छौँ ? हामी कस्तो संस्कृति विकसित गर्दै छौँ ? हाम्रा बालबालिका कति सुसंस्कृत, व्यावहारिक र देशभक्त बन्न सफल भए ? हाम्रो शैक्षिक प्रणालीले हाम्रा सन्ततिलाई के सिकाउनुपर्ने थियो र के सिकाइँदै छ ? अब गम्भीर चिन्तन गर्नुपर्ने भएको छ । देशको शैक्षिक अवस्थामा सुधार गर्नुपर्ने र विद्यार्थीलाई सिकाउनुपर्ने धेरै बाँकी छन् । त्यतातर्फ न त राज्यको नै ध्यान पुग्न सकेको छ न त शिक्षाविद् र विद्यालयहरुको नै । यो कुराले आफैँलाई पटक–पटक झस्काउँछ ।
(लेखक रुपन्देहीको एउटा विद्यालयको प्रिन्सिपल हुनुहुन्छ । )
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुनुहुन्छ ।