लमजुङको राइनास नगरपालिकामा स्थगित कांग्रेसको पालिका अधिवेशन असोज १६ गते हुने

 असोज १३, २०७८ बुधबार १९:४७:५१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको पालिका अधिवेशनअन्तर्गत लमजुङको राइनास नगरपालिकामा स्थगित भएको मतदान यही असोज १६ गते हुने भएको छ । 

गएको असोज ९ गते नगरपालिकामा स्थानीय कार्य समिति गठनका लागि भएको मतदान प्रक्रियामा मत पत्रमा सामान्य मानवीय त्रुटि फेला परेपछि आपसी सहमतिमा र केन्द्रबाट खटिनुभएका निर्वाचन अधिकृतको सल्लाहअनुसार मतदान स्थगित गरिएको मतदान अधिकृत दिनेश चिलुवालले जानकारी दिनुभयो ।

मत पत्रको दुरुपयोग नहोस् भनी तत्कालै मतपत्र नष्ट गरिएको र राइनास नगरपालिकामा स्थगित मतदान यही असोज १६ गते हुने मतदान अधिकृत चिलुवालले जानकारी दिनुभयो । त्यस दिन बिहान १० बजेदेखि १ बजेसम्म सम्बन्धित मतदाताले मतदान गर्न सक्ने उहाँले बताउनुभयो । 

गएको शनिवार लमजुङमा भएको भएको पालिका अधिवेशनमा मर्स्याङ्दी गाउँपालिकामा कृष्णबहादुर गुरुङ, दूधपोखरी गाउँपालिकामा मेघराज गुरुङ, क्वलहोसोँथर गाउँपालिकामा पसबहादुर गुरुङ र दोर्दी गाउँपालिकामा बिच्छबहादुर घले सर्वसम्मत रूपमा सभापतिमा चयन हुनुभएको थियो । 

यस्तै बेसीसहर नगरपालिकामा शरणहरि जोशी, सुन्दरबजार नगरपालिकामा प्रकाश सेढाइँ र मध्य नेपाल नगरपालिकामा वसन्तराज घिमिरे सभापतिमा निर्वाचित हुनुभएको नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति वृषराज गुरुङले जानकारी दिनुभयो । 

यस्तै पार्टी सचिव हरि बरालका अनुसार गएको भदौ १८ गते भएको वडा अधिवेशनबाट लमजुङको बेसीसहर नगरपालिकाबाट दुई सय १८, सुन्दरबजार नगरपालिकाबाट दुई सय १७, मध्य नेपाल नगरपालिकाबाट एक सय ८२, राइनास नगरपालिकाबाट दुई सय एक, दोर्दी गाउँपालिकाबाट एक सय ६१, दूधपोखरी गाउँपालिकाबाट एक सय एक, क्वहोलासोँथर गाउँपालिकाबाट एक सय ४४ र मर्स्याङ्दी गाउँपालिकाबाट एक सय ४४ जना क्षेत्रीय प्रतिनिधिका रूपमा चुनिएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया